कविता : दोषी चस्मा

शंकरप्रसाद रिजाल
१४ चैत २०८२ ७:५५
144
Shares

दुई आँखा दुई दृष्टि दोषी चस्मा मेरो सृष्टि
सबै देख्छु सबै बुझ्छु सबै म जान्दछु
तरपनि म सबैको अगाडि अधुरो नै रहन्छु
कतिपय दृश्य कतिपय रंग सबै धुन्धला र भ्रम।

दोषी चस्मा मेरो साथी सबै दोष देखाउँछ
तर सत्यलाई खोइ किन हो कुन्नि छोपिदिन्छ
दोषी चस्माले सत्यलाई छोप्छ र झुटलाई देखाउँछ
झुठो मनले सबै जुठो हाली सत्यलाई गिज्याउँछ।

कालो रातो हरियो देखने चस्मा किन चाहियो
चस्मा दोषी नै देखने त्यो चस्मानै किन चाहियो
आँखाको नानीमा हेर देखिन्न रंगिन कहीँपनि
चस्मा लगाई त्यो हेर देखिन्छ रंगिन जहीँपनि।

किन चाहियो त्यो चस्मा दोषी देखिने सबैतिर
दृष्टि नै दोषी भएमा देखिन्छ झुट सबैतिर
चस्मा भित्रको आँखा सबै दोषी हुने भए
छोड चस्मा आजदेखिनै सबै सत्य देखिने भए।

दाग

आज चारैतिर महफिल जमिरहेछन्
सबै जना मस्त मस्त बनिरहेछन्
जामै जाम छन् हातमा ति नाची रहेछन्
यसैको नाचको तालमा तबाइ नाचिरहेछिन्।

दाग छैन कोहीको कालो धब्बा कतैतिर
देखिन्छन् सेता कुर्ता र सुरुवाल सबैतिर
छन् छन् छननन् बजेका छन् घुंगरुहरु
सगितज्ञहरुले बजाउँछन् अनेक धुनहरु।

गल्ली एक दिल्लीको मिना बजार झिलमिल
मानिसको ओहोर दोहोर आँखै घुमाउने तिर्मिर
हाँसेका छन् सबै यहाँ बाहिर बाहिर हर तरह
तर सबैका भित्रका हृदयमा आँसु बग्छन् हर्रहर।

सुख छैन कसैलाई छन् भित्र दागका धब्बाहरु
आउने जाने सधैं गर्छन् सबै वारि पारिकाहरु
दाग नलागोस् कसैमा गल्लीमा सधैं घुमेपनि
मन नदुखोस कसैको मनमा जे भएपनि।

कवि कवितामा झुली झुली रहन्छन्
कलाकार कलाकारिताको क्यान्भासमा
मनका अनेक दागहरु मेटी रहन्छन् बेहोसमा
दुःख सुखको संसारमा काला दागहरु भएपनि।

सूर्यमा दाग लागेपनि मेटिजान्छ छिनमा
चन्द्रमामा लागेपनि मेटिजान्छ छिनमा
मानिसको दाग के हो र धोई जान्छ सफेदमा
दागै दागको कालो धब्बा कहाँ मेटिन्छ निशामा।

कसैमा दाग नरहोस् सधैं सफा सफा रहुन्
कोही कहिले दुखी नरहून् सधैं सुखी बनुन्
दाग एक मैलो हो मन धोए गइहाल्छ नि
मन सफा यदि छ भने सबै सफा भइहाल्छ नि।

जीवन एक भाडाको घर

जीवन एक भाडाको घर हो एकदिन परिवर्तन अवश्य छ
मृत्युले जब संकेत दिन्छ सारा सम्पत्ति गुमाउनै पर्दछ
जब दुःखले डसी ल्याउँछ काँडामा कुल्ची हिँड्नु पर्दछ
भएभरका सारा आँसुका सागर बगाउँदै चल्नु पर्दछ।

जीवन एक भाडाको घर हो एकदिन परिवर्तन अवश्य छ
जीवन एक संघर्ष हो जीवन भर संघर्ष गरिनै रहनु पर्दछ
संघर्षको सफरमा सुख दुःखको फूल र काँटा चुम्नु पर्दछ
अस्तित्वको जोगाइमा डरदेखि टाढा टाढा रहनु पर्दछ।

जीवन एक मोल तोल हो यसको मूल्य चुकाउनै पर्दछ
सारा संसारलाई मानवताको पाठ सिकाउनै पर्दछ
जीवन एक भाडाको घर हो एकदिन परिवर्तन अवश्य छ।

जीवन छ हाम्रो तर बुझ्न सक्तैनौं
मृत्यु छ हाम्रो तर देख्न सक्तैनौं
हिजो के गर्यौं हामीले सम्झिन सक्तैनौं
आज के गरि रहेछौँ मनन् गर्न सक्तैनौं।

भोलि के हुने हो त्यो भन्न सक्तैनौं
यो मानिसको चोलामा सेवा गर्न सक्तैनौं
जसले जति गर्यो आफूलाई नै गयो
जीवन यो अमूल्य जीवन ब्यर्थमा बितायो।

अन्त्यमा हरे राम हरे कृष्ण भन्दै जीवन गुमायो
जीवन एक भाडाको घर हो एकदिन परिवर्तन अवश्य छ
हे संसारका मानवहरु हो एकदिन मर्नु अवस्य पर्दछ
नराख क्लेस मनमा न दुष्टताको कुनै कुरा।

भुलेरपनि नगर्नु अरु कुनै कसैका कुरा
सके गर्नु अरुको सेवा नसके चुप लागनु
जीवन जन्म मृत्यु हो यो सधैं मन राखनु
जीवन जन्म मृत्यु हो यो सधैं मन राखनु।

जीवन एक भाडाको घर हो एकदिन परिवर्तन अबश्य छ
हे संसारका सारा मानव हो एकदिन अवश्य मर्नुनै छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *