रेडपाण्डा संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक : मन्त्री पराजुली
काठमाडौं। कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले रेडपाण्डा संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वयात्मक रणनीति आवश्यक रहेको बताएका छन्।
इलामको सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा आयोजित ‘तेस्रो रेड पाण्डा महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले रेडपाण्डा पाइने क्षेत्रमा चोरी–निकासी रोक्न विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। उनले रेडपाण्डाको वासस्थान, आहारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले भने, ‘रेडपाण्डा जहाँ देखिन्छ, त्यहाँ राज्यले चोरी निकासी हुन नदिन रणनीतिक रुपमा तीनै तहको सरकार लाग्नुपर्छ। यसको वासस्थानदेखि लिएर आहारलाई पनि हामीले संरक्षण गर्नुपर्छ। ९० प्रतिशत चाँही रेडपाण्डाले बाँसहरुलाई खाने गर्दछ। यसको क्षेत्रलाई पनि र बाँच्ने आधारहरुलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा छुट्टै कार्यक्रम गर्ने कुरामा ध्यान दिनुपर्छ।’
उनले रेडपाण्डाले मुख्यतः बाँस खाने भएकाले यसको आहारको स्रोत संरक्षण गर्न पनि उत्तिकै आवश्यक रहेको बताए।
मन्त्री पराजुलीले रेड पाण्डाको संख्या वृद्धि गर्न कोशी प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए। उनले दीर्घकालीन संरक्षणका लागि स्पष्ट रणनीति तयार गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए।
उनले भने, ‘रेडपाण्डाको संख्या बढाउन जरुरी छ। संख्या बढाउन बजेट समेत छुट्याएको छ कोशी सरकारले। रेडपाण्डाको संख्या बढाउनको लागि आवश्यक रणनीति बनाउन जरुरी छ।’
सन्दकपुर गाउँपालिकाको आयोजनामा सुरु महोत्सव चैत २० गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ। दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय पर्यापर्यटनलाई जोड्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको सन्दकपुर गाउपालिकाका अध्यक्ष तुलाराम गुरुङले जानकारी दिए। आयोजक समितिका संयोजक तथा सन्दकपुर २ का वडा अध्यक्ष सनम राईले २०८० सालदेखि रेडपाण्डा महोत्सव आयोजना गरिएको बताए।







डिसी नेपाल







Facebook Comment