लघुकथा : सास्ती

88
Shares

“समयमै विचार नगर्दा दु:ख पाइने रहेछ।” घनश्यामले भन्यो।

रामविलास समाजमा अलि सक्रिय देखिन्छ। टाठोबाठो भएकाले सबैले उसलाई अघि सार्छन्। ऊ अडिग छ, आफ्नो पार्टीको सिद्धान्त छोड्नु हुदैन भन्नेमा विश्वास राख्छ।

घनश्याम भने फरक स्वभावको छ। ऊ परिवर्तन खोज्छ अनि कर्ममा विश्वास राख्छ। फरक सिद्धान्त बोकेका दुबै मिलेता पनि यदाकदा विचारको द्वन्द्व चाहिँ परिरहन्छ।

रामविलासले, “संगत ठूलैको गर्नुपर्छ। कतै भनसुन गरेर पद पड्काउँन पनि पाइने, मान पनि पाइने, शानै फरक?” ऊ मेरो गोरूको बाह्रै टक्का जसरी रवाफिलो स्वरले बोल्यो।

घनश्यामले, “हो, त्यहीँ भएर त हामी पछि परेका छौं। राम्रोलाई राम्रो भन्न सकिएन भने आफैं खाडलमा पर्दा पनि थाहा हुँदैन। परम्परागत सोचलाई परिष्कृत गरेर नयाँ दिशा दिनु आवश्यक हुन्छ। एउटा कुहिएको आलुले बोराभरिको आलु कुहियाउँछ, सङ्गत गर्न पनि विचार गर्नुपर्छ।” ऊ सोचेर बोल्यो।

रामविलासले, “आए आँप गए झटारो जेसुकै भन, आफ्नो बाटो छोडिन्न क्यार!” उसले धाक जमाउँदै स्पष्ट पार्‍याे।

घनश्याम केही व्याकुलता देखाउँदै, “आँफूले पालेको कुकुरले आफैंलाई टोक्छ भन्थे कसैको ब्रान्ड होइन व्यवहार हेर्ने हो नत्र कामको सास्ती उत्ति, खोई कुरो बुझेको?” उसले नजर जुधाउँदै प्रश्न गर्‍याे।

लघुकथा : ओज

प्रेसर कुकरको सिटीले भान्सा खल्बलियो।

भाँडाबर्तनहरु चुप बस्न सकेनन्। सधैं यसैले मात्र कोलाहल मच्चाउँछ अनि शान्ति खल्बल्याउँछ। आज यसको ठेगान नलगाई भएन। सबै एकजुट भए र उसलाई एक्लै पारेर थुरे।

कराहीले हैकम जनाउँदै, “तँ पाङ्दुरेले हाम्रो अगाडि बढी फुर्ती देखाउने, जहिले हल्ला गरेछ, गरेछ। शान्त तवरले पाक्न सक्दैनस्, कसौंडी, डेक्सीले कहिल्यै आवाज गरेनन्। तँ चाहिँ ओहोहो!” उसले होच्यायो।

प्रेसर कुकरले सौम्य भावले, “अकबरी सुनलाई कसी लाउनु पर्दैन, जति कराऊ तर राम्रो सधैं राम्रो रहन्छ।” ऊ खिस्स हाँस्दै चर्को बोलीलाई मौनताले जित्यो।

चम्चा, वातावरण अशान्त बन्न पुगेकोमा ऊ मिलाउँन आयो, “पाकेको खाना थालसम्म जान दुबैको महत्त्व छ। सिटी बजे पनि खानाको स्वाद चाहिँ फरक छ, है!” उसले गुप्तचरको भूमिका निभायो।

थाल गमक्क गम्किदै बोल्यो, ” हिरोको इन्ट्री अन्तिममा हुन्छ, मलाई त टेवलमा चट्ट थरिथरिका परिकारसहित सजाउँछन्। आहा! मान्छे, आनन्दले स्वाद लिदैँ चाटीचाटी खान्छन्, कि कसो ?” उसले जुँगामा ताउ लगाउँदै फुर्ती देखायो।

कराहीले समर्थन दिँदै, “तरकारीको मङ्मङ् वासनाले खाउँ खाउँ लाग्ने अनि आज केको तरकारी हो भनी नसोधी नखाने? गर्छन् मान्छे।” उसले फुइँ देखायो

प्रेसर कुकर सुशील हुँदै तर्क राख्यो, ” भिडबाट जो एक्लिन्छ ऊ विशेष हुन्छ, बाहिरी आवरणले मात्र मूल्यांकन गर्नु मुर्खता हुनेछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *