सिंहदरबारमा आज चहलपहल

डिसी नेपाल
१२ चैत २०८२ २२:०८
44
Shares
काठमाडौं। प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा धेरै समयपछि आज चहलपहल देखियो। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको सपथका कारण आज बिहानैदेखि मानिसको चहलपहल बढेको थियो।
संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टाअगावै उपस्थित हुन सबै सांसदहरुलाई आग्रह गरेको थियो। सोहीअनुसार नै सबै राजीतिक दलका सदस्यहरु समयमा सिंहदबार उपस्थित भएका थिए।
सपथका लागि विभिन्न राजनीतिक दलगत रुपमा तथा विभिन्न जातजाति र वेषभूषा झल्किनेगरी प्रतिनिधिसभा सदस्यहरू उपस्थित भएका थिए। साथै पहिलो पटक सांसद बनेकाहरूसँग कतिपय आफन्त तथा साथीभाइहरु पनि सो सपथ समारोह हेर्नका लागि पनि कैयौँ व्यक्ति आएकाले पनि सिंहदरबारमा ठूलो सङ्ख्याका मानिसको उपस्थिति थियो।
सिंहदरबारको मूल गेटमा आज भने बिहान १०ः०० बजेदेखि नै मानिसहरु भित्र छिर्ने भीड बढेको देखिएको थियो। यअघि जस्तै सिंहदबारका पश्चिम एवं दक्षिण गेटबाट नै आज मानिसहरु प्रवेश गरेका थिए।
आज परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको बीचबाट संसद् भवन छिर्ने बाटोको प्रबन्ध गरिएको थियो। अपराह्न १ः०० बजेपछि संसद् भवन छिर्ने मानिसको सङ्ख्या बढ्दै गएपछि भने परराष्ट्र मन्त्रालयको गेट अगाडि नै भीड रोकिएको थियो। सो गेटबाट सीमित सङ्ख्याका फोटो पत्रकार एवं अन्य सञ्चारकर्मीहरुलाई मात्र भित्र प्रवेश दिइएको थियो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन्।
संविधानसभा निर्वाचनबाट ६०१ जना संविधानसभा सदस्य चुनिएर आएपछि सिंहदबारस्थित पुरानो संसद् भवनमा बैठक बस्न नमिल्ने भएपछि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सारिएको थियो। यसपटक भने सो भवनमा क्षति पुगेकाले अबदेखि संसद् बैठक नवनिर्मित भवनमा सारिएको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *