मालीमा भीषण आतंकवादी आक्रमण, राजधानी तनावग्रस्त
काठमाडाैं। पश्चिम अफ्रिकी राष्ट्र मालीको राजधानी बामाकोसहित देशका विभिन्न प्रमुख सहरहरूमा शनिबार निकै भीषण र समन्वयात्मक आतंककारी आक्रमण भएको छ। राजधानी बामाको र यसको बाहिरी इलाकामा पर्ने प्रमुख सैन्य शिविर काटीलाई लक्षित गरी भएका यी आक्रमणहरूलाई पछिल्लो समयकै सबैभन्दा ठूलो सुरक्षा चुनौतीका रूपमा हेरिएको छ।
आक्रमणका क्रममा मालीका रक्षामन्त्री जनरल सादियो कामाराको काटीस्थित निजी निवासमा शक्तिशाली विस्फोट गराइएको छ, जसबाट घरमा ठूलो क्षति पुगेको छ। यद्यपि, आक्रमणका बेला उनी घरमा नरहेको र सुरक्षित रहेको सुरक्षा स्रोतले जनाएको छ।
विद्रोही समूहहरूले शनिबार बिहानैदेखि राजधानी बामाको, काटी सैन्य शिविर, सेभारे र गाओ लगायतका क्षेत्रहरूमा एकसाथ आक्रमण गरेका थिए। अल-कायदा निकट मानिने ‘जामात नुसरत अल-इस्लाम वाल-मुस्लिमिन’ (जेएनआईएम) समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ भने अजावाद लिबरेसन फ्रन्ट (एफएलए) सँग मिलेर यो ‘कोअर्डिनेटेड’ हमला गरेको पुष्टि गरेको छ।
आक्रमणकारीहरूले सैन्य शिविर, विमानस्थल र उच्च सरकारी अधिकारीहरूको निवासलाई मुख्य निसानामा पारेका थिए। राजधानीको मोडाइबो केइटा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भारी हातहतियार र स्वचालित राइफलको प्रयोगसहित भीषण गोलीबारी भएको थियो, जसका कारण जनजीवन आतङ्कित बनेको छ।
मालीको सैन्य सरकारले आक्रमणपछि स्थितिलाई आफ्नो नियन्त्रणमा लिइसकेको दाबी गरेको छ र आतङ्ककारी समूहहरूलाई निस्तेज पार्ने अभियान जारी रहेको जनाएको छ। आक्रमणकारीहरूले देशको नेतृत्व गरिरहेका जनरल असिमी गोइताको निवासलाई समेत लक्षित गरेको पाइएको छ।
सरकारले परिस्थिति सामान्य बनाउने प्रयास गरिरहे पनि काटी र बामाकोका केही भागहरूमा अझै पनि सुरक्षा सतर्कता उच्च राखिएको छ। विद्रोही समूहको यस स्तरको समन्वयात्मक हमलाले मालीमा जारी लामो समयदेखिको सुरक्षा संकटलाई झनै गहिरो बनाएको छ। अन्तर्राष्ट्रिय समुदायले समेत यस हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मालीको सुरक्षा र स्थायित्वका लागि सहयोगको प्रतिबद्धता दोहोर्याएका छन्।







डिसी नेपाल







Facebook Comment