नेपाल एयरलाइन्सको फेसबुक पोस्टमा कूटनीतिक त्रुटि: माफी माग्दै विवादित नक्सा हटाइयो
काठमाडाैं। नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा राखेको नक्सामा भारतीय भूभागलाई पाकिस्तानको क्षेत्रमा देखाएपछि उत्पन्न विवाद र आलोचनाका कारण माफी माग्दै उक्त सामग्री हटाएको छ।
एयरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत एउटा प्रवर्धनात्मक सामग्री पोस्ट गर्ने क्रममा प्रयोग गरिएको नक्सामा गम्भीर प्राविधिक त्रुटि देखिएको थियो। उक्त नक्सामा जम्मु र कश्मीर लगायतका भारतीय भूभागहरूलाई पाकिस्तानको नक्साभित्र समेटिएको देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको कडा विरोध गरेका थिए।
दुई छिमेकी मुलुकबीचको संवेदनशील सीमा र भू-राजनीतिक विषयमा राष्ट्रिय ध्वजावाहकले यस्तो असावधानी देखाएको भन्दै धेरैले यसलाई गम्भीर लापरवाहीका रूपमा टिप्पणी गरेका थिए।
विवाद बढ्दै गएपछि नेपाल वायुसेवा निगमले तुरुन्तै उक्त पोस्ट हटाएर सार्वजनिक रूपमा माफी मागेको छ। निगमले एक स्पष्टीकरण जारी गर्दै उक्त त्रुटि अन्जानमा भएको र यसले कसैको क्षेत्रीय अखण्डता वा भावनामा चोट पुर्याउने मनसाय नराखेको प्रस्ट पारेको छ।
ग्राफिक्स डिजाइन र सामग्री छनोटका क्रममा प्राविधिक कमजोरीका कारण यस्तो गलत नक्सा पर्न गएको भन्दै निगमले भविष्यमा यस्ता सामग्रीहरू प्रकाशन गर्दा उच्च सतर्कता अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
यो घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको साख र कूटनीतिक संवेदनशीलतामा समेत प्रश्न उठाएको भन्दै निगमभित्र यस्ता सामग्रीको गुणस्तर जाँच गर्ने संयन्त्रमाथि सुधार गर्नुपर्ने आवाज उठेको छ।








डिसी नेपाल







Facebook Comment