राष्ट्रिय जनमोर्चाद्वारा चुनाव र परराष्ट्र नीति विषयमा छलफल
काठमाडौं। काठमाडौंमा राष्ट्रिय जनमोर्चाद्वारा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा हालसालै सम्पन्न चुनाव र नेपालको परराष्ट्र नीतिका विषयमा छलफल गरिएको छ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले चुनावको राजनीतिक प्रक्रिया र त्यसले परराष्ट्र नीतिमा पार्ने प्रभावबारे चर्चा गरेका छन्।
उनले जेनजी आन्दोलन, संसद विघटन, नयाँ चुनाव, एमसीसी सम्झौता र छिमेकी देशहरूसँगको सम्बन्धलाई उठाएका छन्।
सिंहले भने, ‘हाल सम्पन्न चुनावको राजनीतिक प्रकृति विगतका चुनावभन्दा फरक र असाधारण छ। त्यसैले अहिलेको चुनाव र परराष्ट्र नीतिबीचको सम्बन्ध पनि पहिलेभन्दा गम्भीर र विचारणीय बनेको छ। यो सम्बन्ध बुझ्नाले देशको तत्कालीन राजनीति र दीर्घकालीन प्रभावको बारेमा पनि स्पष्ट दृष्टिकोण मिल्छ।’
उनले उक्त चुनाव आवश्यक नभएको भन्दै यसको उद्देश्यबारे प्रश्न उठाए। सिंहका अनुसार, जेनजी आन्दोलनले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै आन्दोलन गरेको थियो। तर यस आन्दोलनलाई केही विदेशी शक्ति, विशेषगरी अमेरिकाले आफ्नो रणनीतिक स्वार्थका लागि हाइज्याक गरेको उनको दाबी छ।
सिंहले अमेरिकाको विश्वव्यापी रणनीतिक अभ्यासको उदाहरण दिँदै भने, ‘नेपालमा संसद विघटन गरी नयाँ चुनाव गराउने प्रक्रिया अमेरिकी रणनीतिक आवश्यकता अनुसार अघि बढाइएको थियो। यसले एमसीसी, इन्डोप्यासिफिक रणनीति र तिब्बतको मुद्दामा नेपालको भूमिलाई प्रयोग गर्ने अवसर दिएको छ।’
उनले भारत र चीनसँगको सम्बन्धलाई पनि समेट्दै भने, ‘नेपाल दुई ठूला छिमेकी देशको बीचमा रहेको भू–राजनीतिक दृष्टिले संवेदनशील राष्ट्र हो। भारतले कालापानी क्षेत्रमा अतिक्रमण र नाकाबन्दी गरेको छ भने चीनले आफ्नो नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई उपेक्षा गरेको छ। यसैले नेपालले आफ्नो राष्ट्रिय हित र सार्वभौमिकता कायम राख्न दुवै देशसँग मैत्रीपूर्ण तर सन्तुलित नीति अपनाउनुपर्ने आवश्यक छ।’
सिंहले अमेरिकी साम्राज्यवादलाई विश्वव्यापी समस्या ठहर गर्दै नेपालमा पनि यसको प्रभाव देखिएको बताए।
उनले राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति कायम राख्न सम्पूर्ण देशभक्त नेपाली नागरिकहरूलाई सचेत रहन आह्वान गरे। उनले भने, ‘नेपालले आफ्नो परराष्ट्र नीतिलाई राष्ट्रहित, सार्वभौमिकता र शान्तिको पक्षमा अघि बढाउनुपर्नेछ। विदेशी हस्तक्षेप, साम्राज्यवाद र युद्धका विरुद्ध स्पष्ट अडान लिनु हामी सबैको जिम्मेवारी हो।’







डिसी नेपाल







Facebook Comment