दुई हप्ताभित्र इरान युद्ध रोक्ने ट्रम्पको घोषणा

डिसी नेपाल
१८ चैत २०८२ ७:०३
3.4k
Shares

वासिंटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र त्यहाँबाट बाहिरिने घोषणा गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर भएको र सम्झौताका लागि ‘भिख मागिरहेको’ दाबी गरे।

गत महिना इजरायलसँगको समन्वयमा सुरु भएको उक्त कारबाहीको मुख्य लक्ष्य इरानको आणविक हतियार प्राप्त गर्ने क्षमतालाई ध्वस्त पार्नु रहेको र त्यो लक्ष्य हासिल भइसकेको उनले बताए।

ट्रम्पका अनुसार अहिले अमेरिकी सेनाले ‘अन्तिम काम’ बाँकी रहेको भन्दै त्यसलाई पूरा गरिरहेको छ।
उनले इरानको आकाशमा अहिले पूर्ण रूपमा अमेरिकाको कब्जा रहेको र इरानी सैन्य शक्ति तथा पूर्वाधारहरू पूर्ण रूपमा नष्ट भइसकेको उल्लेख गरे।

यसैबीच, ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरूलाई समेत कडा चेतावनी दिँदै हर्मुज बाट तेल आपूर्तिका लागि आफैँ लड्न सुझाव दिएका छन्। बेलायत लगायतका देशप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “आफ्नो तेल आफैँ लिन जानुहोस्। अब अमेरिका तपाईंहरूको सहयोगका लागि त्यहाँ हुने छैन। तपाईंहरू पनि हाम्रा लागि हुनुहुन्नथ्यो, अब आफैँ लड्न सिक्नुहोस्।”

इरानमा आन्दोलन हुँदा ट्रम्पले पटकपटक त्यहाँका जनतालाई इरानी सत्ताविरूद्ध संघर्ष गर्न आह्वान गर्दै अमेरिकाले सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

इरानमा हमलापछि पनि उनले त्यहाँका जनतालाई सम्बोधन गर्दै सत्ता हातमा लिन आह्वान नै गरेका थिए।

त्यतिबेला इरानलाई केही दिनमै घुँडा टेकाउने ट्रम्पको दाबी विपरीत युद्ध एक महिनाभन्दा बढी समयसम्म लम्बिएपछि उनले इरानी सत्ता परिवर्तन अमेरिकाको चाहना नभएको बताएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *