फन रन २०२६ सफलतापूर्वक सम्पन्न, महिला सशक्तिकरण र समावेशितामा जोड
ललितपुर । हायर ग्राउन्ड नेपालद्वारा आयोजित “फन रन २०२६” जावलाखेल फुटबल ग्राउन्डमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा २,००० भन्दा बढी सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय महिला महिनाको अवसरमा आयोजना गरिएको ५ किलोमिटर फन रनरवाकले विभिन्न उमेर समूह र पृष्ठभूमिका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउँदै महिला सशक्तिकरण, समावेशिता, समानता र सामाजिक एकताको सन्देश प्रवाह गरेको छ। कार्यक्रमले लैङ्गिक असमानता न्यूनीकरण तथा सामाजिक र संरचनात्मक अवरोधहरू हटाउने विषयमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो।
ललितपुर महानगरपालिकाकी उप–मेयर मञ्जली शाक्य बज्राचार्यको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा बढाएको थियो।
सहभागीहरूले ललितपुरका भानिमण्डल, ठाडोढुंगा, सानेपा लगायतका क्षेत्र हुँदै ५ किलोमिटर दूरी पार गरी जावलाखेल फुटबल ग्राउन्डमै समापन गरेका थिए। सहज र समथर मार्गका कारण परिवार, युवा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जावलाखेल व्हीलचेयर स्पोर्ट्स क्लब र निर्मला फाउन्डेसनको सहकार्यमा व्हीलचेयर दौड आयोजना गरिएको थियो। साथै ब्लाइन्ड रक्सका सेतो छडी प्रयोगकर्ता सहभागीहरूले पनि कार्यक्रममा भाग लिँदै समावेशिताको सशक्त सन्देश दिएका थिए।
कार्यक्रमको सुरुवात टाइटन जुम्बा फिटनेसद्वारा सञ्चालित ऊर्जावान वार्म(अप सत्रबाट गरिएको थियो। दौडपछि ब्लाइन्ड रक्सद्वारा सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। साथै कार्यक्रममा महिला उद्यमी तथा सामुदायिक साझेदारहरूका स्टलहरू, बालबालिकाका लागि खेल क्षेत्र तथा फेस पेन्टिङ जस्ता गतिविधिहरू पनि समावेश गरिएको थियो।
आयोजकले कार्यक्रममा देखिएको उत्साहजनक सहभागिता र समुदायको सक्रियताप्रति सन्तुष्टि व्यक्त गरेका छन्। “फन रन २०२६ को सफलता लैङ्गिक समानता र सामाजिक समावेशिताप्रति बढ्दो सचेतना र सामूहिक प्रतिबद्धताको प्रतिविम्ब हो,” आयोजक संस्थाका प्रतिनिधिहरूले बताएका छन्।
कार्यक्रमबाट संकलित रकम नेपाल क्यान्सर सपोर्ट ग्रुप, डुकुछापका बालबालिकाका लागि छात्रवृत्ति, वित्तीय साक्षरता तथा उद्यमशीलता तालिम कार्यक्रमहरू, र ललितपुरका महिला समूहहरूलाई सहयोग गर्न प्रयोग गरिनेछ।
कार्यक्रममा पुरुष, महिला, १८ वर्षमुनि, १८ वर्षमाथि तथा व्हीलचेयर विधाका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो।
यस कार्यक्रममा मन बहादुर श्रेष्ठ मेमोरियल फाउन्डेसन, काईयी नेपाल, फेदर वेब्स प्रा।लि।, द वर्कशप इटेरी, चेन्ज एक्शन नेपाल, एथिको रिट्रिट लगायत संस्थाहरूले सहयोग गरेका थिए भने “नेपाल अन द वेब” मिडिया पार्टनरको रूपमा रहेको थियो।







डिसी नेपाल







Facebook Comment