गुल्मीमा रुखमा अड्किएका व्यक्तिको सकुशल उद्धार
गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकामा रुखको हाँगा काट्ने क्रममा लडेर बीचमा अड्किएका एक जनालाई प्रहरीले उद्धार गरेको छ। धुर्कोट-७ वाग्लाको फूलबारीका ३४ वर्षीय मुक्तबहादुर कुमाल आज बिहान आफ्नै घर नजिकै रहेको पीपलको रुखमा चढी हाँगा काट्ने क्रममा अचानक हाँगाले लाग्दा रुखको बीचमा अड्किएका थिए।
रुखमा अड्केर घाइते हुनुभएपछि तल झर्न नसकी करिब ३५ मिटर उचाइमा रहेको रुखको बीच भागमा उनी अड्किएका थिए। घटनाकाबारेमा जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरीचौकी धुर्कोट वस्तुबाट प्रहरी सहायक निरीक्षक झरेन्द्र बस्नेतको नेतृत्वमा तीन जनाको टोली घटनास्थल खटिएको थियो।
घाइतेको थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा छ जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीयवासीको सहयोगमा प्रहरीले रस्सी रुखमा बाँधेर सोही रस्सीको सहायताले रुखमा चढेरे आज दिउँसो घाइते कुमालको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए। उनका अनुसार उद्धारका क्रममा उनी अचेत अवस्थामा थिए।
उद्धारपछि कुमाललाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपुर्याइको छ। उनको कम्मरमा चोट लागेकाले गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment