टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

डिसी नेपाल
४ वैशाख २०८३ २२:२९
24
Shares

काठमाडौं। धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट जात्रा सम्पन्न भएको छ। सपनतीर्थ मेलासँगै सुरु भएको उक्त जात्रा आज साँझ लिङ्गो ढलाएसँगै सम्पन्न भएको हो। नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झै यस वर्ष भव्य रूपमा जात्रा लागेको थियो।

वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दुर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले बताए। उनका अनुसार वैशाख २ गते बिहान टोखा नगरपालिका–२ गणेशस्थान थलागटोलमा सिन्दुर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ।

वैशाख ३ गते बिहान ६ः०० बजे माथिल्लो लाछिमा सिन्दुर जात्रा गरेर उठाइएको रथ दिउँसो १ः०० बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ। बिहान ६ः०० बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ। दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ।

सोही दिन साँझ उक्त रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को सानो लाक्षिमा लगेर बिसाउने परम्परा रहिआएको गुथिः टोखाका अध्यक्ष नापितले बताए। उनका अनुसार सोही दिन रातभर गुठियार र विभिन्न खलःहरू बसेर रातभर भजनकीर्तन गर्ने तथा जाग्राम बस्ने चलन छ।

जात्राको अन्तिम दिन आज बिहान ६ः०० बजे सानोलाक्षीबाट सिन्दुर जात्रा गरी दिउँसो १ः०० बजे वडा नं २ मा रहेको गछेटोलमा लगेर रथ बिसाइन्छ। उक्त स्थानमा बिसाइएको रथलाई विधिसहित सरकारी पूजाका साथै सिन्दुर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन रहेको उनले जानकारी दिए। यससँगै टोखाको ऐतिहासिक चारदिने विस्केट जात्रा आज सम्पन्न भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *