नर्थ क्यारोलाइनामा दशौँ नेपाल दिवस भव्य रूपमा मनाइने
राले, नर्थ क्यारोलाइना। नर्थ क्यारोलाइनाको आरटीपी क्षेत्रमा बसोबास गर्ने नेपाली मूलका समुदायको प्रतिनिधिमूलक सामुदायिक संस्था, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना एनसीएनसीले आगामी शनिबार, अप्रिल १८, २०२६ का दिन मोरिसभिल, नर्थ क्यारोलाइनामा गौरवमय दशौं नेपाल दिवस मनाउने भएको छ।
संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइए अनुसार मोरिसभिलको सिडार फोर्क डिस्ट्रिक्ट पार्कमा आयोजना गरिने यस कार्यक्रममा परम्परागत नेपाली पोशाकमा सजिएका दुई हजारभन्दा बढी सहभागीहरू पार्कवरिपरि भव्य सांस्कृतिक शोभायात्रामा सहभागी हुने अपेक्षा गरिएको छ।
शोभायात्रापछि नेपाल दिवसको मुख्य समारोह सम्पन्न हुनेछ। यस समारोहमा नर्थ क्यारोलाइना र छिमेकी राज्यका नेपाली मूलका समुदायका अतिरिक्त नर्थ क्यारोलाइना राज्य सरकार, वेक काउन्टी, मोरिसभिल नगरपालिका तथा छिमेकी नगरहरू- केरी, राले, एपेक्स र होली स्प्रिङ्सका जनप्रतिनिधिहरू समेत सहभागी हुने कुरा आयोजकले जनाएका छन्।
एनसीएनसीका अध्यक्ष ददिन पाण्डेका अनुसार दिनभरि चल्ने यस उत्सवमा नेपाली खानपिन, सांस्कृतिक, साहित्य तथा ऐतिहासिक प्रदर्शनी र संगीतमय सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। यो कार्यक्रम सर्वसाधारणका लागि खुला छ।
अध्यक्ष पाण्डेले यो कार्यक्रम प्रवासमा नेपाली संस्कृति देखाउने, संस्कृति जोगाउने र सामुदायिक एकता बढाउने अवसरको रूपमा लिइएकोले सम्पूर्ण नेपाली समुदायलाई सहभागिताको लागि आह्वान गरेका छन्।
एनसीएनसीकी महासचिव डा अन्जु गिरीले एक प्रेस वक्तव्य जारी नेपाली समुदायका सदस्यहरूलाई सांस्कृतिक विविधता झल्किने गरी सकेसम्म आ आफ्नो मौलिक भेषभुषामा सहभागी हुन आह्वान गरेकी छन्। उनले दोस्रो पुस्तालाइ नेपाली संस्कृति चिनाउनको लागि आ-आफ्ना बालबालिकाहरूलाई पनि परेडमा सामेल गराउन अनुरोध गरेकी छन्।
वेक काउन्टी, मोरिसभिल, केरी, होली स्प्रिङ्स र एपेक्स नगरपालिकाहरूले अप्रिलको तेस्रो शनिबारलाई “नेपाल दिवस” को रूपमा घोषणा गर्दै आएका छन्। विगत दश वर्षदेखि काउन्टी र नगर परिषद्का बैठकमा प्रत्येक वर्ष अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसको रूपमा घोषणा गर्ने परम्परा रहिआएको छ।
यस बर्ष पनि अप्रिल ६, २०२६ मा वेक काउन्टी परिषद्को बैठकमा नेपाली समुदायका प्रतिनिधिहरूलाई आमन्त्रित गरी घोषणापत्र (प्रोक्लेमेसन) हस्तान्तरण गरियो। वेक काउन्टीको घोषणापत्रमा वेक काउन्टीमा बसोबास गर्ने नेपाली समुदाय यस क्षेत्रको एसियाली जनसंख्याको एक उल्लेखनीय हिस्सा रहेको र नेपाली समुदायले यहाँको सामाजिक र आर्थिक उन्नतिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख छ।
नेपाली समुदाय आफैमा विविधताले भरिएको समुदाय भएकोले यो समुदायले वेक काउन्टीको सांस्कृतिक विविधतालाई समृद्ध बनाउँदै आएको उल्लेख गर्दै वेक काउन्टी परिषद्का अध्यक्ष डन मेलले एनसीएनसीले स्थानीय समुदायमा सुदृढ सम्बन्ध निर्माण गर्न र नेपाली संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्न ठूलो योगदान गर्दै आएकोमा संस्थाको प्रशंसा गरे।
नेपाल दिवस आयोजक समितिका संयोजक डा. विकास शाक्यले यस वर्षको नेपाल दिवसको तयारी धुमधामका साथ भइरहेको र स्वयंसेवकहरू आ-आफ्नो जिम्मेवारीमा जुटिरहेको बताउँदै यस वर्ष नर्थ क्यारोलाइनामा नेपाल दिवसको एक दशक पूरा भएकोले यो कार्यक्रम विशेष हुने र यसलाई अझ विशेष बनाउन हामी सबैको भूमिका हुने जनाए।
नर्थ क्यारोलाइनामा सरकारी तहबाट नेपाल दिवस घोषणा गरिनु र निरन्तर रुपमा नगर परिषद र काउन्टी परिषदमा घोषणापत्र (प्रोक्लेमेसन) हस्तान्तरण गरिनुलाई नेपाली समुदायप्रतिको सम्मान र पहिचानको प्रतीक हो भन्छन् एनसीएनसीका संस्थापक अध्यक्ष ईश्वर देवकोटा।
नेपाल दिवस सामान्यतः नेपालको आधिकारिक पात्रो, विक्रम सम्वतको नयाँ वर्षको प्रारम्भको समयसँग मेल खान्छ।
एनसीएनसी एक गैरनाफामूलक संस्था हो, जसको उद्देश्य नेपाली संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु र नेपाल तथा नर्थ क्यारोलाइनाका नागरिकहरूबीच सहयोग र सद्भाव कायम गर्नु हो।
सन् १९९९ मा स्थापना भएदेखि नै एनसीएनसीले अन्तर्राष्ट्रिय महोत्सवहरू, रक्तदान कार्यक्रम, Adopt-A-Highway अभियान, नागरिक शिक्षा तथा युवा र किशोरकिशोरीका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै स्थानीय समुदायसँग अटुट सम्बन्ध कायम राख्दै आएको छ।







डिसी नेपाल







Facebook Comment