भुम्लुका २३५ किसानलाई अनुदानमा मिनीटिलर

डिसी नेपाल
१५ वैशाख २०८३ १९:२२

धुलिखेल (काभ्रेपलाञ्चोक) । यहाँको भुम्लु गाउँपालिकाका किसानलाई अनुदानमा मिनीटिलर वितरण गरिएको छ। कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धा बनाई उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यसहित कृषि यान्त्रिकीकरणमा जोड दिन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनीटिलर वितरण गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले किसानका मागका आधारमा दुई सय ३५ वटा मिनीटिलर वितरण गरिएको जानकारी दिए। कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गरी थोरै लगानीमा बढी प्रतिफल लिन सक्नेगरी गाउँपालिकाले अघि सारेको नीति कार्यक्रमअनुसार उपकरण वितरण गरिएको उनले बताए।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले यस कार्यले किसानलाई कृषिकर्म लाग्न उत्प्रेरित गर्दै उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। आगामी दिनमा अन्य कृषि औजार पनि वितरण गर्ने योजना रहेको उनले बताए।

परम्परागत रूपमा खेती गर्दै आएका किसान अनुदानमा उपकरण पाएपछि खुसी भएका छन्। भुम्लु गाउँपालिका–९ का किसान भोलानाथ पराजुली यसअघि अरुको सहयोगमा खेती गर्दै आएकामा अब मिनीटिलर पाएपछि सहज हुने बताए।

सोही वडाका भिमानन्द पराजुलीले मिनीटिलरबाट खेती गर्न सहज हुने र उत्पादन वृद्धिमा पनि सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *