सुनको मूल्यमा भारी गिरावट: एकैदिन ३८ सयले घट्यो, चाँदी पनि सस्तियो

डिसी नेपाल
२२ वैशाख २०८३ ११:२०

काठमाडाैं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ।

यो गिरावटसँगै छापावाल सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो तीन दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको छ। गत आइतबार तोलामा १ हजार र सोमबार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज मंगलबार थप ३ हजार ८ सयले घटेको हो। यसरी हेर्दा तीन दिनको छोटो अवधिमै सुनको मूल्यमा कुल ५ हजार १ सय रुपैयाँको गिरावट आइसकेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ। महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १ सय ५० रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँमा झरेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा किनबेच भएको थियो।

यसअघि गत माघ १८ गते चाँदीको मूल्यमा एकैदिन १५ सय ६५ रुपैयाँको गिरावट आएको थियो, जुन नेपाली बजारको इतिहासमै चाँदीको मूल्यमा आएको सबैभन्दा ठूलो गिरावट हो।

नेपाली सुनचाँदी बजारमा गत माघ महिना ऐतिहासिक उतारचढावको साक्षी बनेको थियो। माघ १५ गते एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले वृद्धि भई सुनको मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च विन्दु हो।

सोही दिन चाँदीको मूल्य पनि हालसम्मकै महँगो अर्थात् ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *