होस्टेलमा बिताएको बाल्यकाल सम्झेर भावुक बनिन् साम्राज्ञी
काठमाडौं। आउँदो शुक्रबारबाट साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा स्टारर चलचित्र ‘रातो टीका निधारमा’ प्रदर्शनमा आउँदैछ। रिलिज मिति नजिकिँदै जाँदा चलचित्रको प्रचारप्रसारलाई पनि तिव्र बनाइएको छ।
यसैबीच सोमबार नव–अभिनेता अंकित शर्मा काभ्रेको पनौतीस्थित आफूले अध्ययन गरेको मल्पी इन्टरनेशनल स्कुलको भ्रमण गरेका छन्।

उनले त्यहाँ कक्षा १० सम्मको अध्ययन गरेका थिए। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, निर्देशक अशोक शर्मा, कलाकार रविन्द्र झा, बुद्धि तामाङ सहित स्कूल पुगेका अंकितले विद्यार्थीसंग अन्तक्रियासंगै १० कक्षासम्मको अध्ययनको क्रममा आफूले भोगेका अनुभव सुनाएका थिए।
अभिनेत्री साम्राज्ञीले होस्टेलमा विताएको बाल्यकाल सम्झेर केही भावुक भएकी थिइन् । ‘होस्टेल जीवनमा सबैभन्दा बढी फ्यामिली मिस गर्दथेँ । बाल्यकाल उहाँहरुसँगै वितोस् भन्ने चाहना हुन्थ्यो। तर, पनि होस्टेलका साथीहरुलाई हेरेर चित्त बुझाउथे। उहाँहरुले साथले कहिलेकाहीँ परिवार नै बिर्साइदिन्थ्यो ।’ उनले भावुक स्वरमा बाल्यकालको होस्टेल जीवन स्मरण गरिन् ।

अभिनेताद्वय बुद्दि र रविन्द्रले दशैँको अवसरमा स–परिवार मिलेर ‘रातो टिका निधारमा’ हेरिदिन आग्रह गरे । निर्देशक अशोकले यसपटक सम्पूर्ण नेपालीको मन छुने कथा पस्केको र सबै नेपालीले हलसम्म पुगेर मनोरञ्जन लिने कुरामा आशा व्यक्त गरे।
सामाजिक कथामा निर्माण गरिएको चलचित्रमा साम्राज्ञी, अंकित, रविन्द्र, बुद्धिका अलावा नीता ढुंगाना, खुश्बु खड्का, बसुन्धरा भुषाल, शिवहरी पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, कमला रेग्मीलगायतको अभिनय छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment