पार्टीभित्रैबाट घेराबन्दीमा ओली
काठमाडौं। निर्वाचन अयोगले समानुपातिकतर्फको क्लस्टर मिलाएर बन्दसूची अनुसार नाम पठाउन दिएको समय आज सकिँदैछ। शनिबार नेकपा एमालेले समानुपातिकतर्फको नाम तय गरिसकेको छ भने अन्य दलले बन्दसूची अनुसार नाम पठाउन आज बैठक बोलाएका छन्।
बन्दसूचीमा नाम बुझाएर निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र दिएपछि र राष्ट्रपति समक्ष निर्वाचनको प्रतिवेदन बुझाइसकेपछि औपचारिक रुपमा निर्वाचन सम्पन्न हुन्छ।
निर्वाचन सम्पन्न भएपनि पुराना दलभित्र त्यसको पराकम्पन भने सुरु भएको छ। निर्वाचनमा नराम्रोसँग पराजित भएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाभित्र नेतृत्वलाई लिएर विवाद सुरु भएको छ।
विशेष गरी नेपपा एमालेभित्र चुनावी हारको जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मत बलियो बन्दै गएको छ। ओली इतरका नेताहरुले ओलीले नैतिकतामा आधारमा राजीनामा दिनुपर्ने अन्यथा अप्रिय निर्णय लिएर भएपनि नेतृत्व परिवर्तन गर्ने चेतावनी दिइरहेका छन्।
एमालेमा नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा सबैभन्दा अगाडि उपमासचिव योगेश भट्टराई छन्। भट्टराईले सार्वजनिक रुपमा नै ओलीले निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिनुपर्ने अभिव्यक्ति दिइरहँदा ओली समूहका नेताहरुले ओलीको बचाउमा उत्रिएका छन्।
विशेष गरी महासचिव शंकर पोखरेल ओलीको बचाउमा उभिएका हुन्। ओलीले पनि राजीनामा दिने कुनै संकेत दिएका छैनन्। यद्यपि ओलीले निर्वाचनमा पराजय भएको स्वीकार गरेका छन्। अध्यक्ष ओली स्वयंले रास्वपा वरिष्ठ नेता बालेन शाहसँग चुनाव हारेका थिए। ओलीले बालेनलाई जितको शुभकामना समेत दिइसकेका छन्।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका सबै पदाधिकारी निर्वाचनमा पराजित बनेका थिए। अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव महेश बस्नेतलगायत निर्वाचनमा पराजित भएका छन्।
तर एमालेले समानुपातिकतर्फबाट भने पदाधिकारीलाई चयन गरेको छ। समानुपातिकबाट एमालेले उपाध्यक्ष रामबहादुर थापा बादल, गुरु बराल, सचिव पद्मा अर्याललाई चयन गरेको छ।
एमालेले प्रत्यक्षतर्फ मात्र नौ सिटमा जित हासिल गर्न सफल भएको थियो। यसले समानुपातिकतर्फ १६ सिट जितेको छ। चुनावमा पार्टीको सर्वनाक हारमा नेतृत्व जिम्मेवार रहेको भन्दै यतिबेला अध्यक्ष ओली र महासचिव पोखरेलको पार्टीभित्र आलोचना भइरहेको छ।
ओली निकट मानिने उपाध्यक्ष विष्णु पौडेलले नै चुनावी हारको जिम्मा नेतृत्वले लिनु पर्ने बताएका छन्। एमालेभित्र यतिबेला ओलीलाई घेराबन्दी गर्ने काम सुरु भएको छ। अध्यक्ष ओली यतिबेला पितृ शोकमा रहेका कारण राजीनामाको माग केही मथ्थर भएको छ। ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो।
उता सरकारमाथि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाव बढिरहेको छ। सरकारले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले दोषी ठहर गरेका व्यक्तिमाथि कारवाही गर्नुपर्ने भन्दै जेनजीहरुले सरकारमाथि दबाव बढाएका हुन्।
कार्की आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्काली गृहमन्त्री रमेश लेखक, तत्काली आइजिपी चन्द्रकुबेर खापुङलगायतले फौजदारी कसुर अन्तर्गत अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको छ।
यसरी ओली पार्टीभित्रैबाट घेराबन्दीमा परेका बेला अब नयाँ सरकारले उनीमाथि कारवाही गर्ने त होइन भन्ने प्रश्न उब्जिएको छ।







डिसी नेपाल







Facebook Comment