पासपोर्ट डीसी २०२६ मा नेपाली दूतावासको सहभागिता
वाशिङ्टन । वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले कार्यवाहक राजदूत शरद राज अरनको नेतृत्वमा मे २, २०२६ मा आयोजित पासपोर्ट डीसी–अराउन्ड द वर्ल्ड एम्बेसी टुर कार्यक्रममा सहभागिता जनाएको छ।
दूतावासले समारोहका लागि आफ्नो परिसर सर्वसाधारणका लागि खुला गर्दै आगन्तुकहरूलाई नेपालका सांस्कृतिक सम्पदा, परम्परागत कला, संगीत, नृत्य तथा नेपाली भोजनको प्रत्यक्ष अनुभव प्रदान गरेको थियो।
कार्यक्रममा सैन्य तथा रक्षा सहचारी ब्रिगेडियर जनरल पूर्ण प्रसाद ढकाल, राजनीतिक काउन्सेलर अरुणा घिसिङ तथा दूतावासका सम्पूर्ण कूटनीतिक र स्थानीय कर्मचारी उपस्थित रहेका थिए। उनीहरूले आगन्तुकहरूलाई स्वागत गर्दै नेपालबारे जानकारी प्रदान गरेका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिले आतिथ्यलाई प्रभावित बनाएको थियो।
दूतावासले विभिन्न राजवंशका ऐतिहासिक सामग्री, परम्परागत हस्तकला, प्रतीकात्मक कलाकृति तथा नेपालको पहिचान झल्काउने सांस्कृतिक प्रदर्शनीहरू प्रस्तुत गरेको थियो।
नेपाली संगीत र नृत्यका प्रत्यक्ष प्रस्तुति तथा नेपाली भोजनको स्वादले आगन्तुकहरूलाई नेपाल नजिकबाट चिनेको अनुभूति गराएको थियो। गतिविधिहरूले नेपालले लक्ष्य राखेको सांस्कृतिक कूटनीति, जनस्तरमै मित्रता विस्तार तथा अन्तर्राष्ट्रिय समुदायमा नेपालको दृश्यता वृद्धि गर्ने उद्देश्यलाई मजबुत बनाउने दुतावसको विश्वास छ।
पासपोर्ट डीसी वाशिङ्टन, डीसीको अन्तर्राष्ट्रिय कूटनीतिक समुदायलाई समर्पित मे महिनाभरि चल्ने सांस्कृतिक कार्यक्रम हो। २००७ मा युरोपेली संघका दूतावासहरूले सुरु गरेको यो कार्यक्रम २००८ देखि विश्वभरका दूतावासहरूको सहभागितासहित विस्तार भएको हो। हाल इभेन्ट्स डीसी द्वारा समन्वयित यो कार्यक्रम २०२६ मा आफ्नो १९औँ वर्षमा प्रवेश गरेको छ।
यस वर्षका प्रमुख आकर्षणहरूमा अराउन्ड द वर्ल्ड एम्बेसी टुर (मे २), युरोपेली संघ खुला घर (मे १०) र फिएस्टा एसिया (मे १७) रहेका थिए। आगन्तुकहरूले प्रत्येक दूतावासमा प्रवेश गर्दा स्मारिका “पासपोर्ट” मा स्टाम्प सङ्कलन गर्दै कार्यक्रमलाई अझै रोचक र शैक्षिक बनाएका थिए।
नेपाली दूतावास २००७ देखि निरन्तर रूपमा पासपोर्ट डीसीमा सहभागी हुँदै आएको छ, र हरेक वर्ष नेपालका संस्कृति, परम्परा, कला र पहिचानलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्दै आएको छ।
दूतावासको यो निरन्तर सहभागिता नेपालले सांस्कृतिक आदान–प्रदान, सार्वजनिक कूटनीति, तथा संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय समुदायसँग जनस्तरमै सम्बन्ध सुदृढ गर्ने दीर्घकालीन प्रतिबद्धताको स्पष्ट अभिव्यक्ति रहेको बताइएको छ।







डिसी नेपाल







Facebook Comment