प्रभावकारी बन्दै बन्दीपुर अस्पतालको ओपिडी सेवा
तनहुँ। तनहुँको बन्दीपुर अस्पतालबाट एक वर्षको अवधिमा २४ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्। अस्पतालले बिहान ७ः०० देखि बेलुकी ८ः०० बजेसम्म सञ्चालन गरेको विस्तारित बहिरङ्ग (ओपिडी) सेवा सञ्चालनपछि यहाँ आउने नागरिकलाई उपचारमा सहज भएको हो।
अस्पतालको वार्षिक प्रतिवेदनअनुसार वैशाखदेखि चैत मसान्तसम्म कुल २४ हजार ३०४ जनाले ओपिडी सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनील गिरीले जानकारी दिए।
वि.सं. २०८२ वैशाख १ गतेदेखि सुरु गरिएको यस सेवाको एक वर्ष पूरा भएका अवसरमा अस्पतालले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कअनुसार नियमित समयभन्दा अतिरिक्त समयमा सेवा लिनेहरूको आकर्षण उल्लेख्य छ।
तीमध्ये ५२ दशमलव ९९ प्रतिशत सेवाग्राहीले नियमित समयमा र ४७ दशमलव शून्य एक प्रतिशतले अतिरिक्त समयमा सेवा लिएका मेडिकल सुपरिटेन्डेन्ट डा गिरीले जानकारी दिए। कार्यालय समयमा भ्याउन नसक्ने कर्मचारी, विद्यार्थी, मजदुर, व्यापारी र गृहिणीहरूका लागि यो सेवा ‘वरदान’ सावित भएको उनले बताए।
उनले भने, “एक वर्षको यो यात्रा हाम्रा लागि निकै उत्साहजनक छ। अस्पतालको ओपिडी सेवालाई बिहान ७ः०० देखि बेलुकी ८ः०० बजेसम्म विस्तार गर्ने हाम्रो लक्ष्य नागरिकको पहुँचमा पुगेको पुष्टि वार्षिक तथ्याङ्कले गरेको छ।”
सेवाग्राहीको चापलाई हेर्दा अब यो सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्ने देखिएको छ। तथ्याङ्कअनुसार असोज र कात्तिक महिनामा अतिरिक्त ओपिडी सेवा लिनेको सङ्ख्या अन्य महिनाको तुलनामा बढी हो। अस्पतालले कार्यालय खुल्ने दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म र दिउँसो २ः०० देखि बेलुकी ८ः०० बजेसम्म तथा सार्वजनिक बिदा र शनिबारका दिन बिहान ७ः०० देखि बेलुकी ८ः०० बजेसम्म सेवा प्रदान गर्दै आएको छ।
आकस्मिक विभागको तथ्याङ्कबाहेकको यो विवरणले स्थानीय तहमा स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउन बन्दीपुर अस्पतालले सुरु गरेको यो अभ्यास जिल्लामै उदाहरणीय बन्दै गएको छ।
विस्तारित ओपिडी सेवाले कार्य व्यस्तताका कारण स्वास्थ्य परीक्षणबाट वञ्चित रहनुपर्ने बाध्यतालाई अन्त्य गर्दै नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।







डिसी नेपाल







Facebook Comment