‘कार्की प्रतिवेदन आफैंमा छानविनको दायरामा छ, ओली र लेखक पक्राउ गरेर वीरता देखाइयो’

डिसी नेपाल
१४ चैत २०८२ ११:५६
468
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउ कानुन अनुसार नभएको प्रतिक्रिया दिएका छन् ।

उनले गौरी बहादुर कार्कीको अनुसन्धान प्रतिवेदन नै छानविनको दायरामा रहिरहेकाबेला हतारमा ओली र लेखक पक्राउ गरिनु कानुन सम्मत नदेखिएको बताएका हुन् ।

‘गौरी बहादुर कार्कीको छानविन प्रतिवेदन नै छानविनको घेरामा छ । त्यसैले हतारिएर, घट्नाको साङ्गोपाङ्गो अनुसन्धान नगरेर, खण्डे अनुसन्धान गरेर कसैलाई पक्राउ गरिनु कानुनी शासनलाई चुनौती हो, मानव अधिकार उल्लंघन हो,’ उनले भने,‘घट्नाको प्रारम्भिक अनुसन्धानबाट को को संलग्न देखियो भनेर खाका बनाउनुपर्ने हुन्छ । खाका बनाइसकेपछि पक्राउ नगरी नहुने किसिमका व्यक्तिको सूची बनाउनुपर्छ । पक्राउ पूर्जी लिने, पक्राउ गर्नैपर्ने व्यक्तिलाई पक्राउ गर्ने हो । हामीले फलानोलाई गिरप्तार गर्यौं भनेर महानता वा विरता दर्शाउने काम होइन । गिरफ्तार आफैंमा गम्भीर र अप्रिय घटना हो त्यसैले यो मानव अधिकारसँग पनि जोडिन्छ । यस्तो अधिकार प्रयोग गर्दा अपवादमा गर्नुपर्ने हो, कोही व्यक्ति छानेर पक्राउ गरिनु गम्भीर विषय हो ।’ उनले नेपाल बारले पक्राउको विषयमा आन्तरिक छलफल थालेको पनि बताए ।

अध्यक्ष मिश्रले यसअघि एक सार्वजनिक कार्यक्रममा दुई तिहाइ बहुमतको सरकारको आडमा न्यायपालिकामाथि हस्तक्षेप गरिए नेपाल बार एसोसिएसनले स्पष्ट रूपमा प्रतिवाद गर्ने चेतावनी दिएका थिए । उनले नयाँ सरकारलाई प्रारम्भमा सकारात्मक दृष्टिकोणबाट हेर्ने तर संविधान र कानुनको शासन विपरीत कदम चालिए कडा रूपमा उभिने बताएका हुन्।

मिश्रले नेपालमा दुई तिहाइ सरकार बनेपछि न्यायपालिकामाथि दबाब पर्ने प्रवृत्ति देखिँदै आएको उल्लेख गर्दै त्यसप्रति सतर्क रहनुपर्ने आवश्यकता औल्याएका थिए ।

मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ओलीलाई शनिबार बिहान भक्तपुरबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *