सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

डिसी नेपाल
१६ वैशाख २०८३ २१:३२

काठमाडौं। नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा आज वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा पछिल्लो १२ घण्टामै १०४.४ मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो। २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भएमा धेरै भारी वर्षामा गणना गर्ने गरिएको छ।

आजै अन्य विभिन्न जिल्लामा भारी वर्षा भएको छ। विभागमा अभिलेख भएअनुसार कास्कीमा ८०, म्याग्दीमा ७८, तनहुँमा ७०, कपिलवस्तुमा ५०.८, चितवनमा ५४.६, सङ्खुवासभामा ५१.४ मिलिमिटर वर्षा भएको छ। यो भारी वर्षा हो। अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको छ।

हाल देशभर अधिकांश बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित मध्यमसम्मको वर्षा अहिले पनि जारी छ।

भोलि पनि बदली कायम रहने तर विस्तारै कम हुँदै जाने बताइएको छ। बिहीबार देशभर साधारणतया बादल लाग्ने कोशी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागका मौसमविद् सञ्जिल अधिकारीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *