फेरियो धोबी बजार, बढ्यो चहलपहल

डिसी नेपाल
४ वैशाख २०८३ ९:२०
512
Shares

रामेछाप । गाउँपालिकाको केन्द्र बनेसँगै रामेछापको ऐतिहासिक धोबी बजार बिस्तारै जुरमुराउन लागेको छ ।

रामेछापको साबिकको १ नं निर्वाचन क्षेत्रको केन्द्र मानिने धोबी बजार सडक सञ्जाल विस्तार भए पछि ठप्प भएको थियो । तर लिखु तामाकोसी गाउँपालिकाको केन्द्र बनेपछि सुकेको बजार पुनः गुलजार बन्दै गएको छ ।

सडक विस्तार नहुँदासम्म जिल्लाको उत्तरी क्षेत्रबाट पुरानो सदरमुकाम रामेछाप र पछि स्थापित भएको सदरमुकाम मन्थली आउजाउ गर्ने मानिसहरूको बास बस्ने प्रमुख ठाउँ नै धोबी थियो ।

जिल्लाको सैपु, दुरा गाउँ, भुजी, प्रीति, गुप्तेश्वरदेखि बाम्ती, गुम्देलसम्मका मानिसहरू पहिला यही बाटो प्रयोग गरेर रामेछाप आउने जाने गर्दथे । घरबाट सदरमुकाम रामेछाप हिँडेका मानिसहरू धोबी आएर बास बस्ने र सदरमुकामको काम भ्याउन बिहानै उठेर जाने गर्दथे ।
त्यस्तै रामेछापमा काम सकेर पनि बाटो छोट्याउन रात९साँझ गरेर मानिसहरू धोबी बास बस्न पुग्ने स्थानीय कमलबहादुर खड्का बताउँछन् । त्यस बेला राति अबेरसम्म पनि धोबी डाँडामा दोहारीलत्त मानिसहरू हुने उनले सुनाए ।

जब सदरमुकाम मन्थली सरेपछि खिम्ती किनारबाट ठोसे हुँदै प्रीति, बाम्ती तर्फ जाने बाटो खुल्यो त्यस पछि सो क्षेत्रका मानिसहरू सोही रुट प्रयोग गरेर मन्थली झर्न लागे पछि धोबी बास बस्ने मानिसहरूको सङ्ख्या घट्यो । धोबीबाट सैपु र दुरा गाउँ तर्फ सडक विस्तार भए पछि मानिसहरू रात९साँझ गरेर घरै पुग्न लागे । त्यस पछि धोबी बजार ठप्प भयो ।

अझ २०७२ सालमा आएको विनाशकारी भूकम्पले बजारका पुराना घरहरू भत्काए पछि धोबी बजार उजाड बन्यो ।

तर जब देश संघीयतामा गएपछि लिखु तामाकोसी गाउँपालिकाको केन्द्र धोबी बजारलाई बनाइयो, त्यस पछि मानिसहरूको चहलपहल सुरु भयो । बिस्तारै ठुला ठुला पक्की घर बन्न लागे । बजार क्षेत्रमा सडक पनि पिच भयो । भग्नावशेष जस्तै बनेको धोबी बजारको मुहार अहिले फेरिएको छ ।

बजार घरहरूले भरिएको छ । होटेल पसलमा र बजार क्षेत्रमा मानिसहरूको चहलपहल देखिएको छ । धोबी बजार अहिले पुरै फेरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *