गगनको राजीनामा स्वीकृत हुन्छ? कांग्रेस केन्द्रीय समिति बैठक आज

डिसी नेपाल
६ चैत २०८२ ६:५३
48
Shares

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भोगेको पराजयको समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई बोलाइएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयको कारणबारे समीक्षा गर्न बोलाइएको बैठकमा पार्टीका तल्लो तहले पठाएको निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल गर्ने एजेण्डा तय गरिएको छ। प्रतिनिधिसभा सदस्य चुनावपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो।

पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा भएको विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले चुनावमा पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। सभापति गगन थापाले राजीनामा दिएपछि बस्न लागेको बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने तय भएको छ।

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्। बैठकको मुख्य कार्यसूची सभापति गगनकुमार थापाले दिएको राजीनामा र हालैको निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा रहेको छ। विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले निर्वाचनमा अपेक्षा गरे अनुसारको नतिजा नआएपछि नैतिकताका आधारमा राजीनामा दिएका हुन्।

बैठकमा उपसभापति शर्माले निर्वाचनमा व्यहोरेको पराजयबारे प्रारम्भिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। धेरै ठाउँबाट विवरण आउन बाँकी रहेकाले अहिले प्रारम्भिक विवरण मात्रै राखिने कांग्रेसले जनाएको छ। केन्द्रीय कार्यालयले यसअघि नै सबै निर्वाचन क्षेत्रमा परिपत्र गरेर हार र जितका प्राविधिक तथा राजनीतिक कारण खुलाएर पठाउन निर्देशन दिइसकेको छ।

बैठकमा सभापति थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्नेमा चर्को बहस हुने देखिएको छ। शेरबहादुर देउवा पक्षले राजीनामाको पक्षमा दबाब बढाउन सक्ने भए पनि उपसभापति शर्माले भने राजीनामा अस्वीकृत गर्नुपर्ने प्रस्ताव लैजाने तयारी गरेका छन्।

बैठकमा समानुपातिकतर्फको सिट बाँडफाँड र नयाँ बन्ने सरकारमा कांग्रेसको भूमिकाबारे पनि छलफल हुने बताइएको छ।

कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा सीमित भएको छ । सभापति थापा आफैं सर्लाही-४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए । सिंहले ३५ हजार ६ सय ८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्र ल्याए।

२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको १३४ सदस्यीय नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *