सामाजिक सञ्जालको शक्ति: ७८ वर्षका वृद्धले पाए १४ करोडको सहायता

डिसी नेपाल
२६ चैत २०८२ १२:४४
1.1k
Shares

काठमाडौं । हामी प्राय: सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको साधन मान्छौँ, तर कहिलेकाहीँ यही प्लेटफर्म कसैको अन्धकारमय जीवनमा उज्यालो बनेर आउँछ। अमेरिकाको म्यानचेस्टर सहरका ७८ वर्षीय वृद्ध रिचर्ड पुलीको कथा अहिले विश्वभर भाइरल भइरहेको छ।

बुढ्यौलीले छोपेको शरीर र कमजोर स्वास्थ्यका बाबजुद पनि घर-घरमा खाना पुर्‍याउने काम गर्ने रिचर्डको जीवन सामाजिक सञ्जालकै कारण रातारात बदलिएको छ। यो समाचार तयार पार्दासम्म उनले सहयोगी मनहरूबाट करिब १४ करोड नेपाली रुपैयाँ (९ लाख ७० हजार डलर भन्दा बढी) आर्थिक सहायता प्राप्त गरेका छन्।

रिचर्ड र उनकी पत्नी ब्रेडाको विवाह भएको ५६ वर्ष भइसक्यो। अवकाश जीवन बिताउनुपर्ने उमेरमा पनि घर खर्च चलाउन र औषधि उपचारको खर्च जुटाउन उनीहरू काम गर्न बाध्य थिए।

दुई वर्षअघि पत्नीको जागिर छुटेपछि आर्थिक संकट अझ गहिरियो। ब्रेडाले ड्राइभिङको काम गर्थिन् भने रिचर्डले खाना डेलिभरी गर्न थालेका थिए। तर, उनीहरूले कमाएको धेरैजसो पैसा उपचार र औषधिमै सकिन्थ्यो, जसले गर्दा उनीहरूको जीवन निकै कष्टकर बनेको थियो।

रिचर्डको जीवनमा परिवर्तन तब आयो, जब ब्रिटनी स्मिथ नामकी एक महिलाले आफ्नो घरको ढोकामा जडान गरिएको क्यामेरामा रिचर्डलाई खाना डेलिभरी गर्दै गरेको देखिन्।

भिडियोमा रिचर्ड निकै कष्टका साथ बिस्तारै-बिस्तारै सिढी चढिरहेका थिए। उनलाई उभिन पनि हम्मेहम्मे परिरहेको देखिन्थ्यो। यो दृश्यले ब्रिटनीको मन पगाल्यो र उनले उक्त भिडियो टिकटकमा सेयर गर्दै यी वृद्ध दम्पतीलाई सहयोग गर्न अपिल गरिन्।

त्यो भिडियोले इन्टरनेटमा तहल्का मच्चायो। रिचर्डको इमानदारी र संघर्ष देखेर हजारौँ मानिसहरू भावुक भए। ब्रिटनीले अनलाइनमार्फत चन्दा संकलन अभियान सुरु गरिन्। थोरै-थोरै गर्दै संसारभरका मानिसहरूले पैसा पठाउन थाले र केही दिनमै १४ करोड रुपैयाँभन्दा धेरै जम्मा भयो।

यति ठूलो रकम हात पारेपछि अब रिचर्ड र उनकी पत्नीले यो उमेरमा पसिना बगाएर काम गर्नुपर्ने बाध्यता हटेको छ। उनीहरू अब आरामसँग आफ्नो बाँकी जीवन बिताउन सक्छन् र आफ्नो स्वास्थ्यको राम्रो हेरचाह गर्न सक्छन्।

यो घटनाले के पुष्टि गर्छ भने, जब मानिसहरू कुनै असल उद्देश्यका लागि एक हुन्छन्, तब असम्भव देखिने कुरा पनि सम्भव हुन्छ। सामाजिक सञ्जालले केवल मानिसलाई जोड्ने मात्र होइन, मानवीय संवेदनालाई जागृत गराएर कसैको संसार नै बदल्न सक्ने शक्ति राख्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *