सवारी दुर्घटनामा परी एकको मृत्यु, छ जना घाइते

डिसी नेपाल
८ वैशाख २०८३ २०:१३

झापा। कनकाई नगरपालिका–३ नयाँबस्तीमा आज दिउँसो भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–३ की ६८ वर्षीया मन्जुधरी ढकाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१–००१ ह८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना हुँदा ढकालसहित सात जना घाइते भएका थिए।

घाइते सबैलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएकोमा ढकालको अपराह्न ४ः३५ बजे मृत्यु भएको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। घाइते हुनेहरूमा हल्दिवारी–३ का ५७ वर्षीय जीवन ढकाल, ५० वर्षीया हरिमाया ढकाल, ३५ वर्षीया भिमा ढकाल र १३ वर्षीय रोजन ढकाल रहेका छन्।

यस्तै, अटोमै सवार १३ वर्षीय प्रदीप नेपाल र मोरङ मिक्लाजुङ–६ का ३७ वर्षीय मोटरसाइकल चालक चन्द्रबहादुर खत्री घाइते भएका छन्।

चालक र सवारी नियन्त्रणमा इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले अटो, मोटरसाइकल र अटो चालक हल्दिवारी–३ बस्ने ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *