इस्लामावादमा इरान र अमेरिकाबीच आज वार्ता : विश्वको नजर शान्ति प्रयासमा

डिसी नेपाल
२८ चैत २०८२ ६:५४
496
Shares

इस्लामावाद। विगत केही समयदेखि तनावपूर्ण युद्धको स्थितिमा रहेका इरान र अमेरिकाबीच आज पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु हुँदैछ।

दुई देशबीच भएको दुई हप्ताको अस्थायी युद्धविरामलाई स्थायी शान्तिमा बदल्ने उद्देश्यले आयोजना गरिएको यो वार्तालाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ।

वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। उनीसँगै विशेष दूत स्टिभ विट्कोफ र जारेड कुश्नर पनि इस्लामावाद पुगेका छन्। इरानको तर्फबाट विदेशमन्त्री अब्बास अराघची र संसदका सभामुख मोहम्मद बाघर घालिबाफ सहभागी छन्।

पाकिस्तानी अधिकारीहरूले मध्यस्थकर्ताको भूमिका निभाउँदै दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याएका हुन्। सुरक्षाका कारण यो वार्ता ‘प्रोक्सिमिटी’ ढाँचामा हुने सम्भावना छ, जहाँ पाकिस्तानी अधिकारीहरूले दुई फरक कोठामा रहेका प्रतिनिधिमण्डलहरूबीच सन्देश आदानप्रदान गर्नेछन्।

वार्वाका मुख्य एजेण्डामा दुई हप्ताका लागि गरिएको अस्थायी युद्धविरामलाई स्थायी सन्धिमा परिणत गर्ने रहेकाे छ। यसैगरी स्ट्रेट अफ हर्मुजमा इरानले लगाएको अवरोध हटाउने र तेल आपूर्ति सहज बनाउने विषयमा अमेरिकाले जोड दिएको छ।

इरानले लेबनानमा भइरहेको इजरायली हमला रोकिनुपर्ने सर्त राखेको छ, जसले वार्तालाई केही जटिल बनाएको छ।

इरानले आफूमाथि लागेका आर्थिक प्रतिबन्धहरू हटाउन माग गरेको छ भने अमेरिकाले इरानको आणविक कार्यक्रममा कडाइ चाहेको छ।

वार्तालाई ध्यानमा राख्दै इस्लामावादको ‘रेड जोन’ क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सहरमा सार्वजनिक बिदा घोषणा गरी आवागमनमा कडाइ गरिएको छ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलोपटक यति उच्च तहमा आमने-सामने हुन लागेका यी दुई देशबीचको अविश्वास अझै कायमै छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वार्ताप्रति ‘आशावादी’ रहेको बताए पनि लेबनानमा जारी इजरायली हमला र इरानको कडा अडानले वार्ता कता मोडिने हो भन्ने कुरा अनिश्चित छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यसलाई ‘ऐतिहासिक अवसर’ भन्दै दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। यदि यो वार्ता सफल भएमा यसले मध्यपूर्वको सुरक्षा र विश्वको ऊर्जा बजारमा ठूलो सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *