कर्णालीमा ३८ हजार बढी एसइईको परीक्षार्थी

डिसी नेपाल
१९ चैत २०८२ ८:१७
8
Shares

सुर्खेत । आजदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षाका लागि कर्णालीका १० वटै जिल्लाका परीक्षा केन्द्रहरूमा परीक्षाका लागि आवश्यक प्रश्न पत्र र उत्तर पुस्तिकाहरू पुर्याइएको र केन्द्राध्यक्षसहित परीक्षामा परिचालन हुने जनशक्तिलाई अभिमुखीकरण लगायतका क्रियाकलापहरू सकिएको शिक्षा विकास निर्देशक दीपा हमालले जानकारी दिइन् ।

कर्णालीका सबै परीक्षा केन्द्रहरूमा आवश्यक सामाग्री र जनशक्ति पुगिसकेको उनले बताइन् । ‘परीक्षालाई मर्यादित बनाउने आवश्यक सबै कामहरू सकिएको छ’ उनले भनिन्, ‘कर्णालीका विभिन्न जिल्लामा परीक्षा दिने तयारीमा रहेका दृष्टिविहीन विद्यार्थीले सहयोगी राख्न पाउने, जेल तथा हिरासतमा रहेकालाई सोही स्थानबाट परीक्षा दिने व्यवस्थासमेत मिलाइएको छ ।’ परीक्षा मर्यादा विपरीतका क्रियाकलाप नियन्त्रणका लागि स्थानीय आवश्यकतालाई हेरी केन्द्राध्यक्षले कारबाही गर्न सक्ने गरी अधिकार दिएको उनको भनाई छ ।

यस वर्ष परीक्षा सकिएपछि एक महिनाभित्र नतिजा प्रकाशन गर्ने गरी उत्तर पुस्तिकाहरू जाँच गर्ने विभिन्न विकल्पमा छलफल भइरहेको शिक्षा निर्देशक हमालले बताइन् । ‘परीक्षा व्यवस्थित, मर्यादित, अनुशासित र विद्यार्थीलाई सहज वातावरणमा परीक्षा दिन सक्ने कसरी बनाउन सकिन्छ भन्ने गृहकार्य भइरहेको छ’ उनले भनिन् । कर्णाली प्रदेशका एक सय ६१ परीक्षा केन्द्रमा ३८ हजार ३७९ जना परीक्षार्थीहरू सहभागी हुँदै छन् । परीक्षाका बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार साधारणतर्फ ३० हजार ५४ जना, प्राविधिक धारतर्फ एक हजार ४०१ जना र ग्रेड वृद्धितर्फ ६ हजार १२४ जना गरी कुल ३ हजार ३७९ परीक्षार्थीहरू सहभागी हुने शिक्षा विकास निर्देशक दीपा हमालले जानकारी दिइन् । कर्णालीमा अघिल्लो वर्षको भन्दा यो वर्ष ६ हजार ६०६ जना विद्यार्थी रहेको बताइन् । अघिल्लो वर्ष कर्णालीबाट ३१ हजार ७७३ जना विद्यार्थीहरू एसइईमा सहभागी भएका थिए ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षसहित लागि कर्णालीमा पाँच हजार ९ जना जनशक्तिहरू परिचालित गरिनेछ । १६१ जना केन्द्राध्यक्ष, २५५ जना सहायक केन्द्राध्यक्ष र एक हजार ९१८ जना निरीक्षकहरू परिचालित हुनेछन् । त्यस्तै तीन सय ८३ जना परीक्षा सहायक, ७६६ जना कार्यालय सहयोगी र दुई हजार ४१८ जना सुरक्षाकर्मीहरू परिचालित हुनेछन् ।

कर्णालीमा एसइईका लागि सबै भन्दा धेरै सुर्खेतबाट नौ हजार ७७९ र सबैभन्दा कम डोल्पाबाट छ सय ७४ विद्यार्थी परीक्षामा सहभागी हुने छन् । एसइईका लागि सुर्खेतमा ३४, दैलेखमा २२, कालिकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुम पश्चिममा १६-१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुम पश्चिमबाट तीन हजार ९२२ र कालिकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । त्यस्तै जुम्लाबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *