निबन्ध : समयको ऐना र भागिरथी श्रेष्ठ
समयको गति अनौठो छ। ३२ वर्षअघि पत्रिकाको पानामा छापिएका अक्षरहरू आज अचानक सामुन्ने आइपुग्दा लाग्छ- शब्दहरू कहिल्यै वृद्ध हुँदा रहेनछन्।
‘नेपाल समाचारपत्र’ को त्यो ‘महानगर’ दैनिकको पुरानो पानामा मैले भागिरथी दिदीबारे लेखेको लेख फेला पार्दा मलाई लाग्यो- मैले आफ्नै विगतको एउटा हराएको अमूल्य टुक्रा फेला पारेँ।
ती अक्षरहरू मसीका थोप्ला थिएनन्, ती त उत्साहले भरिएको मेरो तन्नेरी समयको जीवन्त हस्ताक्षर थिए। मैले लेखन प्रारम्भका दिनहरूमा भेटेका र आत्मीयता पाएका आदरणीय मनहरूसँगको संवादका शब्दहरू थिए।
त्यो समय, जब देशमा बहुदलीय प्रजातन्त्रको नयाँ घाम झुल्किएको भर्खर-भर्खरै थियो। हामी केही युवा साहित्यिक अनुरागीहरूमा एउटा छुट्टै प्रकारको हुटहुटी थियो– अग्रजहरूलाई भेट्ने, उनीहरूका अनुभवका वाणीहरू बटुल्ने र साहित्यको गोरेटोमा अघि बढ्ने।
त्यही क्रममा मेरो भेट भागिरथी दिदीसँग भएको थियो, तारागाउँ विकास समितिको ‘रमागृह’ स्थित उहाँको कार्यकक्षमा। त्यो पहिलो परिचय, त्यो सौम्य मुस्कान र आत्मीयता आज पनि मेरो मानसपटलमा उत्तिकै ताजा छ।
भागिरथी दिदी-नाम जस्तै पावन र गम्भीर ! नेपाली आख्यान साहित्यको एउटा दरिलो खम्बा ! उहाँको लेखनमा समाजको यथार्थ मात्र छैन, जीवनको सूक्ष्म दर्शन पनि लुकेको हुन्छ। सिर्जना कलेज अफ फाइन आर्टस्ले विविध क्षेत्रमा महत्वपूर्ण योगदान दिने आठ जना नारीहरूलाई ‘अष्टमातृका सम्मान’ अर्पण गरेको थियो।
त्यसमध्ये उहाँ पनि सम्मानित एक व्यक्तित्व हुनुहुन्थ्यो। त्यसै अवसरमा उहाँसँग पुनः भेट हुँदा लाग्यो, समयले उहाँको कपालमा केही चाँदीको घेरा थपिदिए पनि उहाँको सिर्जनात्मक ऊर्जामा भने कति पनि ह्रास आएको छैन। उहाँसँगको परिचय नवीकरण भयो, तर आत्मीयता पुरानै थियो।
उहाँसँगको कुराकानीमा एउटा गम्भीर सत्य प्रतिध्वनित भयो। उहाँ भन्नुहुन्छ- ‘समकालीन नेपाली साहित्यमा महिला लेखिकाहरूको उपस्थिति संख्यात्मक रूपमा सन्तोषप्रद नभए पनि गुणात्मक पक्ष भने अत्यन्तै दरिलो छ।’ यो वाक्यमा एउटा तिक्त सत्य र एउटा गौरवपूर्ण विश्वास दुवै झल्किन्छ।
२०२३ सालदेखि कविताको कोमल मार्ग हुँदै साहित्यमा प्रवेश गर्नुभएकी दिदी २०३४ सालदेखि आख्यानको गहन फाँटमा होमिनुभयो। उहाँ कलमजीवी मात्र हुनुभएन, उहाँ त भावजीवी र हृदयजीवी स्रष्टा बन्नुभयो।
पहिले जागिर र घरगृहस्थीको व्यस्तताका बीच चोरेको थोरै फुर्सदमा उहाँले शब्दको खेती गर्नुभयो। ती थोरै समयमा उहाँले सिर्जना गरेका कथाहरूले नेपाली साहित्यलाई धेरै थोक दिए। आज उहाँसँग ‘फुर्सदै फुर्सद’ छ भनिए पनि, एक वास्तविक स्रष्टा कहिल्यै फुर्सदमा हुँदैन।
