कर्णालीको चुनावी नतिजा : रास्वपालाई मतदाताले पत्याएनन् , रहेन कम्युनिस्ट ‘गढ’

डिसी नेपाल
२५ फागुन २०८२ १२:०७
184
Shares

सुर्खेत। प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामले कर्णालीमा पूराना दलहरुका ‘किल्ला’ भत्किए पनि नयाँ दलको प्रभाव भने न्यून देखिएको छ।

देरभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई बहुमत ल्याउने आँकलनकाबिच कर्णालीमा भने एक सिटमा सीमित हुन परेको छ। १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा नेपाली काँग्रेसले पाँच सिटमा जित हाँसिल गर्दा तत्कालीन युद्धकालीन अवस्थादेखि कर्णालीलाई आफ्नो आधारक्षेत्र मान्दै आएको नेकपा चार सिटमा खुम्चिनु परेको छ।

एमालेले कुनैबेला ‘लालकिल्ला’ मानेको कर्णालीमा एक सिट जितेको छ। राजतन्त्रको वकालत गर्दै आएको राप्रपा देशभरी खुम्चिँदा कर्णालीमा एक सिट जितेर आफ्नो अस्तित्व जोगाउन सफल भएको छ भने रास्वपाले एक सिटमा जित निकालेको छ।

कर्णालीको चुनावी परिणामलाई हेर्दा राजावादीदेखि गणतन्त्रवादी र नयाँदेखि पूरानासम्मका सबै दललाई कर्णालीका मतदाताले संघीय संसद पठाएका छन्। यसले कर्णालीका मतदाताले सबै दल र वादलाई उत्तिकै सम्मान गरेको अर्थमा पनि बुझ्न सकिन्छ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा(एमाले) र नेपाली कम्युनिष्ट पार्टी परम्परागत प्रतिस्पर्धीका रूपमा स्थापित थिए। विगतका निर्वाचनहरुमा यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा हुने गरेको थियो। तर फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि जित निकालेर पुराना दलहरूलाई धक्का दिएका छन्।

कर्णाली सभ्यताको उद्गम भनेर चिनिएको जुम्लाबाट ज्ञानबहादुर शाही निर्वाचित भएका छन् भने मुलुक संघीयतामा गएपछि कर्णालीको राजधानी सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश सापकोटा उदाएका छन्।

नेपाली काँग्रेसले हुम्ला, मुगु, जाजरकोट, सुर्खेत १ र दैलेख १ मा प्रतिनिधिसभा चुनाव जितेको छ। नेकपाले रुकुम पश्चिम, कालिकोट, सल्यान र डोल्पामा जित निकालेको छ भने दैलेख क्षेत्र नम्बर २ मा एमाले, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा र जुम्लामा राप्रपाले जित हाँसिल गरेका छन्।

देशभरी भारी मतान्तरले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपासँग प्रतिस्पर्धामा रहेको रास्वपा कर्णालीको सल्यानमा दोस्रो भएपनि बाँकी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामै आउन सकेन। दैलेख १ र सुर्खेत १ मा रास्वपा तेस्रो स्थानमा आएको छ।

काँग्रेसले विरासत फर्कायो, कम्युनिस्ट गढ भत्किए

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन्। ०४८ सालयता नेपाली कांग्रेसका पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खड्काको यो क्षेत्रबाट चुनाव लड्दै आएका थिए।

फागुन २१ को चुनाव नलड्ने घोषणा गरेर आफ्नै भाइलाई अघिसारेका खड्काले आफ्नो बिरासत कायम राखेका छन्। बिष्णु बहादुर खड्काले २६ हजार आठ सय ९७ मत पाएर चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी शाहीले १८ हजार आठ सय ९० मत पाए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर सिंह ठकुरी १४ हजार सात सय २९ मतसहित तेस्रो भएका छन्। पाँचौं भएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार जितबहादुर रानाले दुई हजार आठ सय २८ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठुकरीले एक हजार ४९ मत प्राप्त गरेका छन्।

कांग्रेसले आठ बर्ष अघि गुमाएको हुम्ला, १२ बर्ष अघिदेखिको दैलेख निर्वाचन क्षेत्र नम्बर १, १८ बर्षदेखि गुमेको जाजरकोटमा आफ्नो विरासत फर्काएको छ। हुम्लाबाट नेपाली काँग्रेसका जयपति रोकायाले आठ हजार ७९७ मत ल्याएर प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार दीपेन्द्र रोकायालाई एक हजार ५५४ मतान्तरले पराजित गरेका हुन्। नेकपा उम्मेदवार रोकायाले ७ हजार २ सय ४३ मत ल्याएका छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका जीवनबहादुर शाही विजयी भएका थिए। २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले यो क्षेत्र गुमाएको थियो।

जाजरकोटमा १८ वर्षदेखिको कम्युनिष्ट गढ तोड्नै काँग्रेसका खड्कबहादुर बुढाले जित हाँसिल गरे। निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रभावशाली नेता शक्तिबहादुर बस्नेतलाई हराउँदै बुढाले चुनाव जितेका हुन्।

बुढाले २० हजार १४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे। अर्को उम्मेदवार नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गरेका छन्। बस्नेत यस अघि तीन पटक जाजरकोटबाट विजयी हुँदै आएका थिए।

यता दैलेख निर्वाचन क्षेत्र नम्बर-१ मा बासना थापाले १२ बर्षपछि कम्युनिस्ट गढ तोडेकी छन्। यहाँबाट थापाले १२ हजार तीन सय ७२ मत ल्याएर पाँच सय ७६ मतान्तरमा नेकपा एमालेका रवीन्द्रराज शर्मालाई हराउँदै उनी विजयी भएकी हुन्।

शर्माले ११ हजार सात सय ९६ मत प्राप्त गरेका छन्। रास्वपाका नन्दकिशोर बस्नेतले आठ हजार १५१ मत प्राप्त गर्दा २०७० को संविधानसभा, २०७४ को प्रदेशसभा र ०७९ को प्रतिनिधिसभामा जित निकालेका नेकपाका अम्मरबहादुर थापाले चार हजार २५६ मतका साथ लज्जास्पद हार व्यहोरेका छन्।

नेकपा कायम राख्यो गढ

तत्कालिन नेकपा माओवादी केन्द्रले आफ्नो किल्ला भन्दै आएको रुकुम पश्चिम, कालिकोट, सल्यान र डोल्पामा आफ्नो विरासत जोगाएको छ। कालीकोटबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले एमालेका नगिन्द्र शाहीलाई नौ सय ८६ मतान्तरले पछि पार्दै ११ हजार ३३८ मत पाएर विजयी भएका हुन्।

नगिन्द्रले १० हजार ३५२ मत पाए। कांग्रेसका हर्षबहादुर बमले सात हजार १३३ मत पाएका छन्। त्यस्तै नेकपा (माओवादी)का खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले दुई हजार ९३७ मत पाए।

डोल्पामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन्। ६ हजार ८०२ मत ल्याएर बुढा विजयी हुँदा नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायले पाँच हजार ३९६ मत प्राप्त गरे। बुढा र रोकायाको मतान्तर एक हजार ४०६ छ। नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले दुई हजार ९४७ मत प्राप्त गरेर तेस्रो भएका छन्।

विजयी उम्मेदवार बुढा यसपटकलाई लगातार चौथो डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। यसपटक डोल्पामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सह-महामन्त्री सहोदर दाइ कर्णबहादुर बुढालाई पनि पराजित गरेर उनले चौथो जित निकालेका हुन्।

सल्यानमा नेकपाका उम्मेदवार रमेशकुमार मल्ल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। रास्वपाका ललितकुमार चन्दलाई दुई हजार बढी मतान्तरले पराजित गर्दै मल्लले नेकपाको जित निकालेका हुन्। नेकपा उमेदवार रमेश कुमार मल्लले २३ हजार १ सय ८९ मत ल्याएका थिए भने रास्वपा उमेदवार ललित कुमार चन्दले २० हजार ९ सय ४ मत ल्याएका थिए।

सल्यानमा एमाले र माओवादीले आलोपालो जित्दै आएका थिए। २०७९को प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला निर्वाचित भएका थिए।

रुकुम पश्चिमबाट नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भए। उनले शान्ति प्रक्रिया यता माओवादी नेता जनार्दन शर्माले जित्दै आएको निर्वाचन क्षेत्रमा जनार्दनलाई हराउँदै नेकपाको जित निकाले।

शर्माले २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरे। केसी र शर्माको मतान्तर चार हजार ९४८ हो। प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा १४ हजार ३४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भए।

०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले गुमाएको दैलेख निर्वाचन क्षेत्र नम्बर दुई यो पटक फर्काएको छ। यहाँबाट नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन्।

पोखरेलले १३ हजार आठ सय ८९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले नौ हजार पाँच सय ५२ मत पाए। २०७९ मा यो क्षेत्रबाट दिक्पाल शाही निर्वाचि भएका थिए।

सुर्खेत २ मा बज्यो घण्टी

मुलुकभर रास्वपाको पक्षमा लहर चलिरहँदा कर्णालीको एक मात्र निर्वाचन क्षेत्रमा रास्वपाले जित निकालेको छ। सुर्खेतको क्षेत्र नं. २ बाट रास्वपा उम्मेदवार रमेशकुमार सापकोटा निर्वाचित भएका छन्।

उनले ३० हजार आठ सय ४२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइरालाले १६ हजार तीन सय ७८ मत प्राप्त गरे। एमालेका कुलमणी देवकोटाले ११ हजार पाँच सय ११ मत पाए।

नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले चार हजार एक सय ६६ मत पाएका छन्। विगतमा यो क्षेत्रमा प्रभावशाली मानिने नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै सापकोटाले जित हात पारेका हुन्। यातायात व्यवसायी सापकोटा कांग्रेसबाट रास्वपा प्रवेश गरेका थिए । कांग्रेसमा छँदा वीरेन्द्रनगर नगर कार्यसमितिका सचिव थिए, अहिले रास्वपा सुर्खेतका जिल्ला सभापति छन्।

दोहोरिए ज्ञानेन्द्र

हरेक चुनावमा नयाँ उम्मेदवार रोज्ने इतिहास बनाएको जुम्लाले पछिल्ला दुवै चुनावमा एकै व्यक्तिलाई जिताएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही विजयी भएका छन्। शाहीले १४ हजार आठ सय १६ मत प्राप्त गरेर जित्दा नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीलाई तीन हजार एक सय ८१ मतान्तरले पराजित गरे।

भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गरे। कांग्रेसका दीपबहादुर शाहीले सात हजार एक सय ४३, एमालेका शान्तिलाल महतले चार हजार पाँच सय १८, रास्वपाकी विनिता कठायतले चार सय २१ मत पाइन् । २०७९ मा पनि जुम्लाबाट ज्ञानबहादुर शाही निर्वाचित भएका थिए । उनले लगातार दोस्रो पटक जित निकालेका छन्।

जनार्दन र प्रकाण्डको संसदीय यात्रामा पूर्ण विराम

१८ बर्ष पछि संसदीय यात्रामा जान तम्सिएका कालिकोटका खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ र २०६४ यता रुकुम पश्चिमबाट लगातार चुनाव जित्दै आएका जनार्दन शर्मा ‘प्रभाकर’को संसदीय यात्रामा पूर्णविराम लागेको छ। दुवै जनाले प्रतिनिधिसभा निर्वाचनमा जित निकाल्न नसकेपछि दुवैको यात्रा रोकिएको हो।

२०६४ सालको संविधानसभा निर्वाचनमा प्रकाण्ड कालिकोटबाट २७ हजार भन्दा धेरै मत ल्याएर विजयी भएका थिए। तत्कालीन नेकपा माओवादीबाट चुनाव लडेका उनले १८ बर्षपछि प्रतिनिधि सभा निर्वाचन लडेर हार व्यहोरेका हुन्। उनी विप्लव नेतृत्वको माओवादीका प्रवक्ता हुन्। कालिकोटमा उनले चार हजार ५९९ मत बाट उनी चौथो स्थानमा सीमित बन्न पुगेका छन्।

तत्कालिन नेकपा माओवादी केन्द्रका उपमहासचिव रहेका जनार्दन शर्मा ‘प्रभाकर’ चुनाव अगाडि अन्य बाम घटकसँगको एकता प्रक्रियामा असहमति जनाउँदै पार्टीबाट अलग भएका थिए।

उनले प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरी सोही पार्टीबाट रुकुमपश्चिमबाट चुनाव लडेपछि कुनैबेलाको आफ्नै स्वकीय सचिवसंग चुनाव हार्नु परेको छ। रुकुम पश्चिम उनले १४ हजार ३४६ मत प्राप्त गरेर तेस्रो स्थानमा सिमित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *