लागूऔषध सेवन गरेर समुद्रमा शार्कले मच्चायो उत्पात

डिसी नेपाल
२७ चैत २०८२ १२:३७
416
Shares

काठमाडौं । बहामासको एलेउथेरा टापु नजिकैको गहिरो समुद्री क्षेत्रमा रहेका सार्क माछाहरूको रगतमा पहिलो पटक कोकिन, क्याफिन र विभिन्न पेनकिलर औषधिको अंश फेला परेको छ।

केप एलेउथेरा इन्स्टिच्युटका वैज्ञानिकहरूले गरेको एक अध्ययनका क्रममा ८५ वटा सार्कहरूको परीक्षण गर्दा दुईवटामा कोकिन, २७ वटामा क्याफिन, १३ वटामा डाइक्लोफेनाक र चारवटामा प्यारासिटामोलको सकारात्मक नतिजा देखिएको हो।

यो विश्वमै पहिलो पटक सार्कको शरीरमा क्याफिन र प्यारासिटामोल एकैसाथ फेला परेको घटना हो। शोधकर्ताहरूका अनुसार समुद्रमा खसेका लागुऔषधका प्याकेटहरूलाई सार्कले खानेकुरा ठानेर टोक्दा वा उपभोग गर्दा यी रसायनहरू उनीहरूको शरीरमा प्रवेश गरेको हुन सक्छ।

यस अनुसन्धानले मानवीय उपभोगका लागि बनाइएका नशालु पदार्थ र औषधिहरू अब वन्यजन्तुको पारिस्थितिक प्रणाली भित्र गहिरोसँग छििसकेको पुष्टि गरेको छ। यद्यपि ती सार्कहरूले नशामा परेर कुनै असामान्य व्यवहार गरेको नपाइए पनि उनीहरूको मेटाबोलिज्म मार्करहरूमा भने उल्लेख्य परिवर्तन देखिएको छ।

विशेषगरी ल्याक्टेट र युरियाको मात्रामा देखिएको यो परिवर्तनले सार्कको आन्तरिक स्वास्थ्यमा कस्तो दीर्घकालीन असर पार्छ भन्ने कुरा अझै अनुसन्धानकै क्रममा छ। यो समस्या विशेषगरी पर्यटकहरूको धेरै चहलपहल हुने र जहाजहरूको आवतजावत बढी हुने क्षेत्रमा बढी देखिएको छ।

वैज्ञानिकहरूका अनुसार बढ्दो पर्यटन, जहाजबाट निस्कने ढल र रासायनिक अवशेषहरूले समुद्री वातावरणलाई विषाक्त बनाउँदै लगेका छन्।

यसअघि ब्राजिलको तट नजिकै फेला परेका सार्कहरूको कलेजो र मांसपेशीमा पनि कोकिनको उच्च स्तर भेटिएको थियो, जसको मुख्य कारण ढल निकास र अवैध प्रयोगशालाहरूबाट निस्कने फोहोरलाई मानिएको छ। बहामासको यो पछिल्लो खोजले समुद्री जीवहरूको सुरक्षामा नयाँ चुनौती थपिदिएको छ।

मानवीय लापरबाहीका कारण समुद्रमा पुगेका यस्ता रसायनहरूले सार्क जस्ता महत्वपूर्ण समुद्री जीवहरूको अस्तित्व र समुद्री जैविक विविधतामा पार्न सक्ने नकारात्मक प्रभावप्रति विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *