लघुकथा : अनुत्साह
के छ केटा हो हालचाल, भन्दै किशोर टुपुल्कियो।
नवीनले पत्रिकामा नजर डुलाउँदै थियो। उसले सुनायो, “प्रचार त व्यापक गरे तर जित कसको हुँने हो ? सबैले आँफुलाई नै पहिलो मान्दै विजेता घोषित गरेका छन् तर बाजी कसले मार्छ, थाहा छैन ? उसले खिस्स हाँस्दै दाँत देखायो।
रितेशले चियाको चुस्की लिदैँ बोल्यो, ” कसले जितेर के हुँने होर ? दुईचार दिनको खलबल हो । मान्छेका कान ठाडा हुँनेछन्, पत्रकार, मिडियाले काम पाउँछन् । जितेर जान्छन्, आफ्नो दु:ख आँफैसँग छ।” उसले निधार खुम्च्याउँदै निराशा जनायो।
किशोरले सहमति जनाउँदै, ” त्यहीँ त विकासका काम यो गर्छु त्यो गर्छु भन्दै प्रतिबद्धता जनाउँछन् तर जनतासँग असुलेको कर कहाँ गयो? यथार्थमा जनताकै पैसो विनियोजन गर्ने त हुन्, घोटाला उति, अझ तिनैलाई पाल्नु पर्छ । हात्ती आयो हात्ती आयो फुस्सा !” उसले वास्तविकता बतायो।
नवीनले अन्तर्राष्ट्रिय खबर सुनायो, “मध्यपूर्व क्षेत्रमा युद्धको स्थिति सिर्जना भएछ । कैयौं मान्छे मारिएका छन्। विस्फोटका घटना बारम्बार दोहोरिएका छन्, आखिर द्वन्द्व कहिलेसम्म ?” उसले उदासीनता देखायो
फेरि झर्को मान्दै, “जुन जोगी आए पनि कानै चिरेको, यिनीसँग आश राख्नु भनेको आँफैले दु:ख पाउनु हो।” वाक्क मान्दै पत्रिका टेबलमा फाल्यो।
रितेशले घोरिएर सोचेर बोल्यो, ” मान्छेले विश्वास पनि कहिलेसम्म गर्छ र? मैहुमको भरमा अवसरवादीहरूको राजनीति, पारदर्शिता छैन, के यो पाराले टिक्ला ?” उसले कर्कश पोख्यो।
किशोरले समसामयिक परिवेश नियाल्दै, ” नेताको चित्र होइन चरित्र हेर्ने हो, जनताको चाहना बेवास्ता गर्दा मौकामा घात होला भन्ने किन नबुझेका हँ ? उसले अमिलो मुख बनाउँदै खिन्नता व्यक्त गर्याे।
प्रजातन्त्रको प्रादुर्भाव
“जब मौनताको बाध तोडिन्छ तब प्रलय मच्चन्छ,
जब अधिकार खोसिन्छ तब इतिहास जन्मन्छ ।”
अन्यायका विरुद्धमा बोल्दा सत्तामा रहेकालाई असह्य हुँने रहेछ । उनीहरूले हरतरहले आवाज दबाए तापनि टिक्न सकेनन्। भनिन्छ नि, “एक थुकी सुकी सय थुकी नदी।” एकतन्त्रीय १०४ वर्षे निरङ्कुश जहानियाँ राणा शासन र केही दिनको त्यो आमजनताको बुलन्द आवाज जुन बन्दुक, हतियार र शक्तिभन्दा पनि बलियो बन्यो । हो, त्यहीँ हो, २००७ सालको सशस्त्र क्रान्तिको कथा!
नेपालको इतिहासमा २००७ साल ऐतिहासिक क्रान्ति भएको अत्यन्त महत्त्वपूर्ण वर्ष हो। राणा प्रधानमन्त्रीहरूले देशको सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिएर राजालाई त केवल नाममात्रका राष्ट्र प्रमुख बनाएका थिए।
वि. सं. २००७ साल फाल्गुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन विरुद्धको सशक्त क्रान्ति सफल भएपश्चात नागरिक अधिकार स्थापना भएको ऐतिहासिक दिन जुन राष्ट्रिय उत्सवका रूपमा प्रत्येक वर्ष फाल्गुन ७ मा मनाइन्छ।
प्रजातन्त्र भन्नुको तात्पर्य प्रजाद्वारा, जनताका छोराछोरीले आफ्नो भाग्य आफैं कोर्न पाउने प्रजातान्त्रिक व्यवस्था सुरू भएको दिन हो। उनीहरू शासनमा पुग्न सक्ने स्वतन्त्रताको बाटो खुलेको दिन हो। जुन राष्ट्रिय गौरव र ऐतिहासिक परिवर्तनको मूल आधार पनि हो।
नेपाल प्रजा परिषद र नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्ति जुन तत्कालीन राजा त्रिभुवनको पूर्ण साथ र समर्थन रहेको थियो। तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको संयोजकत्वमा भारतको नयाँ दिल्लीमा राणा, काङ्ग्रेस र राजा त्रिभुवनका बिच त्रिपक्षीय सम्झौता भएपश्चात काड्ग्रेसले आन्दोलन स्थगित गरेको थियो।
लामो समयदेखि भारतमा बसेका त्रिभुवन,छोरा महेन्द्र र नाति विरेन्द्रसहित भारतमा बस्दै आएका राजा २००७ साल फाल्गुन ४ गते नेपाल आई ७ गते प्रजातन्त्रको घोषणा गरेका थिए। त्यस दिनलाई नेपालको आधुनिक इतिहासमा एक युगान्तकारी परिवर्तनको महत्त्वपूर्ण कोशेढुङगाका रुपमा लिइन्छ।
भारतको दिल्लीमा भएका सम्झौताहरू
– जनताद्वारा निर्वासित विधान सभाको संविधान निर्माण गर्ने
– नेपाली काङ्ग्रेसका ५ जना र राणाका ५ जना गरी १० जनाको अन्तरिक मन्त्री मण्डल गठन गर्ने
– श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पने र वैधानिक राजा त्रिभुवन नै रहने
– फौजदारी अभियोग लागेका बाहेक अरू राजबन्दीलाई विनासर्त रिहा गर्ने
– आन्दोलनकारीहरूले सरकारलाई हतियार बुझाई आन्दोलन रोक्नुपर्ने रहेका थिए।
प्रजातन्त्रको घोषणा पश्चात् राणा र काङ्ग्रेस दुबै पक्षको सहभागिता गराई एक मन्त्री परिषद घोषणा भयो। जसलाई नेपालको अन्तरिम शासन २००७ जारी गरियो । त्यसपछि प्रत्येक वर्ष फाल्गुन ७ गते प्रजातन्त्र दिवस मनाउँने गरिन्छ।
सुवर्ण शमशेर राणा जुन नेपालका २० औं प्रधानमन्त्री एवम् एक वरिष्ठ राजनीतिज्ञ पनि रहेका थिए। यिनी वि.सं. २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए । राणा परिवारमा जन्मिएता पनि राणाहरूको एकतन्त्रिय शासन व्यवस्थाप्रति खुलेरै विरोध गरेका थिए।
राणा विरुद्धको आन्दोलनमा व्यापक रुपमा लागेका सुवर्ण शमशेर राणा काङ्ग्रेसका कोषाध्यक्ष र पछि गएर पञ्चायतकालमा बीपी कोइराला नजरबन्दमा रहदा कार्यवाहक सभापतिसमेत बनेका थिए ।
राजकीय सत्ता र राष्ट्रिय ढुकुटी दुरुपयोग, भोग, विलास र मोजमस्तीमा रमाउँने राणाहरूले नेपाली जनतालाई अशिक्षा, अभाव र त्रासको भुमरीमा राखेका थिए। चरम दमन र शोषण गरी नेपाली जनतालाई दास बनाएका थिए। त्यसका विरुद्ध नेपाली जनताहरुले निरङ्कुश शासनविरुद्ध लामो सङ्घर्ष र बलिदान गर्नुपरेको थियो।
प्रजातन्त्र स्थापनाका लागि अनवरत सङ्घर्षरत शुक्रराज शास्त्री, दशरथ चन्द ठाकुर, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले वि.सं. १९९७ साल माघमा आफ्नो ज्यान बलिदान दिएका थिए। प्रजा परिषद नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो।
प्रजातन्त्र स्थापनाका लागि सर्वप्रथम आवाज उठाई आफ्नो ज्यान बलिदान दिने चार शहिदहरूलाई राज्यले कहिल्यै भुल्न सक्दैन ।
राणा शासन विरुद्ध सङ्गठित हुँने क्रममा सुरूमा प्रजा परिषद र पछि नेपाली काङ्ग्रेस पार्टीको उदय भयो। तत्कालीन समयमा भारत लगायत अन्य छिमेकी देशहरूमा पनि स्वतन्त्रताका लहरहरु आएका थिए।
नेपाली जनताले पनि स्वतन्त्र बन्ने चाहना राखेका थिए । त्यसमा राजा त्रिभुवनले जनताको सङ्घर्षमा पूर्ण समर्थन जनाएका थिए। जनक्रान्तिको नेतृत्व नेपाली काङ्ग्रेसका महानायक विश्वेश्वरप्रसाद कोइरालाले गरेका थिए।
तत्कालीन राजा त्रिभुवन राजदरवार र राजपाठ सबै त्यागी सपरिवार भारतीय राजदुतावासमा शरण लिन पुगेका थिए । राणाहरूले राजालाई फर्काउन हरसम्भव प्रत्यत्न गरे तर सकेनन् । राजपरिवार श्री ३ राणाजीको अनुमतिबिना नै भारतको राजधानी दिल्ली पुगेका थिए ।
त्रिभुवनका नाबालक नाति मामाघरमा बसेका ज्ञानेन्द्र शाहलाई ल्याई राजमुकुट पहिराइयो । उनलाई तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले २००७ साल कार्तिकमा त्रिभुवनको उपस्थिति बिना नै राजा घोषणा गरेका थिए । तर राणाहरूले अन्तराष्ट्रिय समर्थन जुटाउँन नसक्दा चर्को आलोचनाका शिकार बन्न पुगे । चौतफी विरोध भए पश्चात् राणाहरूले जनतासामु घुँडा टेक्न बाध्य भएका थिए ।
यो एक जनताको पहिलो ऐतिहासिक क्रान्ति बन्यो। यहीँ क्रान्तिबाट जनताले राणाहरुको पञ्जाबाट शासकीय वागडोर नेपाली जनताको हातमा आएको दिन थियो। तत्पश्चात आमजनताले मौलिक स्वतन्त्रता हक पाएका थिए ।
प्रजातन्त्र स्थापनाका प्रमुख आधारहरु
– सशस्त्र क्रान्ति: नेपाली काङ्ग्रेसले राणाहरू विरुद्ध हतियार उठाएर जन आन्दोलन सुरू गरेका थिए ।
– राजा र जनताको एकता : राजा त्रिभुवन दिल्ली प्रवासमा रहनु र राणा विरुद्ध जनता सडकमा उत्रिनुले आन्दोलनलाई थप बल पुर्यायो ।
– दिल्ली सम्झौता : राणाहरुको शक्ति हस्तान्तरण भएपश्चात २००७ साल फाल्गुन ७ गते प्रजातन्त्रको स्थापना
७५ औँ प्रजातन्त्र दिवस भर्खरै विभिन्न कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री सुशीला कार्कीद्वारा वीर सहिदहरूको स्मरण गर्दै सांस्कृतिक झाँकीहरू प्रस्तुत गरी मनाइयो । प्रजातन्त्र दिवसका दिन विभिन्न कार्यक्रमहरूको आयोजना गरेर प्रजातन्त्रको स्थापना एवम् पुनः स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने वीर सहिदहरूको योगदानको स्मरण गर्दै दिपावली मनाउँने र राष्ट्रिय झण्डा फहराउँने गरिन्छ।
विभिन्न कालखण्डमा व्यवस्था परिवर्तनका निम्ति आफ्नो ज्यान बलिदान दिने वीर सहिदहरूको राष्ट्रप्रेमप्रतिको बलिदान खेर जानु हुदैन । मुलुकलाई सही दिशा दिन वीर सपुतहरूको रगतले लेखिएको इतिहासलाई सदैव स्मरण गरी राज्यपक्षबाट उच्च सम्मान व्यक्त गरिनुपर्छ ।
लघुकथा : संघर्ष
वसपार्कमा कसैले हात हल्लाएर आवाज दियो, ” मनिता ए मनिता।”
लामो समयको अन्तरालमा बालापनका साथी मनिता र जमुना भेट भएका छन् । उनीहरू अङ्गालोमा बेरिए र हात मिलाए अनि खुसी हुँदै चौतारीमा बसे । दु:खसुखका कुरा गर्न थाले । सामाजिक सञ्जालमा जोडिए पनि प्रत्यक्ष भेट चाहिँ भएको थिएन । दुबैका अनुहार उज्याला छन् ।
मनिताले खुसी हुँदै सोधी, ” के गरेकी छौ, हिजोआज ? बालबच्चा कति भए ?”
जमुनाले जवाफ फर्काई, ” सहकारीमा अल्झिएकी छु, छोराछोरी दुबै पढाइमा व्यस्त छन् ।” उसले हालचाल बताई
जमुनाले उसको मुहारमा हेर्दै उत्सुकताले भरिएको नजरले सोधी, “के छत तिम्रो खबर, दिनचर्या कसरी बितेका छन् ? खुबै व्यस्त देखिन्छ्यौ त !” उसले जिज्ञासा राखी
उसले विगत सम्झदै बताई, ” दु:ख सङ्घर्ष त कति हो कति ? म्याट्रिक पास भएपछिको विहे अनि बालबच्चा, घरको जिम्मेवारी, बाह्र वर्षपछि पढाइलाई निरन्तरता दिएर स्नातकोत्तर सकी शैक्षिक पेसामा आबद्धता रहेको बताई ।” उसले चाहेको जस्तो सजिलो नहुने रहेछ भन्दै खिन्नता व्यक्त गरी ।
जमुनाले केही ढाडस दिदै भनी, ” जहाँ इच्छा त्यहाँ उपाय भन्थे, सही समयमा लिएको निर्णयले मानिसलाई असाधारण बनाउँछ क्या ! तर असम्भव चाहिँ नहुने रहेछ हगि।” उसले सान्त्वना दिई ।
मनिता गम्भीर हुँदै, ” कसैको हाँसोको पर्वाह नगरी निरन्तरता दिइयो भने सङ्घर्षभित्र पनि हर्ष लुकेको हुँने रहेछ ।” उसले नजर जुधाउँदै मन्द मुस्कानले भनी ।
लघुकथा : भोट
बल्ल बल्ल उम्मेदवारी दर्ता गराए ।
उनका कार्यकर्ता चुनावको माहोलमा खटिए । सबैले घरदैलोमा भोट माग्दै हिडेँ । “कहिले कता त कहिले कता ? एकछिन फुर्सद भएन तर उफ पनि नगरी हिडेँ ।” आँफै बाजी मारूला भन्ने ठुलो आश राखेका थिए, हर्कबहादुरले ।
कार्यकर्ताको बाइकमा पेट्रोल हाल्ने, तिनलाई मासुभात, खाना, खाजा ख्वाउँने उनको दिनचर्या बन्यो । पन्घ्र असारको चटारे जस्तो मेलो छोप्न दौडिरहे । कतै आफ्नो पार्टीभन्दा अरू नै बढी खटिन्छन् कि भन्ने पिर पनि बेग्लै, सबैतिर चासो राख्न उनले भ्याएका थिए ।
प्रचारकै क्रममा पत्रकारले माइक सोझ्याउँदै भन्यो, “केछ चुनावको गतिविधि, तपाइँका भावी एजेन्डा के के छन् ?” उसले निसङ्कोच सोध्यो
हर्कबहादुर केही गम्भीर हुँदै बोले, ” अहिले ढुक्क छु, बाजी मैले नै मार्छु । विकासका काममा त एउटा ठुलो हस्पिटल बनाउँने, विश्वविद्यालय खोल्ले,रोजगारीको वातावरण सिर्जना गर्ने, बाटो बनाउँने, पिच गर्ने, विजुलीबत्ती, खानेपानी, सिँचाइ, मठमन्दिर, लगायत छुटफुट सबै मेरै पालामा सम्पन्न गर्ने योजना छ ।” उनले निर्धक्क विजेताको अनुभूति गर्दै भने
“तपाईं नयाँ हुनुहुन्छ, के जनताले विश्वास गर्लान त ?” पत्रकारले फेरि प्रश्न तेर्स्याए ।
उनले भने, ” मान्छे हेर्ने होइन, काम हेर्ने हो । फेरि अहिले पुरानो अनुहार फालौँ नयाँ छानौँ भन्ने नारा घन्किएको छ, बजारमा । कस्सो विश्वास नगर्लान र ?” उनले समसामयिक परिवेश दर्साए
उनी चुनावको दिन बुथमा सबैलाई नमस्कार गर्नमा व्यस्त देखिए, असिनपसिन हुँदै बडो खटेका थिए । चुनाव सम्पन्न भयो । मतगणना पनि भयो तर नतिजा अर्कैको पोल्टामा पर्याे।
उनी निराश भएर टाउको कन्याउँदै सोचे, “आश त गर भर नपर भन्थे, मेरै कार्यकर्ता तीसजना थिए जम्मा बीस भोट आएछ, हैन ककस्ले दिएनछ दश भोट चाहिँ हँ ?” उनी गहिरो सोचमा परे ।















Facebook Comment