पश्चिम नेपालमा भारी वर्षा
काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई अहिले पश्चिम नेपालमा भारी वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ भने बाँकी भूभागमा साधरणतया बादल लागेको छ। अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का र कतिपय ठाउँमा भारी वर्षा भइरहेको विभागले जनाएको छ।
विभागका मौसमविद् रोजन लामिछानेले वर्षा दिउँसो बढ्ने र कुनैकुनै ठाउँमा भारीसम्म वर्षा र हिमपात हुने जानकारी दिए। अहिले बिहान १०:०० बजे विभागमा प्राप्त वर्षा मापनअनुसार पछिल्लो तीन घण्टामा चितवनदेखि पश्चिम ६० भन्दा बढी केन्द्रहरूमा वर्षा भएको छ। विभागका अनुसार अछाममा ८.६, सुर्खेतमा ७.६, डडेलधुरामा ५.२, रोल्पामा ८.२, प्युठानमा ५.२, चितवनमा ४.२ मिलीमिटर वर्षा भइसकेको छ।
यस्तै कालीकोट, डोटी, रुकुम, रोल्पा, म्याग्दी बाग्लुङ, दाङ, अर्घाखाँचीलगायतका जिल्लामा पनि हल्का वर्षा भएको छ। वर्षा पूर्वतर्फ सर्ने क्रममा रहेको जनाइएको छ।
विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधरणतया बादल लागेको छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।







डिसी नेपाल







Facebook Comment