मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा चिन्ता

डिसी नेपाल
२७ फागुन २०८२ ६:५६
3.6k
Shares

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र तनावका कारण त्यहाँ रहेका १७ लाखभन्दा बढी नेपाली नागरिक असुरक्षित बनेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म मध्यपूर्वमा एक नेपालीको ज्यान जानुका साथै १४ जना घाइते भएका छन् । मन्त्रालयका अनुसार इरानले मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी गरेको ड्रोन र मिसाइल आक्रमणका क्रममा ती नेपाली घाइते भएका हुन् । घाइते सबै उपचारपछि कम्पनीमा फर्किसकेका छन् ।

इरानको आक्रमणका क्रममा केही दिनअघि संयुक्त अरब इमिरेट्स (युएई)मा गोरखा घर भएका एक नेपालीको मृत्यु भएको थियो । सोही आक्रमणमा युएईमै रहेका १४ नेपाली घाइते भएका थिए ।

अमेरिका र इजरायलले फागुन १६ गते इरानमाथि अचानक आक्रमण गरेपछि क्षेत्रीय तनाव झन् चर्किएको छ । त्यसपछि इरानले इजरायलसँगै मध्यपूर्व र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । इरानले युएई, साउदी अरब, कतार, कुवेत, ओमान, बहराइन र जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा निरन्तर आक्रमण गरिरहेको छ ।

युद्धको जोखिम बढ्दै जाँदा मध्यपूर्व र खाडी क्षेत्रमा रहेका नेपालीहरू त्रासमा छन् । परराष्ट्र मन्त्रालयका अनुसार हाल उक्त क्षेत्रमा १७ लाख २९ हजार २८८ नेपाली कार्यरत वा बसोबास गरिरहेका छन् । तीमध्ये सबैभन्दा बढी करिब सात लाख नेपाली युएईमा छन् ।

साउदी अरबमा तीन लाख ८४ हजार ८६५, कतारमा तीन लाख ५७ हजार ९१३, कुवेतमा एक लाख ७५ हजार, ओमानमा २५ हजार, बहराइनमा २८ हजार, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेका छन् । त्यस्तै, इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा ५००, लेबनानमा एक हजार ५०० र इरानमा हाल ६ नेपाली मात्र रहेको मन्त्रालयले जनाएको छ ।

सरकारी चासो, ५७ हजारले टिपाए विवरण

मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र तनावका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई लिएर नेपाल सरकारले विशेष चासो देखाएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित इमरजेन्सी रेसपोन्स टिम (इआरटी)ले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने निर्णय गरेको हो ।

दोस्रो बैठक मंगलबार परराष्ट्र मन्त्रालयमा बसेर समग्र अवस्थाबारे समीक्षा गर्दै आवश्यक निर्णय गरेको छ । इआरटी बैठकमा हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने तथा इमरजेन्सी कन्ट्रोल रुम र विदेशस्थित नेपाली नियोगमार्फत सम्पर्कमा आएका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मध्यपूर्वमा रहेका ५७ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण सरकारी प्रणालीमा दर्ता गराएका छन् । कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा ५७ हजार १०० नेपालीले आफ्नो विवरण टिपाएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्राप्त विवरणलाई प्राथमिकताका साथ अध्ययन गर्दै आवश्यकताअनुसार आवश्यक कदम चालिनेछ ।

अत्यावश्यक परेर साउदी अरब हुँदै नेपाल फर्कन चाहने नेपालीलाई राहदानी र भिसाको फोटोकपी तथा ट्राभल प्लानसहितको विवरण आफू रहेको देशस्थित नेपाली नियोगमा पठाएर भिसा सहजीकरणका लागि अनुरोध गर्न सकिने मन्त्रालयले जनाएको छ । केही स्थानबाट सीमित रूपमा हवाई उडान सञ्चालन भइरहेकाले इच्छुक नागरिकले ती स्थानबाट यात्रा गर्नसक्ने पनि बताइएको छ ।

आप्रवासी श्रमिकको सुरक्षामा ध्यान दिन अपिल

मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र तनावका कारण त्यहाँ कार्यरत आप्रवासी श्रमिकहरूको सुरक्षा जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय श्रम अधिकारसम्बन्धी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । खाडीमा आप्रवासीका लागि श्रम न्यायको गठबन्धन, दासत्वविरोधी अन्तर्राष्ट्रिय, भवन र काठ कामदार अन्तर्राष्ट्रिय, इक्विडेम, ग्लोबल श्रम न्याय, अन्तर्राष्ट्रिय घरेलु कामदार महासंघ, आइटियुसी अफ्रिका, श्रमिक सञ्जालले संयुक्त रूपमा ऐक्यबद्धता जारी गर्दै इजरायल-अमेरिका र इरानबीचको आक्रमणका कारण खाडी देशहरूमा रहेका आप्रवासी श्रमिकहरू थप जोखिममा परेको जनाएका छन् । खाडी देशहरू, जोर्डन, लेबनान, इजरायल, प्यालेस्टाइन र इरानमा रहेका आप्रवासी श्रमिकहरू थप जोखिममा परेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन अनुरोध गरेका हुन् । विज्ञप्तिमा युद्ध र अस्थिरताका कारण लाखौँ आप्रवासी श्रमिकहरूले रोजगारी गुमाउने, काम गर्ने ठाउँमा सुरक्षा अभाव हुने तथा आपत्कालीन अवस्थामा उद्धार र सहायताको पहुँच नपाउने जोखिम बढेको जनाइएको छ ।

खाडी क्षेत्रका देशहरूमा रहेका श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सरकार, रोजगारदाता र अन्तर्राष्ट्रिय संस्थाहरूलाई तुरुन्त कदम चाल्न आग्रह गरिएको छ । साथै श्रमिकहरूको जीवन, श्रम अधिकार र मानव अधिकारको रक्षा गर्न स्पष्ट नीतिगत तथा मानवीय पहल आवश्यक रहेको पनि उल्लेख गरिएको छ । विज्ञप्तिमा आप्रवासी श्रमिकहरू विश्व अर्थतन्त्रका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै युद्ध र द्वन्द्वको अवस्थामा उनीहरूलाई सुरक्षा, सूचना, उद्धार तथा मानवीय सहयोग उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

खाडी मुलुकका उडान ठप्प

मध्यपूर्वको हवाई क्षेत्रमा देखिएको पछिल्लो प्रतिबन्ध र तनावका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै सुरक्षा र प्राविधिक कारणले उडानहरू ढिलाइ हुने, तालिका परिवर्तन हुने वा रद्द हुने उडानको जानकारी दिएको छ । खाडी मुलुकहरूबाट नेपाल आउने र यहाँबाट प्रस्थान गर्ने उडानहरूमा अवरोध देखिएको छ ।

वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि यात्रा गर्ने यात्रु अन्योलमा परेका छन् । प्राधिकरणका अनुसार जजिरा एयरवेज, कुवेत एयरवेज र एयर अरेबियाका निर्धारित उडानहरू पूर्ण रूपमा रद्द गरिएका छन् । फ्लाई दुबईले आगामी मार्च ७ देखि ११ तारिखसम्मका आफ्ना सबै उडानहरू स्थगित गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्ससहित कतार एयरवेज र हिमालय एयरलाइन्सका दोहा तथा दमाम क्षेत्रका उडानहरू समेत रद्द भएको हो ।

विमानस्थल कार्यालयले यात्रुहरूको व्यवस्थापनलाई सहज बनाउन सम्बन्धित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेको बताएको छ । प्रभावित यात्रुहरूलाई थप जानकारीका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट वा तोकिएको टेलिफोन नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ । हिजो पनि सातवटा उडान रद्द भएको थियो ।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.