‘पूर्वाधार निर्माणमा कमी भएपनि २० लाख पर्यटक भित्र्याउन सरकार पछि हटेको छैन’

डिसी नेपाल
४ असोज २०७६ १८:१३

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षका लागि पूर्वाधार निर्माणमा कमी आएपनि २० लाख पर्यटक भित्र्याउन सरकार पछि नहटेको बताएका छन्।

शनिबार पर्यटन बोर्डमा पत्रकारसंग अन्तक्रिया गर्दै उनले सो कुरा बताएका हुन्। नेपाल भ्रमण वर्ष सफल पार्न सबै निकायसंग छुट्टाछुटै छलफल गर्दै आएका भट्टराईले नेपाललाई गुणस्तरीय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना भएको बताए।

उनले भने, ‘हामीले नेपाललाई गुणस्तरीय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अगाडि बढेका छौं। यसमा सबै निकायको सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छौं।’

विश्वकै सभ्य संस्कृति भएको नेपालमा पर्यटकको कमी हुनुमा पूर्वाधारमा कमी भएको मन्त्री भट्टराईको बुझाई छ। उनका अनुसार नेपालको जस्तो सभ्य र मर्यादित संस्कृति अरु देशमा छैन। तरपनि पर्यटक भित्र्याउन संस्कृतिले मात्र नभई विविध कुरा पर्याप्त भएको हुनुपर्छ।

देशमा भएका केही पूर्वाधारलाई राष्ट्रिय गौरवको रुपमा विकास गरेको भन्दै मन्त्री भट्टराईले भने, ‘निजगढ, गौतमबुद्ध, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायतलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्न लागेका छौं।’

मन्त्रीका अनुसार विमानस्थलमा साँझ ५ बजेदेखि ८ बजेसम्म केही खुला भएपनि बाँकी समयमा बढी चाप नै छ। त्यसमा एकरुपता दिन सरकारले आवश्यक काम गरिरहेको उनले बताए। त्यसपछि वर्षमा करिब ८० लाखले ओहोरदोहोर गर्ने उनले बताए।

उनले यो पन्ध्रौं पञ्चवर्षीय योजनाका ५ वर्ष पर्यटकीय वर्षको रुपमा विकास गर्ने बताए। उनले भने, ‘यो पन्ध्रौं पञ्चवर्षीय योजनाका ५ वर्षमा पर्यटनले नै अर्थतन्त्रमा निकै राहत पुर्याउँछ। पहिलो वर्षपछिका ४ वर्षहरुमा वर्षेनी ३५ लाख पर्यटकबढी भित्र्याउने हाम्रो तयारी छ।’

आगामी २ वर्षमा सबै पूर्वाधारहरु पनि निर्माण सम्पन्न गर्ने भन्दै उनले आगामी वर्षमा ३०/३५ लाख पर्यटक सहजै रुपमा भित्र्याउन सकिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *