आख्यानमा पद्मावती सिंहको पहिचान

ज्ञानेन्द्र विवश
१४ चैत २०८२ ७:५५
4.0k
Shares

काठमाडौँ, ओमबहालको पुरानो गल्लीहरूमा समय कहिल्यै हतारिँदैन, त्यहाँ हावासँगै स्मृतिहरू बग्छन् र माटोले शब्दहरू जन्माउँछ। त्यही सांस्कृतिक माटोमा उम्रिएकी सर्जक पद्मावती सिंहसँगको मेरो भेट पनि कुनै साधारण भेट थिएन; त्यो एउटा अनुभूतिको चित्रजस्तै, मनको क्यानभासमा आफैँ कोरिँदै गएको ताजा क्षण थियो।

भीमसेन थापा मार्ग, छाउनीतिर पाइला चाल्दा मनमा हल्का कौतुहल र अदृश्य सम्मान मिसिएको थियो। उहाँले बताउनुभएको घरको रङ देखेँ यही नै हो जस्तो लाग्यो, पक्का यही हो।

अनुमानलाई छिमेकीको शब्दले पुष्टि ग¥यो। एउटा गेट, अनि अर्को गेट जसरी एउटा कथा भित्र अर्को कथा खुल्दै जान्छ। अन्ततः, मैले घण्टी थिचेँ। आवाज आयो कि आएन। त्यो पनि एक रहस्यझैँ। केही बेर पर्खिएँ, समय पनि जस्तो रोकिएर बसेको थियो। फोन पनि मौन। त्यो मौनता आफैँमा एउटा कथा जस्तो लाग्थ्यो।

अचानक ढोका खुल्यो। त्यहाँ उभिनुभएकी आत्मीय मुस्कानसहित पद्मावती सिंह !

“यो ढोका सधैँ खुल्ला हुन्छ भाइ !” उहाँको हाँसोमा स्वागत मात्र होइन, एउटा सहज जीवनदर्शन थियो।

मैले अलि लजाउँदै भनेँ-“कुकुर होला, मलाई कुकुरसँग असाध्यै डर लाग्छ दिदी।”

उहाँ फेरि हाँस्नुभयो। त्यो हाँसोमा बालसुलभ पारदर्शिता थियो।

“मेरो घरमा कुकुर–बिरालो केही छैन। म त करेसाको बगैँचामा गीत गाउँदै थिएँ। तपाईँ सरासर भित्र आउनुहुन्छ होला भन्ने सोचेकी थिएँ।”

त्यसपछि म उहाँको बैठक कोठामा पुगेँ, जहाँ भित्ताहरू केवल भित्ताहरू थिएनन्, त्यहाँ जीवनका दस्तावेज, अभिलेख, जीवनका प्राप्ति, श्रीसम्पत्ति सबै थिए। तस्बिरहरू, सम्मानपत्रहरू, स्मृतिका टुक्राहरू– सबैले मिलेर आत्मकथा लेखिरहेका थिए।

एउटा ठूलो तस्बिरमा मेरो दृष्टि अडियो। दरशरथ रङ्शालाको प्यारापिटमा उहाँ पुरस्कार लिँदै हुनुहुन्थ्यो तर त्यो क्षणमा मलाई लाग्यो, उहाँ कुनै खेलाडीझैँ उभिनुभएको छ।

“दिदी, हजुर खेलाडी पनि हो र ?” मैले सोधेँ।

मेरो प्रश्नले उहाँलाई क्षणभर अल्मल्यो। फेरि उहाँको अनुहारमा हल्का हाँसो र गहिरो विष्मात मिसियो– जसरी कुनै पुरानो सम्झना अचानक हृदयमा फर्किएर आउँछ।

“भाइ !” उहाँले मृदु स्वरमा भन्नुभयो- “यो तस्बिरमा मैले खेलाडी भएर पुरस्कार लिएको होइन। मेरा श्रीमान् राजबहादुर सिंह लामो समय राष्ट्रिय खेलकुद परिषदमा रहनुभयो। त्यसअघि उहाँ राष्ट्रिय फुटबल खेलाडीका रूपमा धेरै खेलहरूमा पदक जित्नुभयो। नेपालको खेलकुदमा उहाँको ठूलो योगदान छ। तर आज उहाँ यस संसारमा हुनुहुन्न। मरणोपरान्त उहाँलाई प्रदान गरिएको सम्मान मैले ग्रहण गरेकी हुँ।”

त्यो क्षणमा कोठाभित्रको प्रकाश अलि बदलिएको जस्तो लाग्यो। उहाँको शब्दहरूमा जानकारी थिएन– त्यहाँ प्रेम थियो, सम्झना थियो र एक अव्यक्त पीडाको कोमल प्रतिध्वनि पनि मिसिएको मैले अनुमान गरिरहेँ।

मैले ती सबैलाई तत्क्षण महसुस गरिरहेँ। त्यहाँ बसिरहेँ- तर लाग्यो, म एउटा घरमा होइन, एउटा जीवित साहित्यभित्र प्रवेश गरेको छु। जहाँ हाँसो र आँसु, स्मृति र सिर्जना यी सबै एकै साथ बगिरहेका छन्।

त्यो भेट, त्यो क्षण-अहिले पनि मेरो मनमा एउटा कलात्मक चित्रझैँ टाँसिएको छ, जहाँ पद्मावती सिंह एक आख्यानशिल्पी साहित्यकार होइन, जीवनकै कथा लेखिरहनुभएकी एक संवेदनशील सर्जकका रूपमा उजागर हुनुहुन्छ।

यो थियो- २०८२ साल चैत्र २ गते सोमबार अपरान्ह समयले जुराएको भेट र भलाकुसारीको सम्झना-विवरण।

कथा र उपन्यासका माध्यमबाट उहाँले नेपाली साहित्यमा विशिष्ट पहिचान निर्माण गर्नुभएको छ। तर उहाँको प्रतिभा आख्यानको सीमामा मात्र सीमित छैन; उहाँको स्वरमा संगीतको मधुर लय पनि झङ्कारिन्छ र सम्पादन कलामार्फत् साहित्यिक संसारलाई सुसज्जित पार्ने अनुभव पनि उहाँले सँगाल्नुभएको छ। यसरी हेर्दा उहाँ बहुआयामिक सर्जकका रूपमा नेपाली साहित्यिक वृत्तमा उज्यालो उपस्थिति बनाइरहनुभएको छ।

आज उहाँकै निवास, छाउनीको शान्त परिवेशमा उहाँसँग केही क्षण भेटघाट गर्ने अवसर जुर्‍यो। त्यो भेट केवल औपचारिक साक्षात्कार मात्र रहेन, बरु आत्मीयता र सम्मानले भरिएको एक सुकोमल क्षण बन्यो। सर्जकसँग भेट हुँदा मनमा उठ्ने श्रद्धा र स्नेहको तरङ्गले वातावरणलाई नै एक किसिमको सौन्दर्यले भरिदिन्छ। यसरी भरिदिनु स्वाभाविक हो।

त्यही पावन क्षणमा आफ्नो औकात अनुसारको सानो सौगात उहाँलाई मेरा द’ई वटा निबन्ध कृति ‘सुन्दरीचोक’ र ‘अर्धकदको अवसान’ अर्पण गर्न पाउनु मेरो लागि अर्को सुखद अनुभूति बन्यो। सर्जकप्रति समर्पित त्यो सानो चिनो वस्तुमा भन्दा पनि भावनामा बढी अर्थ बोकेको थियो।

भेटघाटको त्यसै मधुर क्षणमा उहाँले एउटा सानो चिर्कटोमा लेखिदिनुभएको शुभाशीर्वचनका सुन्दर शब्दहरू मेरो मनभित्र सुसेलीझैँ गुञ्जिरहेका छन्। ती शब्दहरू अक्षर मात्र होइनन्। त्यहाँ स्नेहको स्पर्श थियो, आशीर्वादको उज्यालो थियो र सर्जक मनको आत्मीयता मिसिएको मैले महसुस गरेँ।

यसरी आजको क्षणिक भेट, सानो सौगात र सानो चिर्कटोमा अंकित शुभकामनाका मधुर शब्दहरूले मेरो मनलाई अनौठो तृप्ति दिएको छ।

कहिलेकाहीँ जीवनमा यस्ता स-साना क्षणहरू नै सम्झनाका उज्याला दीप बनेर मनको कोठामा लामो समयसम्म झिलिमिली बलिरहन्छन्। बलिरहनेछन् र बलिरहनुपर्छ भन्ने मेरो विश्वास पनि छ।

उहाँले ग्रामीण परिवेश र दुःखलाई नजिकैबाट देख्न र भोग्ने अवसर पाउनुभएन। सम्भवतः दुःख के हो ? सुख के हो ? हाँसो र खुसीबाहेक उहाँलाई अरू केही थाहा थिएन। उहाँको हजुरबुवा र बुवासमेत दरवारसँग नजिक हुनुहुन्थ्यो। बुवा दरवारको बडा सुब्बादेखि मन्त्रीसमेत हुनुभएको थियो।

समय क्रमसँगै उमेर र पढाइले उहाँलाई परिपक्व बनाउँदै लगिरहेको बेला जागीरे जीवनमा प्रवेश भएपछि बल्ल उहाँले जीवनलाई बुझ्ने अवसर पाउनुभयो। दुःख, सुख, हाँसो, मिलन बिछोडका यावत घटनाक्रमहरूमा उहाँ परिचित हुन थाल्नुभयो।