उहाँका आँखाहरू अहिले पनि नयाँ कथा बुनिरहेका हुन्छन्, उहाँको मन अहिले पनि समाजका अदृश्य पीडाहरू पढिरहेको हुन्छ। लेख्नु, पढ्नु र साहित्यिक जमघटमा रमाउनु- यो त एउटा ऋषिमुनिको जस्तै साधना हो।
जीवन वास्तवमा एउटा चक्र रहेछ। ३२ वषपछि आज फेरि त्यही स्रष्टा दिदीका बारेमा केही लेख्दैछु। फरक यति मात्र हो- त्यतिबेला मभित्र एउटा जिज्ञासु युवक थियो, आज मभित्र एउटा अनुभवी समय छ।
तर भागिरथी दिदी उही हुनुहुन्छ- नेपाली आख्यानकी एक अविचलित साधिका ! उहाँको लेखनले जीवनको दर्शनलाई प्रस्ट्याउँदै गर्दा हामी पाठकहरूलाई एउटा यस्तो ऐना दिन्छ, जहाँ हामी आफ्नै अनुहार र आफ्नै समाजको प्रतिविम्ब स्पष्ट देख्न सक्छौँ।
पाल्पाको रीडी बजारमा २००५ सालमा जन्मेर काठमाडौँलाई कर्मथलो बनाउनुभएकी भागिरथी दिदी- नाम जस्तै पावन र गम्भीर हुनुहुन्छ। नेपाली आख्यान साहित्यको एउटा दरिलो खम्बाका रूपमा उहाँको उचाइ लोभलाग्दो छ। उहाँको दृष्टिमा साहित्यको परिभाषा निकै गहिरो छ।
उहाँ भन्नुहुन्छ- ‘कथा जीवन भोगाइको सानो तर महत्वपूर्ण अंग हो, जहाँ थोरै चरित्र र घटनाको छोटो छिनोफानो हुन्छ। तर उपन्यास जीवनको एउटा विशाल सागर हो, जहाँ घटनाहरूको व्यापक परिवेश समेटिएको हुन्छ।’
उहाँको यो दर्शन उहाँका कृतिहरूमा स्पष्ट झल्किन्छ। ‘मालती’ (२०३४) र ‘एउटा यस्तो आकाश’ (२०४६) जस्ता उपन्यासदेखि ‘मोहदंश’ (२०४४), ‘विभ्रम’ (२०५०), ‘रङ्गीन पोखरी’ (२०५०), ‘भूमिगत’ (२०६२) र पछिल्लो समयको ‘छाल’ (२०७७) सम्म आइपुग्दा उहाँको आख्यान-शिल्प झन् परिष्कृत हुँदै गएको देखिन्छ। उहाँले ‘अग्निपर्व’ (२०६४) मार्फत अनुवादको क्षेत्रमा पनि आफ्नो बलियो दख्खल देखाउनुभएको छ।
भागिरथी दिदीको कलमले विशेषतः सरल र सूक्ष्म नारी स्वभाव एवं संस्कारलाई प्रेमपूर्वक स्पर्श गर्छ। उहाँका पात्रहरू पीडा, गरिबी, उपेक्षा, शोषण र विश्वासघातको भुमरीबाट जन्मिन्छन्।
ती पात्रहरूले भोग्ने छटपटीले लेखिकाको हृदयलाई छुन्छ र त्यही संवेदनशीलता सुन्दर शब्दका माध्यमबाट कागजमा पोखिन्छ। उहाँ केवल घटना लेख्नुहुन्न, ती घटनाभित्र लुकेको अव्यवस्थित परिवेशमा ‘अविकृत अर्थ’ र नयाँ सम्भावनाको खोजी गर्नुहुन्छ।
उहाँ भन्नुहुन्छ- ‘समकालीन नेपाली साहित्यमा महिला लेखिकाहरूको उपस्थिति संख्यात्मक रूपमा कम भए पनि गुणात्मक पक्ष भने अत्यन्तै दरिलो छ।’ यो वाक्यमा एउटा तिक्त सत्य र एउटा गौरवपूर्ण विश्वास दुवै झल्किएको मैले महसुस गरेँ।
नारी स्वभाव, संस्कार र तिनका आन्तरिक द्वन्द्वलाई विकृतिरहित ढङ्गले प्रस्तुत गर्नु उहाँको मौलिक लेखकीय कुशलता हो। झन्डै आधा शताब्दी लामो उहाँको अविचलित लेखन यात्रालाई रत्नश्री स्वर्णपदक, मैनाली कथा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारदेखि ‘नेपाली साहित्य नारी रत्न’ र ‘नइ कीर्ति रत्न’ जस्ता कैयौँ गरिमामय सम्मानहरू उहाँले प्राप्त गर्नुभएको छ।
तर यी पुरस्कारभन्दा ठूलो कुरा उहाँको त्यो ‘मृदुभाषी स्वभाव’ र ‘शब्द टिप्ने मौलिक कुशलता’ हो, जसले उहाँलाई नेपाली साहित्यको एउटा सबल र विशिष्ट नारी हस्ताक्षर बनाएको छ।
तद्यपि, उहाँका लागि सबैभन्दा ठूलो पुरस्कार भनेको उहाँले सिर्जना गर्नुभएको त्यो ‘साहित्यिक आकाश’ हो, जहाँ आजका पुस्ताका लेखकहरूले स्वच्छन्द उडान भर्ने प्रेरणा पाउँछन्।
भागिरथी श्रेष्ठ नेपाली आख्यानकी शाश्वत शिल्पी हुनुहुन्छ। उहाँ नेपाली आख्यान साहित्यकी त्यस्तो सबल र संवेदनशील हस्ताक्षर हुनुहुन्छ, जसले शब्दका माध्यमबाट जीवनको सूक्ष्म र विराट दुवै रूपलाई जीवन्त तुल्याउनुभएको छ। पाल्पाको रीडीदेखि काठमाडौंका साहित्यिक मञ्चहरूसम्मको उहाँको यात्रा केवल समयको अन्तराल मात्र होइन, यो त नेपाली कथा र उपन्यास विधामा थपिएका इँटाहरूको फेहरिस्त पनि हो।
उहाँका सिर्जनाहरू चाहे ती ‘मोहदंश’ र ‘विभ्रम’ जस्ता कथा संग्रह हुन् वा ‘मालती’ र ‘एउटा यस्तो आकाश’ जस्ता उपन्यास सबैमा मानवीय संवेदनाको गहिरो उत्खनन पाइन्छ।
उहाँको दृष्टिमा कथा जीवनको एउटा महत्त्वपूर्ण ‘अङ्ग’ हो भने उपन्यास जीवनको ‘विशाल सागर’। यही दार्शनिक बुझाइले उहाँका पात्रहरूलाई पीडा, गरिबी, उपेक्षा र शोषणको भुँमरीबाट निकालेर पाठकको मनमस्तिष्कमा अमिट छाप छोड्न सफल तुल्याएको छ।
वास्तवमै, भागिरथी श्रेष्ठ यौटी लेखिका मात्र नभएर नेपाली वाङ्मयकी एक ‘अग्निपर्व’ हुनुहुन्छ, जसको ताप र प्रकाशले नेपाली आख्यानको भविष्य सधैँ प्रज्वलित भइरहनेछ। तीन दशकअघि मैले देखेको त्यो साहित्यिक उत्साह, प्रेरणा र आजको यो परिपक्व संगममा उभिएर हेर्दा लाग्छ- उहाँको कलम अझै धेरै वर्षसम्म नेपाली मनहरूलाई झंकृत बनाइरहन सक्षम छ।
पुराना दिनका यादहरू र वर्तमानको यो मिलन मेरा लागि केवल एक संस्मरण मात्र होइन, यो त शब्दप्रतिको मेरो अटुट आस्थाको पुनर्पुष्टि पनि हो। आदरणीय भागिरथी दिदी, नामको पृथक पहिचान जस्तै तपाईंका अक्षरहरू यसरी नै पृथक भाव-सौन्दर्यका मिठासले युक्त भई बगिरहून्– जसरी भागिरथी नदी अविरल बगिरहन्छिन्। यहाँको लेखन, यहाँको मार्गदर्शन र निरन्तरको यात्रा अझै मौलिक सिर्जनात्मक उचाइतिर लम्किरहून भन्ने हार्दिक कामना छ।















Facebook Comment