धेरै नेपाली गीतमा स्वर दिएकी गायिका आशा भोसलेको निधन
काठमाडौं । धेरै नेपाली गीतमा स्वर दिएकी विश्वविख्यात गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि भारतीय संगीत जगतमा साम्राज्य फैलाउन सफल भोसलेको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो।
नेपाली सुगम संगीत र चलचित्र क्षेत्रमा समेत अमेट छाप छोड्नुभएकी भोसलेको निधनले नेपालको कला क्षेत्र पनि मर्माहत भएको छ।
सन् १९६६ मा प्रदर्शनमा आएको पहिलो नेपाली ऐतिहासिक चलचित्र ‘माइतीघर’ मार्फत उनले नेपाली संगीतमा प्रवेश गरेकी थिइन् । सो चलचित्रमा समावेश “यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर” र “गैरी खेतको शिरै हान्यो” जस्ता गीतहरू आज पनि नेपाली जनजिब्रोमा उत्तिकै जीवन्त छन्। उनले नेपाली भाषाका करिब सयभन्दा बढी गीतमा स्वर दिएकी छिन् ।
उनका अविष्मरणीय नेपाली गीतहरू: मोहनी लाग्ला है (चिनो) कुमार सानुसँगको चर्चित युगल गायन, साउने झरीमा, झझल्को लिएर आएछ सावन, किन किन तिम्रो तस्बिर लगायत पनि निकै प्रसिद्ध छन् ।
हिन्दी सिनेमामा मात्र नभई नेपाली, मराठी, बङ्गाली र अन्य थुप्रै भाषाहरूमा गरी उनले १२ हजारभन्दा बढी गीत गाएकी छिन् । सन् २०११ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई संगीतको इतिहासमा सबैभन्दा धेरै रेकर्डिङ गर्ने कलाकारको रूपमा मान्यता दिएको थियो।
आशा भोसले संगीतका सिलसिलामा पटक-पटक नेपाल आएकी थिइन् । उनले नेपाली संगीतकारहरू अम्बर गुरुङ, जयदेव र गायक नारायण गोपालसँगको सहकार्यलाई सधैं गर्वका साथ स्मरण गर्ने गर्थिन् । नेपाली लबजलाई दुरुस्त उतार्न सक्ने उनको खुबीका कारण धेरैले उनलाई ‘नेपाली नै हुन् कि’ भन्ने समेत ठान्थे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका राजनीतिक व्यक्तित्वहरू र विश्वभरका कलाकारहरूले उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि मुम्बईस्थित निवासमा राखिने र भोलि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताइएको छ।







डिसी नेपाल







Facebook Comment