ओलीको प्रश्न-तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा?

डिसी नेपाल
१७ फागुन २०८२ १३:२७
8
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण वा विध्वंसको बाटो रोज्ने कित्ता स्पष्ट पार्ने बेला आएको बताएका छन्। उनले आफू नेतृत्वको निर्वाचित सरकारलाई अपदस्त गराई देशमा विध्वंश मच्चाईएको टिप्पणी गरेका छन्।

उनले आम जनतालाई ठण्डा दिमागले सोच्न देश बचाउने कि नबचाउने भनेर सोच्न भनेका छन्। आइतबार एक भिडियो सन्देश जारी गर्दै ओलीले प्रतिनिधिसभा विघटन गरेर अहिले त्यही प्रतिनिधिसभाको निर्वाचन हुन लागेको भन्दै देश बचाउनको लागि ठण्डा दिमागले सोच्न आग्रह गरेका छन्।

भिडिओमा ओलीले भने- अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ। तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन। इतिहासले धिक्कारेको कुरा आफैँले त कसैले देख्दैन तर जिन्दगीको अन्तिम मोडतिर पुग्दा मैले त्यतिबेला बोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला आँखा र कान खोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला हातखुट्टा जुरुक्क उठाउनुपर्थ्यो कि पर्दैनथ्यो? भनेर आफैँलाई सोध्दा त्यसको जवाफ दिने नैतिक साहस तपाईंसँग बाँकी रहोस्। मैले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस्।’

ओलीले आफूले देश पहिले भनेको भन्नु संविधान र नियम पहिले भनेको भनेर स्पष्ट पारेका छन्। देश पहिले भनेको भूमि र जनता पहिले भनेको भनेर पनि उनले स्पष्ट पारेका छन्। संविधान बचेमात्रै नागरिकको अधिकार बच्ने उनको तर्क छ। आज आफूहरुलाई संविधान नहल्लिने, नियम नमिचिने र अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको पनि उनले भनेका छन्।

उनले भने,‘आज तपाईंले एउटा बाटो रोज्नुपर्नेछ, बनाउने बाटो कि भत्काउने ? निर्माणको कि ध्वंशको बाटो? मलाई थाहा छ थुप्रै भ्रमहरु फैलाइएका छन्। तपाईंसँग मप्रति गुनासा पनि छन्। प्रश्न पनि छन्। मेरा कमिकमजोरी पनि होलान्। तर, तपाईंहरुलाई यो पनि थाहा छ कि मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन।र, गर्दिनँ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *