अमेरिका-इजरायल-इरान युद्ध र कलियुग

यक्ष दाहाल
२८ फागुन २०८२ ११:४७
476
Shares

मै खाऊँ मै लाऊँ, सुख सयल मोज म गरुँ। मै नाचुँ मै बाचुँ अरु सब मरुन् दुर्बलहरू। यो वास्तवमा म्लेक्षहरुको मन्त्र हो। उनीहरु खुलेरै भन्छन- (एभरीथिङ इज फेयर इन लभ एण्ड वार। म्लेक्षरुलाई साधरण लाग्ने यो उखानमा ब्यभिचार, हत्या, आतंक, धोका, र छल सबै छ। उनीहरु समृद्धि कर्मले भन्दा पनि लुटेर पाउन सकिन्छ भन्नेमा विश्वास गर्छन्।

यो सोच सायद उनीहरुलाई बिरासतमा मिलेको कुरा हो। शताब्दीदेखि मान्छेलाई तुरुङमा मार्ने, कालो मान्छेलाई साङ्लाले बाधेर मरुञ्जेल दास बनाउने, र शरण दिने अमेरिकन जनजातिलाई खेदी खेदी, जलाएर घोचेर मार्ने अनी बिजयको खुसी मनाउने अपराधको कुरा गर्ने हो भने हजार पन्नाको पुस्तक पनि सानो हुन्छ।

देशहरुलाई कमजोर बनाउने, थर्काउने, हेप्ने, नाकाबन्दी गर्ने र आफूलाई चाहिएको बस्तु खैरातमा लैजाने डन देशहरु बिभिन्न क्षेत्रमा छन् अनि अरु उठ्न लाग्दा मिलेर धम्क्याउछन्। नमाने हत्या हिंसा र प्रोपोगण्डा मच्चाएर सत्ता परावर्तन गराउँछन्।

उस्तै परे देश टुक्राउँछन् र अर्को तिर जोड्छन् पनि। उसैले रच्छ, उसलाई चाहिएमा गोप्य राख्छ, आवश्यक परे इश्यू बनाएर बाहिर निकाल्छ। मानव अधिकार, नारी स्वतन्त्रता, ब्यवस्था परिवर्तन, वाल मृत्युदर र प्रजातन्त्रको प्रोपोगण्डाद्वारा लडाईँ र आन्तरिक द्वन्द्व भड्काउनु उनीहरुको सामुहिक बिनासको अदृष्य हतियार हो।

युद्धमा पनि आफूले नागरिक मारे स्वतन्त्रताको लागि सहयोग, अरुले गरे युद्ध अपराध। यो प्रोपोगण्डा सस्तो र एकोहोरो भिडन्तको हतियार हो। नेपालले पनि माओवादी द्वन्द्वको नाममा सत्र हजार सोझा नागरिक यसै हतियारद्वारा गुमायो। राजा हटाएर कठोर मुस्लिम नेता खुमेनी ल्याउने पनि उही हो, उसलाई मार्ने पनि उही हो।

त्यस्तै राजा हटाएर सद्दाम, लादेन, र गद्दाफी ल्याउने पनि उही हो। उनीहरुलाई पनि थाहा हुँदैन उ किन त्यँहा पुग्यो। तर जब देशको अहितमा सम्झौता गर्नुपर्ने स्थिति आउँछ, उनीहरु टेडिन्छ र अन्ततोगत्वा मारिन्छन्। गराउने पनि उही हो, गर्नेलाई थाहा नभएको मात्र हो। त्यसैले त गर्ने पनि उबाट सुरक्षित छैन।

गर्नेलाई त के भो, कसरी भो पनि थाहा हुाँदैन। प्रायः देशमा भएको त्यही हो। अनि यी कुकर्म गर्नुको कारण केवल संसारमा प्रमुख स्थान हासिल गर्न, पहिलो स्थानमा कायम रहन।

बिषयलाई बहुआयाममा नदौडाइ इरानमा के भयो बुझौं। अहिले बिश्व ब्यापारिकरणमा पहिलो शक्तिशाली अर्थतन्त्र चीन रहेको सबैलाई थाहा छ। किनकी पहिलो अर्थतन्त्र भनिएको अमेरिका आजसम्म ३९ ट्रिलियनको ऋणमा फसेको छ। र, प्रत्येक बर्ष एक ट्रिलियनको ब्यापार घाटामा छ।

यदि अरबका देशहरुले इन्भेस्टमेन्टको नाममा फण्ड नदिने हो भने डलर कोल्याप्स हुनेछ। कसैगरी अर्थतन्त्रको पहिलो स्थानको दौड लगाइरहेको यूक्रेन त उठ्न नसक्ने गरी ध्वस्त भैसक्यो, अब बाँकी रह्यो चीन। चीनलाई उछिन्न नसक्ने स्थितिपछि रोक्ने रणनीतिक तरिका धेरै अपनाए पनि निरन्तर असफल भइ रह्यो।

हङकङ, ताइवान, पूर्वी एसियाका देशलाई आफू अनुकुल बनाए पनि बिश्व बजार चीन आश्रित भैसकेको छ। विश्व बैंक भन्दा कम ब्याजमा ऋण र प्राविधिक सहयोग दुवै दिने हुनाले अफ्रिका, यूरोप, अस्ट्रेलिया र एसियाका धेरै देशहरुले चीनसँगको ब्यापार कटाउन चाहेनन्।

यो परिस्थितिमा चीनलाई इन्धन उपलब्ध गराउने इरानलाई नियन्त्रण गर्न सके चीनको अर्थतन्त्रलाई रोक्न ठूलो सफलता मिल्ने थियो। अमेरिकाले हाक्काहाकी इरानसँगको दुस्मनी सम्बन्ध हटाएर मित्रताको हात अघि बढाउन सकेन, सहयोग माग्न सकेन।

बरु न्यूक्लियर प्रशोधन बन्द गराउन दवाव दियो। यो गर्नुको पछाडि इरान डराउने छ र सन्धी र सम्झौताको लागि बार्ता गर्ला भन्ने थियो। तर, इरानले सामुहिक रुपमा निरपराधलाई मार्ने परमाणु अस्त्र (मास डिस्ट्रक्सन न्यूक्लियर वेपन) बनाउनु अधर्मी कार्य भएको हुँदा नगरेको र कहिल्यै नगर्ने जवाफ दिएपछि अमेरिका चुप रहनु परेको थियो।

समय बलवान छ, ठूलो ऋणको भार, अरबको आश्रय र बार्षिक ट्रेड डिफिसिटले ढाड भाँचिरहेको अमेरिका भित्रभित्रै निरीह भैसकेको छ। त्यसैले उसले अस्तित्वमा आउने तीनवटा उपाय अघि सार्‍यो। पहिलो, चीन र चीनसँग ब्यापार गर्नेलाई अत्याधिक राजस्व शुल्क लिने।

दोस्रो उपाय, इरानलाई घेराबन्दी गर्ने घुडा टेकाउने र रेजिम चेञ्जबाट पपेट सरकार ल्याउने। तेस्रो उपाय, नेपाल र इण्डियाबाट फ्रिटिबेटको इस्यू उचालेर आन्तरिक द्वन्द्वको भूमरीमा पार्ने, बिश्वमा छवि धमिल्याइ दिने। चीन र चीनसँग ब्यापार गर्ने बिरुद्ध ट्यारिफ लगाउने नीति एक महिना पनि टिकेन।

दोश्रो उपाय जुन इजरायलद्वारा प्यालेस्टाइनमा बर्बरता छाउने, जसको कारणले इरान उकासिएर उग्र भएर लड्न आओस्। तर इरानले सम्यमता लियो। उसको सुरक्षा विभाग मै मिसायल हानेर सारा कर्मचारी र डिफेन्स मिनिस्टरको हत्या गर्दा भने पहिलो पटक इरानले एउटा सशक्त मिसायल हानेर इजरायललाई एकचोटीमा चुप लगाइदियो। तर प्रतिदिन ऋण र बोझ बढ्दै थियो, अमेरिका चुप लागेर बस्न पनि सक्ने स्थितिमा थिएन।

यसै बीचमा इरानको आडविक प्रशोधन केन्द्रलाई पुनः ध्वस्त पारियो। वैज्ञानिकहरु सबै त्यही चिहान भए भनिन्छ। अमेरिकाले अब भने इरानले घुँडा टेक्छ वा आत्तिएर हमला गर्छ भन्ने ठानेको थियो। तर त्यस्तो भएन।

मानौं इरानलाई त्यो हमलाले चिलाएन पनि। ब्यग्रता नै बिनासको जड हो, धैर्यता नै जीत भन्ने कुरा इरान-अमेरिका इजरायल युद्धले देखाएको छ। अमेरिकाले पहिले त खनेमीलाई हटाएर आफ्नो पपेट सरकार ल्याउने उद्देश्यले आन्तरिक रुपमा आन्दोलन गराउन सफल भए।

लामो र बिभान्न नाकाबन्दीद्वारा इरानी मुद्राको कृतिम स्फिति गराएर एक डलर बराबर चौध लाख रियाल बनाइयो। यो स्फीतिको कारण सरकारको भ्रष्टता जनाई आन्दोलन पनि उकासियो। ती आन्दोलनकारीलाई सिधा गोली हानेर धपाइयो, बाँचेकाले वास्तविक कारण भरखर बुझ्दैछन्।

इरानमा आन्दोलनको अदृष्य हतियारले भने काम गरेन। इरानको चाम्रोपना र धैर्यताले अति ब्यग्र भएर पहिलो चोटी मार्चको पहिलो हप्ता अमेरिकाले त्यहाँको सुप्रिम लिडर (सर्बोच्च नेता) खमेनी मार्न टमहक अस्त्र फ्याक्यो। जसबाट नेता खमेनीको त मृत्यु भयो तर पन्ध्र सय सर्वसाधारण र एक सय सत्तरी बढी बालवालिकाको बलि चढ्यो, अत्याधिक रुपमा निर्दोष र कलिला बालिकाहरुको।

उक्त दिन ब्यग्र अमेरिका र इजरायलले हर्षोल्लास मनाउन हतार गरे। किनकी साठी बर्ष मौनता र धैर्यता साँधेको इरानको अदृश्य हतियार नै धैर्यता थियो। इरानले साना साना र सस्तो ड्रोन (सहिद) र कम दूरीका मिसाएल (फत्ते, साहेब, खलिज) जस्ता मिसाएलले इजरायल र अमेरिकी सैन्य पोतहरु, हर्मोजका जहाज, र सैन्य सूचना केन्द्र माथि आक्रमण गर्‍यो। जसबाट अमेरिका र इजरायलले नसोचेको क्षति ब्योहर्नु पर्‍यो।

ती ड्रोन र साना मिसायल रोक्न अमेरिका र इरानलाई दैनिक एक अर्ब बढी डलर खर्च गर्नु परेको थियो। इरानले बचाएर सीमित मिसाएल फ्याक्दा दुई देश रिसाएर हजारौं मिसायलले इरानमाथि बर्षा गर्थे। जसको कारण अमेरिका र इजरायलको अस्त्र भण्डारमा ह्रास हुँदै गयो र इन्टरसेप्टर लञ्चरहरु पनि अनुपयोगी हुँदै गए।

यसरी नसोचेको आकारमा युद्ध लम्बियो जसको कारण अमेरिकी अर्थतन्त्रलाई थप घाटा व्यहोर्नु पर्‍यो। अमेरिकी ब्यग्रताले युद्ध चाँडै सकाउने हतारो प्रष्ट देखाउँथ्यो। यसै बीचमा अमेरिका र इजरायलले संयुक्त रुपमा इरानको तेलखानीमा आक्रमण गरे। इरानका अनुसार इरानको नुन प्रशोधन गरेर खानलायक पानी बनाउने प्लान्ट पनि ध्वस्त पारियो।

तेलखानीमा आक्रमणको कारणले बातावरणमा तेल र धुवाले भरिएको हुँदा अझ शुद्ध खाने पानी बन्द गराएर इरानका आठ करोड जनतालाई अमानवीय ढंगले मार्न लागेको हुँदा इरानले अमेरिकालाई युद्ध अपराधको आरोप लगाएको छ।

आत्मरक्षाको परिस्थितिलाई मध्यनजर गर्दै इजरायलको हाइफा तेल प्रशोधन केन्द्रमा ड्रोन र खाइबर मिसाएल हानेर बन्द गरायो। त्यो इजरायलको सबैभन्दा ठूलो तेल रिफाईनरी थियो।

त्यसैगरी आबुधाबीको आई रुबेई रिफाइनरी पनि ध्वस्त भएर बन्द छ। आइ रुबेइ संसारकै ठूलो प्रशोधन केन्द्र पर्छ, जसबाट दश लाख ब्यारेल तेल प्रत्येक दिन उत्पादन हुन्थ्यो। यो सन्देश पश्चात अमेरिकाले पाँच हजार बढी मिसायल इरान भरी हानेर प्रायः सबै सैन्य संरचना ध्वस्त पारेर उठ्न नसक्ने बनाएको घोषणा गरेको छ।

यस पटकको अमेरिका र मध्यपूर्वी लडाइँ फरक किसिमको भयो। शक्ति प्रदर्शनको जोड लागेन। ब्यग्रता र धैर्यता बीचको लडाइँ भयो। इरानले आफ्नो अधीन होर्मुजको समुद्री साँघुरो घाँटीमा तेलको नाकाबन्दी गरिदिएको छ। यो बाटो संसारको बीस प्रतिशत र चीनकोलागि मात्र पचास प्रतिशत तेल जाने गर्दछ।

तेलको यो बाटो बन्द भए अरब देशहरुमा ब्यापार घाटा हुने र अमेरिकालाई दिएको पैसा फिर्ता माग्नु पर्ने स्थिति आउँछ। यो डरले अमेरिका स्वयम् होर्मुजको बाटो खोल्न आतुर छ जसले प्राथमिकतामा चीनको तेल आपूर्ति सुचारु गराउँदछ।

यो अमेरिकाको लागि चीनसँगको अर्थतन्त युद्धमा हार भए पनि अहिले युद्धको अवस्थामा बाध्यता हो। त्यस्तै अमेरिकाले भारतलाई पनि रुससँग तेल खरिदमा लगाएको रोक हटाउन बाध्य हुनु परेको छ।

उता इरानको अनुसार यदि अमेरिका र इजरायलले आफ्नो सोझो नागरिक मार्न नछोडे निरन्तर दुबई, कतार, साउदी, इराक, कुवेत, आफ्नो लगायत सम्पूर्ण छिमेकका तेल खानीलाई निरन्तर पालैपालो हाइपर्सोनिक मिसायलले ध्वस्त पारिदिने घोषणा गरेको छ। जसको कारण तेलको धुवाँमा रहेको सल्फर र अन्य धातुबाट बनेको बिशाक्त ज्ञासले बातावरण पुरै भरिदिनेछ।

कार्वन र तेलका कणहरू हावामा तैरेर संसार भर छरिने छ र अतिबृष्टि अनावृष्टि पालैपालो हुनेछ। उत्पादनमा अत्यन्तै ह्रास आउनेछ। जसले ८ अर्ब बिश्वका जनसंख्या मध्ये घरेलु कृषिमा आत्मनिर्भर नभएकाहरु भोकले मर्नेछन्। युरोपको जाडो क्षेत्रमा तापक्रम बढाउन बिद्यूत र इन्धनको अभाव भएर मानव रहित बन्नेछ।

विश्वले तमासा मात्र हेरेको यो परिस्थितिमा, घाइते बाघ झैं छिमेकीसँग युद्ध नगर्ने तर क्रुरहरुलाई नछोड्ने चेतावनी दिएको थियो। यद्यपि कुनै देशलाई र त्यहाँको साधारण जनतालाई आक्रमण गर्ने छैन भनिरहेको थियो।

इरानको बदला भन्दा पनि हेपिएको महसुस गरी यो कारवाही गरेको भाव व्यक्त गरेको छ। त्यसैले अहिले भने सारा युरोप, अरव, एसिया, रुस, र चीन सहित सबै त्रसित छन् र आकस्मिक बैठक बोलाउँदैछन्।

आजदेखि सुरु गरेको यो कारबाहीले हवाइजहाजमा तेलको अभाव चाँडै नै सृजना गर्नेछ। तेलको भाउ २५० डलर ब्यारेल मात्र पुग्यो भने संसारमा कसैले किन्न सक्ने स्थिति छैन। उद्योगमा निर्भर देशहरु सकिने छन् या अत्यन्तै आर्थिक कमजोर हुनेछन्। आर्थिक कमजोर र बाह्य कृषिमा निर्भर देशहरु सकिनेछन्।

तत्काल हुने अरबको भोकमरी, पानीको अभाव र वायु प्रदुषणलाई मध्यनजर गर्दै त्यहाँ बाध्यताले बसेका नेपालीहरूलाई सम्झाई बुझाई देश फर्केर आत्मनिर्भर बन्न सल्लाह दिनु जरुरी छ। सरकारले तत्काल उनीहरुलाई फिर्ता गर्ने ब्यवस्था मिलाओस्। ढिलो भएपछि रोएर काम छैन।

इरानको सात लाख सक्रिय र तीन लाख आरक्षित (रिजर्व) सेना साथै हजबुल्ला र कुर्दको संयुक्त लडाइँद्वारा यदि यो लडाइँलाई एक महिना मात्र टिकाउन सक्यो भने विश्व अर्थतन्त्र ध्वस्त हुनेछ। डलर पेग्ड पैसाको अर्थ रहँदैन। संसारका देशहरुले डलर समय मै फिर्ता नगरे, राज्यको कोषबाट ठूलो धनराशी गुमाउनु पर्ने हुन्छ।

यदि लम्बिएमा यो लडाइँ पश्चात अमेरिकाको चीनसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता रहनेछैन र फ्री टिवेटको इस्यू उठाउन अशक्त रहने छ। एमसीसी र एसपीपी रणनीति अनावश्यक खर्च बन्नेछ। दीर्घकालीन रुपमा भारत र छिमेकको बिबाद सुल्झने छ र ब्रिक्सको कारण साउथ एसिया एकीकृत हुनेछ।

यो लडाइँमा हार मान्न नचाहने इजरायल जसरी भएपनि आणविक अस्त्रद्वारा इरानलाई घुँडा टेकाउन ब्यग्र छ। यूएन र संसारको घृणा कमाउने डरले अहिलेसम्म प्रयोग भने गरेको छैन। तर धेरै पटक प्रयोग गर्ने इच्छा भने व्यक्त गरेको छ।

यदि पाण्डव झैं सानो शक्ति इरानसँग आजित भएर अश्वस्थामाले झैं इजरायलले आणविक हमला गर्ने हो भने तृतीय विश्व युद्धको सुरुवात हुनेछ। र, नास्ट्रोडमस र भविष्य पुराणमा उल्लेख गरिए झैं यही वर्ष पृथ्वीको आधा चौथाईमात्र जनसंख्या बाँच्ने सम्भावना सत्य सावित हुनेछ।

संक्षेपमा यसबाट सिक्न सकिने दर्शनः

यी सब घटना र त्यसको कारणबाट बुझ्न सकिन्छ की मानव सभ्यताको बिकाससँगै पाप र अपराध कम हुनेथ्यो भने कलीपछि द्वापर र त्रेता हुँदै सत्य युग आउँथ्यो। तर बास्तविकता उल्टो छ, सत्यपछि पाप बढ्दै त्रेता र द्वापर हुँदै कलीको चरम बिन्दुमा पुगेका छौं हामी।

मानव सभ्यता सुरु हुनुपूर्व प्रकृति पूर्ण सत्य थियो, मानव सभ्यताको बिकाससँगै सत्य खिइँदै गयो। सुरुमा सबै सत्य थिए कालान्तरमा क्रमिक रुपले महत्वाकांक्षी हुँदै गए। लोभी हुँदै गए र पापी हुँदै गए। जब जब पाप चरम रूपले बढ्यो, प्रकृतिले संतुलनको लागि मानव संहार गर्दै पृथ्वीको रक्षा गर्न तब तब एउटा अवतार खडा गरिन्।

त्यो अवतारको कारण देव, असुर, दानव वा राक्षस जुन सुकै रुपमा भएपनि पृथ्बीमा मानवको नै संहार भयो। पाप बृद्धिको कारण अत्याधिक नरसंहार भएता पनि त्यो युगको अन्त्यमा त्यही युगको पापी ब्यवस्था नै अर्को युगको आधारभूत व्यवस्था बन्न गयो।

यसरी युग परिवर्तनसँगै मानवको आकांक्षा हेतु जीव र बनस्पति मात्र हैन, पहाड नदी हावा आकास-प्रकृतिको हरेक अंग कोपरिएको छ, पृथ्वीको नै बलात्कार गरिएको छ। सत्य र सादा जीवन हैन, पापी जीवन जिउन प्रकृति मासेर बिलासी सभ्यताको क्रमिक श्रृजना गरिएको छ।

बिलासितासँगै मानवको शारीरिक बलमा क्षय भएको छ। तर पनि हतियारको आविस्कारसँगै मानव अझ बलवान र क्रुर भएको छ, प्रकृतिको बिरुद्ध पनि बलवान भएको भ्रम राख्छ। अझ रोगसँग लड्न रोगै उत्पन्न गरी परीक्षणको नाममा जनवारदेखि मानवसम्मै थप रोग दिनानुदिन बढाइ दिएको छ।

देखासिकी र होडबाजीमा आकास छेदन गरी रकेट उडाउँदा पृथ्बीको कवच नै प्वाल पारिदिएको छ। त्यही रकेट उढाउने र हतियार थुपारेर बलवान हुने होडबाजीमा भोकले मान्छे मर्दा पनि चुइक्क मन दुख्दैन, अझ आर्थिक भारको चाप बढाउदै हतियार, रकेट, सडक र घर बनाउन मानिसलाई नै समयको दास बनाई फगत सिध्याई रहेका छन्। अझ सभ्यतामा एक नम्बरमा रहन मुटु फुट्ने गरी कुद्दैछौं र पलायन हुदैछौं। भोकाहरुको लासको थुप्रोको टुप्पोबाट सभ्य भनाउँदा तिनै भन्छन् बिकास नै सभ्यता हो।

मानवको रक्षा र बिलासिता मात्र धर्म हो? प्रकृतिको रक्षा र पूजा धर्म हैन? के मानवता जस्तै पशुयता चाहिँ धर्म हैन, बनस्पतयता चाहि धर्म हैन? खेतको नाममा जंगल नै सखाप पारेर प्रकृतिको बिनास गर्नु मानवको धर्म हो कि भयंकर पाप हो? मानव प्राकृतिक रुपमा जंगली र मांसभक्षक भए पनि त्यो सत्य र धर्म नै हो।

किनकी प्रकृतिले खाने प्रकृतिवाट नै हो। त्यसरी प्रकृतिको नाश हुँदैन र पाप पनि हुँदैन। गहिरिएर ध्रुवसत्य बुझ्ने हो भने ब्रम्हज्ञानको भण्डार हामी भित्र नै निहीत छ। के सही र के गलत, के पूण्य र के पाप, के कर्म र के अकर्मण्य, के धर्म र के मानब धर्म सबैको सत्यार्थको प्रकाश पनि हामी भित्रै छ। ध्यान दिएर, एकाग्र चित्तले गहिरो मनन गरे अरुको सुन्नु पर्दैन, कुनै गीता पढ्नु पर्दैन।

त्यसैले प्रकृतिलाई पून सुधार्न, साधुको रक्षा गर्न, र दुष्टको संहार गर्न एउटा अवतार आउनैपर्ने छ। त्यसैले कलियुग परिवर्तनको संघारमा कलिको कहरबाट सुरक्षित रहन आफूलाई साधुमा रूपान्तरित गर्नुस्, दुष्कृतिबाट पर रहेर धर्म बुझ्नुस् र कर्म गर्नुस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.