नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण

डिसी नेपाल
८ चैत २०८२ १२:०३
60
Shares

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले संगठनभित्र पछिल्लो समय देखिएका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई एक ज्ञापनपत्र बुझाउँदै उनीहरूले संगठनको ऐतिहासिक गरिमा र विधानको रक्षा गर्न माग गरेका हुन्।

ज्ञापनपत्रमार्फत नेविसंघका आस्थावान कार्यकर्ताहरूले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघले पुर्‍याएको योगदानको स्मरण गर्दै स्थापनाकालदेखि नै संगठनले कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसात् गर्दै आएको उल्लेख गरेका छन्।

लोकतन्त्रका लागि विद्यार्थीहरूले गरेको त्याग र बलिदानबाट निर्माण भएको संगठनको छवि जोगाउनु अहिलेको मुख्य चुनौती रहेको उनीहरूको भनाइ छ। कार्यकर्ताहरूले संगठनभित्र भइरहेका कतिपय गतिविधिलाई ‘अवैधानिक’ र ‘अनुशासनहीन’ भन्दै आपत्ति जनाएका छन्।

विशेषगरी, नेविसंघलाई पार्टीबाट अलग्याउने आशयका साथ सञ्चार माध्यममा भइरहेका प्रचारबाजीलाई संगठनविरुद्धको कार्यका रूपमा लिइएको ज्ञापनपत्रमा उल्लेख छ।

“अवैधानिक प्रक्रियाका आधारमा नेविसंघलाई पार्टीबाट अलग्याउने भन्दै सञ्चार माध्यममार्फत गरिएको प्रचार गम्भीर अनुशासनहीनता हो,“ ज्ञापनपत्रमा भनिएको छ, “यस्ता गतिविधिले संगठनको हित गर्दैनन्।“

त्यसैगरी, उनीहरूले २०८२ चैत ६ गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा आयोजना गरिएको भनिएको बैठकको वैधानिकतामाथि पनि प्रश्न उठाएका छन्। उक्त बैठकमा विधानअनुसार आवश्यक गणपूरक संख्या (कोरम) नपुगेको दाबी गर्दै त्यसलाई मान्यता दिन नसकिने कार्यकर्ताहरूको तर्क छ। विधानविपरीतका यस्ता गतिविधिले संगठनलाई कमजोर बनाउने भन्दै उनीहरूले पार्टी नेतृत्वलाई यसतर्फ गम्भीर हुन आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *