पश्चिम बंगालमा चल्यो मोदीको जादू

डिसी नेपाल
२१ वैशाख २०८३ १०:२८

काठमाडौं । भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा गत महिना सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज बिहानैदेखि सुरु भएको छ।

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भारतीय जनता पार्टी (भाजपा) ले सत्तारुढ तृणमूल कांग्रेस (टीएमसी) लाई पछाडि पार्दै अग्रता लिएको देखिएको छ। पछिल्लो रूझानका अनुसार टीएमसी १०४ सिटमा र भाजपा १५२ सिटमा अगाडि बढिरहेका छन्।

उता असममा भारतीय जनता पार्टी (भाजपा) कांग्रेसभन्दा निकै अगाडि देखिएको छ। रुझान अनुसार भाजपा ६६ र कांग्रेस २० सिटमा अगाडि छन्। तमिलनाडुमा मुख्यमन्त्री एम.के. स्टालिनको नेतृत्वमा रहेको डीएमके ८७ सिटमा अगाडि छ भने विपक्षी एआईएडीएमके ३७ सिटमा सीमित देखिएको छ। अभिनेता विजयको नयाँ पार्टी टिभीकेले २१ सिटमा अग्रता बनाएर आफ्नो उपस्थिति बलियो देखाएको छ।

केरलामा भने कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ५० सिटमा र सत्तारुढ लेफ्ट डेमोक्रेटिक फ्रन्ट (एलडीएफ) ३९ सिटमा अगाडि रहेका छन्। असम, केरला र पुडुचेरीमा अप्रिल ९ तारिखमा एकै चरणमा मतदान भएको थियो भने तमिलनाडुमा अप्रिल २३ मा मतदान सम्पन्न भएको थियो। पश्चिम बंगालमा भने अप्रिल २३ र २९ गरी दुई चरणमा मतदान गरिएको थियो।

पश्चिम बंगालको नतिजालाई लिएर सबैको विशेष चासो छ, किनभने अधिकांश एक्जिट पोलहरूले यहाँ सत्तारुढ टीएमसी र भाजपाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका थिए। असम र पुडुचेरीमा भाजपाको पुनरागमन हुने धेरैको आँकलन छ भने केरला र तमिलनाडुमा यूडीएफ र डीएमकेको सरकार बन्ने सम्भावना देखिएको छ।

पश्चिम बंगालमा मतगणना जारी रहँदा टीएमसी र भाजपाबीच आरोप-प्रत्यारोपको क्रम पनि सुरु भएको छ। टीएमसीकी नेत्री शशि पाञ्जाले आफ्ना एजेन्टहरूलाई मतगणना केन्द्रमा प्रवेश गर्न रोक लगाइएको र निकै संघर्षपछि मात्र उनीहरू भित्र जान पाएको आरोप लगाइन्। यसअघि मुख्यमन्त्री ममता बनर्जीले भाजपाले सीसीटीभी क्यामेरामा अवरोध पुर्‍याउन र धाँधली गर्न नियतवश धेरै क्षेत्रमा बिजुली काट्न लगाएको आरोप लगाएकी थिइन् ।

ममता बनर्जीको आरोपको जवाफ दिँदै भाजपा नेता समिक भट्टाचार्यले ‘दिदी’ थाकेको र उनले अब आराम गर्नुपर्ने टिप्पणी गरे। उनले भने, “केही घण्टामा सिटको भारी बहुमतले स्पष्ट पार्नेछ कि ममता बनर्जी र जनताको लडाइँमा जनताले उनलाई अस्वीकार गरिसकेका छन्।”

पश्चिम बंगाल विधानसभाका २९४ मध्ये २९३ सिटको नतिजा सोमबार आउनेछ, किनभने फाल्टा सिटमा निर्वाचन आयोगले पुन: मतदान गराउने निर्णय गरेको छ। फाल्टा विधानसभाको २८५ मतदान केन्द्रमा मे २१ मा मतदान हुनेछ र त्यसको नतिजा मे २४ मा आउनेछ।

राज्यमा बहुमतका लागि १४८ सिट आवश्यक पर्दछ। टीएमसी विगत १५ वर्षदेखि सत्तामा छ भने भाजपा यसपटक सत्ता परिवर्तन गर्ने दाउमा छ। यसपटकको निर्वाचन मतदाता नामावलीको विशेष परिमार्जनका कारण पनि चर्चामा रह्यो, जसमा करिब ९१ लाख मतदाताको नाम हटाइएको थियो।

असमको १२६ सिटमा बहुमतका लागि ६४ सिट आवश्यक छ। मुख्यमन्त्री हिमन्त बिस्वा सरमाले लगातार तेस्रो पटक भाजपाको जित हुने दाबी गर्नुभएको छ भने कांग्रेसले सत्तामा फर्किने आशा राखेको छ। केरलाको १४० सिटमा विगत १० वर्षदेखि वामपन्थी मोर्चा सत्तामा छ। यसपटक त्यहाँ एलडीएफ, यूडीएफ र भाजपा नेतृत्वको एनडीएबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ।

तमिलनाडुको २३४ सिटमा बहुमतका लागि ११८ सिट चाहिन्छ। यहाँ यसपटक अभिनेता विजयको टिभीके पार्टीले तेस्रो शक्तिको रूपमा बलियो प्रभाव जमाएको छ। त्यस्तै, ३० सिट रहेको पुडुचेरीमा बहुमतका लागि १६ सिट आवश्यक छ, जहाँ भाजपा नेतृत्वको गठबन्धन नै सत्तामा फर्किने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *