अमेरिकी सेना परिचालन गर्ने ट्रम्पको घोषणाले इरान आक्रोशित
काठमाडौं। विश्वकै सामरिक र व्यापारिक दृष्टिले अति महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ जलमार्गमा संयुक्त राज्य अमेरिका र इरानबीच फेरि तनाव चुलिएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त जलमार्गमा फसेका पानीजहाजहरूलाई बाहिर निकाल्न “प्रोजेक्ट फ्रीडम” नामक सैन्य अभियान सुरु गर्ने घोषणा गरेपछि इरानले कडा प्रतिकारको चेतावनी दिएको हो। ट्रम्पले मानवीय आधारमा खाद्यान्न अभाव झेलिरहेका जहाजहरूलाई सघाउन सोमवारदेखि अमेरिकी सेना परिचालन हुने बताएका थिए।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त क्षेत्रमा करिब १५ हजार सैनिक, १०० विमान र अत्याधुनिक क्षेप्यास्त्रसहितका युद्धपोतहरू परिचालन गरिने उल्लेख गरेका छन्।
इरान र इजरेलबीचको द्वन्द्वका कारण केही महिनादेखि होर्मुज जलमार्गमा २ हजारभन्दा बढी जहाज र झन्डै २० हजार यात्रुहरू अलपत्र परेका छन्। ट्रम्पले इरान र मध्यपूर्वको भलाइका लागि यो अभियान आवश्यक रहेको बताए पनि इरानले भने यसलाई आफ्नो सार्वभौमसत्तामाथिको हस्तक्षेप र युद्धविरामको उल्लङ्घन ठानेको छ।
इरानी सेनाले होर्मुज जलमार्ग आफ्नो पूर्ण नियन्त्रणमा रहेको दाबी गर्दै त्यहाँ प्रवेश गर्न खोज्ने अमेरिकी वा अन्य कुनै पनि विदेशी सेनामाथि तत्काल आक्रमण गर्ने चेतावनी दिएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले इरान यस क्षेत्रको “अभिभावक” भएको बताउँदै कुनै पनि शिपिङ कम्पनीले सुरक्षाका लागि इरानसँगै समन्वय गर्नुपर्ने स्पष्ट पारेका छन्। आईआरजीसी ले त उक्त जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेका नयाँ क्षेत्रहरूको नक्सा नै सार्वजनिक गरेर अमेरिकी सेनालाई चुनौती दिएको छ।
यसैबीच, दुई देशबीचको यो बढ्दो तनावलाई कम गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको छ। इरानले पाकिस्तानमार्फत अमेरिकालाई १४ बुँदे योजना पठाउँदै इरानी सीमानजिकबाट सैनिक हटाउन र बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्न माग गरेको छ।
ट्रम्पले यसबारे सकारात्मक छलफल भइरहेको बताए पनि इजरेली सञ्चारमाध्यमहरूले भने उनले इरानी योजनालाई अस्वीकार गरेको दाबी गरेका छन्। यदि अमेरिकी जलसेना उक्त क्षेत्रमा प्रवेश गरेमा पछिल्लो समय कायम रहेको युद्धविराम पूर्ण रूपमा अन्त्य भई मध्यपूर्वमा फेरि ठूलो सैन्य भिडन्त हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।







डिसी नेपाल







Facebook Comment