ओली पक्राउविरुद्ध एमाले कोशीको कडा आपत्ति, आन्दोलनमा उत्रिन आह्वान
विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।
कोशी प्रदेश कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा हालै गठित सरकारलाई “अराजनीतिक” भन्दै कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा ओलीलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण कदम भएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कार्यले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने चेतावनीसमेत दिइएको छ।
एमालेका अनुसार भदौ २३ गतेको जेनजी नवयुवाहरूको शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा हाई ज्याक गरी जन निर्वाचित सरकार र संसद विघटन गर्दै गैर संवैधानिक बाटोबाट बनेको सरकारले असंवैधानिक, पूर्वाग्रही र प्रतिशोधपूर्ण आयोग गठन गरेको दाबी गरिएको छ । सोही आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा पार्टी अध्यक्षसहित नेताहरूलाई पक्राउ गर्नु लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनमाथिको “नाङ्गो प्रहार” भएको एमालेको निष्कर्ष छ ।
कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेको विज्ञप्तिमा पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न, प्रतिशोधपूर्ण गतिविधि बन्द गर्न सरकारसँग माग गरिएको छ ।
साथै, पार्टीका नेता–कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई विचलित नभई सरकारको कदमविरुद्ध आन्दोलन र संघर्षमा उत्रिन तयार रहन आह्वान गरिएको छ ।







डिसी नेपाल







Facebook Comment