रामेछापमा ९६ मध्ये ४१ मतदान स्थल अति संवेदनशील

डिसी नेपाल
१३ फागुन २०८२ १७:०५
68
Shares

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछाप जिल्लालाई ‘हाइ अलर्ट’मा राखिएको छ। जिल्लाका ९६ मतदान स्थलमध्ये ४१ वटा अति संवेदनशील सूचीमा परेपछि सुरक्षा संयन्त्रले संयुक्त रणनीति लागू गरेको जनाएको छ। दुई नगरपालिका र ६ गाउँपालिका गरी ६४ वडा रहेको एकमात्र निर्वाचन क्षेत्र रामेछापमा कुल ९६ मतदान स्थल र २ सय २८ मतदान केन्द्र रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) भोलाकुमार भट्टका अनुसार अघिल्लो निर्वाचनको अनुभव, भौगोलिक अवस्था, सुरक्षा पेरिमिटर, पहुँच मार्ग र पूर्वाधारको स्थितिलाई आधार मानेर मतदान स्थल वर्गीकरण गरिएको हो। ‘जिल्लाका ९६ मध्ये ४१ मतदान स्थल अति संवेदनशील, ३५ संवेदनशील र २० सामान्य श्रेणीमा राखिएका छन्,’ उनले भने।

सुरक्षा अनुगमनका क्रममा करिब १५–१६ मतदान स्थलमा काँडे तार वा स्पष्ट पेरिमिटर नभएको पाइएको प्रहरीले जनाएको छ। ती स्थानमा आवश्यक घेरा सुरक्षा मिलाउन स्थानीय तहलाई परिपत्र गरिएको डिएसपी भट्टले जानकारी दिए। हाल ३१ मतदान स्थलमा सीसी क्यामेराबाट निगरानी भइरहेको छ। ‘सम्भव भएसम्म अन्य स्थानमा पनि सीसी क्यामेरा जडान गर्न स्थानीय तह, विद्यालय प्रशासन र मतदान व्यवस्थापन समितिलाई सुझाव दिएका छौँ,’ उनले भने।

निर्वाचन सुरक्षाका लागि जिल्लामा उपलब्ध जनशक्तिसँगै तालुक कार्यालयबाट थप सुरक्षाकर्मी मगाइएको छ। खटिने प्रहरीहरू युनिटगत रूपमा परिचालित भइसकेका छन् र मतदानको ३–४ दिनअघि सम्बन्धित मतदान स्थलमै तैनाथ गरिने तयारी रहेको प्रहरीले जनाएको छ।

उनका अनुसार सुरक्षाकर्मीलाई घेरा सुरक्षा, भीड व्यवस्थापन, परिचालन विधि र आकस्मिक अवस्थाको कार्ययोजनाबारे विस्तृत ब्रिफिङ गरिएको छ। कुनै स्थानमा अप्रत्याशित समस्या देखिएमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच समन्वयमा ‘कम्बाइन्ड सुरक्षा रणनीति’ लागू गरिनेछ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार जिल्लामा १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका छन्। यसबाहेक २ हजार ४ सय २२ अस्थायी मतदाता छन्। निर्वाचनमा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिस्पर्धा कडा देखिएसँगै सुरक्षा निकायले पनि जोखिम मूल्याङ्कनलाई उच्च प्राथमिकतामा राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.