प्रतिनिधिसभा निर्वाचनः अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण

डिसी नेपाल
१६ फागुन २०८२ २१:४५
12
Shares

काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यक सेवामा खटिनेका लागि निर्वाचन आयोगले सवारी पास वितरण सुरु गरेको छ। कान्तिपथस्थित आयोगको कार्यालयमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारीले संयुक्त रूपमा सवारी पास वितरण सुरु गरेका हुन्।

शुक्रबारदेखि सुरु भएको सवारी पास वितरणमा अत्यावश्यक सेवामा खटिनेको लाम बढ्न थालेपछि आइतबारदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरबाट पनि थप जनशक्ति मगाउन लागिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए।

आज र फागुन १८ गते फागु पूर्णिमा अर्थात् होलीको सार्वजनिक बिदामा पनि सवारी पास वितरण गरिने पनि उनले जानकारी दिए। आयोगमा शुक्रबारदेखि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रशासकीय अधिकृत र गृह मन्त्रालयका शाखा अधिकृतसहितको डेस्क (कक्ष) खडा गरिएको छ।

सो डेस्कमा आयोगका तर्फबाट सहायक प्रवक्ता जिसीले संयोजन गरिरहनुभएको छ। आयोग र जिल्ला प्रशासनको समन्वयमा दोहोरो नपर्ने गरी पास वितरण भइरहेको छ। शुक्रबार पहिलो दिन ६० वटा पत्रबाट सवारी पास वितरण गरिएको छ। एउटा पत्रबाट अधिकतम पाँच वटासम्म पास वितरण गरिएको आयोगले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.