यसै सिलसिलामा उहाँ नेपाल परिवार नियोजन संघमा एक दशकभन्दा लामो समय ‘नियोजन’ पत्रिकाको सम्पादन कार्यमा उहाँले समय दिनुभयो। यसले उहाँलाई आफ्नो लेखनमा पनि परिपक्व बनायो र अरूको लेखनलाई नजिकैबाट हेर्ने, बुझ्ने मौका पनि पाउनुभयो। उहाँका अनुसार त्यही समयमा नेपालमा पहिलोपटक महिलाले बाइक चलाउने अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिएको खुसी पनि व्यक्त गर्नुहुन्छ।

त्यसैगरी उहाँले ‘सेभ द चिल्ड्रेन’ मा ‘प्रोजेक्ट म्यानेजर’ भएर पनि काम गर्नुभयो। जहाँ उहाँले नेपालका दुर्गम गाउँहरू पुग्ने अवसर पाउनुभयो। त्यहाँ उहाँले बल्ल वास्तविक नेपालको तस्बिर छर्लङ्ग देख्नुभयो। सहरी सुविधा र सुखमय जीवनमा हुर्किनुभएकी लेखिकाले ती दृश्यबाट आफूमा रहेको सिर्जनशीलतालाई प्रकट गर्ने विषयहरू पाउनुभयो।

उहाँका अनुसार खासगरी महिलाको दुःख, पीडाले उहाँको कोमल मनलाई अनायसै छोयो। एक सिर्जनाकर्मीलाई यस किसिमको दृश्यले प्रभावित पार्नु स्वभाविक थियो। त्यसैलाई उहाँले आफ्नो साहित्य सिर्जनामा कथा र उपन्यासका माध्यमबाट उतार्नुभयो।

नारी संवेदनाका अव्यक्त पीडाहरूलाई आफ्ना लेखनको माध्यमले अनुभूति अभिव्यक्त गर्नुहुने आख्यानशिल्पी पद्मावती सिंहको २०८१ साल बैशाखमा ७६ औँ जन्मोत्सव मनाइएको थियो। सो सुखद अवसर पारेर उहाँको कथा यात्राका विविध सन्दर्भमा ‘कथाकारको कथनी श्रवण’ गरी मनाएको सम्झना पनि पुरानिएको छैन। सो कार्यक्रम छाउनीस्थित उहाँकै निवासमा आयोजना गरिएको थियो।

उहाँले २०३३ सालमै रेडियो नेपालमा स्वर परीक्षण उत्तीर्ण गर्नुभएको थियो। तथापि उहाँ गायन क्षेत्रमा रमाउन सक्नुभएन। हुन त उहाँको क्षेत्र साहित्य भयो त्यसमा पनि कथा र उपन्यास ! उहाँले यसैमा आफ्नो स्थापित पहिचान निर्माण गर्नुभयो।

हालसम्म उहाँका ‘कथादि’, ‘कथायाम’, ‘कथाकार’, ‘पद्मावतीका कथाहरू’, ‘मौन स्वीकृति’, ‘समय–दंश’, ‘एक झुल्को घाम’ र ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ गरी आठ वटा कथासंग्रहहरू प्रकाशित छन्। त्यसैगरी ‘मौन अक्षर’, ‘समानान्तर आकाश’ र ‘निःशब्द यात्रा’ शीर्षकका उपन्यासहरू प्रकाशित छन्।

‘समानान्तर आकाश’ उपन्यासमा उहाँले २०६२ सालमा साझा पुरस्कार पाउनुभएको थियो। उहाँलाई त्यसै वर्ष ‘मधुपर्क सम्मान’ पनि प्रदान गरिएको थियो।

२०२२ सालमा ‘आरती’ साप्ताहिकमा ‘पत्थरको हृदय’ कथा प्रकाशित भएपछि आफू साहित्यमा प्रवेश हुनुभएको उहाँ बताउनुहुन्छ। २०५४ सालमा स्थापना भएको ‘गुञ्जन’ साहित्यिक संस्थाको आफू संस्थापक अध्यक्ष भएको कुरा पनि उहाँ बताउन बिर्सनुहुन्न।

म सम्झन्छु- गएको वर्ष मात्रै वरिष्ठ आख्यानकार एवं गायिका पद्मावती सिंहको जङ्कु कार्यक्रम सम्पन्न भएको हो। सिंहलाई बधाईपत्र, दोसल्ला, सल, माला, टीका, फूल वर्षाले विभिन्न १४ वटा साहित्यिक संस्थाहरूका तर्फबाट सामूहिक रूपमा विशेष सम्मान अर्पण गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *