भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बन्दै

डिसी नेपाल
३० फागुन २०८२ २१:२८
28
Shares

जनकपुरधाम। भूमिगत सिँचाइ प्रणाली कृषि उत्पादकत्व बढाउनका लागि प्रभावकारी हुँदै गएको छ। मधेस प्रदेश सरकारले सिँचाइ सुविधा पुर्याउने उद्देश्यले धनुषा तथा महोत्तरीलगायत जिल्लामा स्थापना गरेका भूमिगत सिँचाइ प्रणालीले किसानलाई ठूलो राहत भएको जनाइएको छ।

आकासे पानीको भरमा नहर एवम् नदीनालाबाट सिँचाइको व्यवस्था नभएको अवस्थामा किसानका लागि यो प्रविधि वरदान साबित भएको महोत्तरीको बर्दिवास नगरपालिका-२ का किसान रमेश साहको भनाइ छ। यस प्रविधिबाट खेती सिँचाइ मात्र नभइ दैनिक उपभोगमा पनि सहज भएको उनले बताए।

जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालयमार्फत यहाँका ग्रामीण क्षेत्रमा डिपट्युवेल तथा पावरड्रिल जडान गरिएका छन्। प्राप्त विवरणअनुसार एउटा डिपट्युवेलबाट ४० बिघा खेत सिञ्चित हुने गरेको छ। महोत्तरी र धनुषामा हालसम्म ३५ वटा डिपट्युवेल जडान भएर एक हजार ४०० बिघा कृषियोग्य जमिन सिञ्चित भइरहेको कार्यालयका इन्जिनियर अमलेश यादवले जानकारी दिए।

एउटा डिपट्युवेलको संरचना निमार्णदेखि सञ्चालन गर्दाको अवस्थासम्म रु एक करोडभन्दा बढी रकम लाग्ने गरेको छ। यस्तै, दुई जिल्लामा मात्रै हाल ५० वटा पावरड्रिल निमार्ण भई सञ्चालनमा रहेको इन्जिनियर यादवले जानकारी दिए। कार्यालयबाट प्राप्त विवरणमा गत आर्थिक वर्षदेखि थप ८१ पावरड्रिल निर्माण प्रक्रियामा छन्।

‘एउटा पावरड्रिलबाट नौ बिघा जमिनमा सिँचाइ हुने गरेको छ। एउटा पावरड्रिल निमार्णदेखि सञ्चालनसम्ममा रु १६ लाख लाग्ने गरेको छ। हालसम्म करिब रु एक करोड २९ लाख ६० हजारमा निर्माण गरिएका ती ५० वटा पावरड्रिल निर्माणले चार सय ५० बिघा जमिन सिञ्चित भइरहेको छ’, इन्जिनियर यादवले भने।

दुवै जिल्लामा डिपट्युवेल तथा पावरड्रिलबाट एक हजार ८५० बिघा जमिनमा सिँचाइ भइरहेको कार्यालय प्रमुख नयन पोखरेलले जानकारी दिए। भूमिगत सिँचाइ सुविधा विस्तारका लागि विसं २०४१ मा स्थापना भएको कार्यालयले निरन्तर यस क्षेत्रमा काम गरिरहेको उनले बताए।

‘हामीले लामो सयमदेखि भूमिगत सिँचाइ सुविधाका लागि काम गरिरहेका छौँ। सङ्घीयता कार्यान्वयनमा आएवपछि प्रदेश सरकारको मातहतमा रहेर काम गरिरहका छौँ। मधेश प्रदेशमा प्राकृतिक रूपमा बहने नदी तथा खोलामा पानीको अभाव छ। भूमिगत सिँचाइ प्रणाली नै यहाँको उपयुक्त विकल्पको रूपमा रहेको छ। त्यसको उपयोग गरी सिँचाइ सुविधा विस्तार गरिरहेका छौँ’, उनले भने।

पछिल्ला वर्षमा पानीको सतह कम हुँदै गएको र जडान गरिएका डिपट्युवेलका महत्त्वपूर्ण पाटपुर्जा चोरी हुँदा समस्या भइरहेको ईन्जिनियर यादवले बताए। ‘एक दर्जनभन्दा बढी डिपट्युवेलको ट्रान्सफरमर चोरी भएकाले केही समस्या भएको छ। ट्रान्सफरमरमा रहेको तामाको क्वायल पनि चोरी हुने गरेको छ। यस विषयमा प्रहरी प्रशासनमा पटकपटक जानकारी गराएका छौँ, तर पनि समस्या समाधान हुनसकेको छैन’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.