साउनदेखि नागढुंगा-सिस्नेखोला सुरुङमार्ग व्यावसायिक रूपमा सञ्चालन हुने, तयारी अन्तिम चरणमा
काठमाडाैं। नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गका रूपमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
आयोजनाको हालको प्रगति र सञ्चालन कार्ययोजनाबारे जानकारी दिँदै आयोजना प्रमुख सौजन्य नेपालले आगामी जेठ अन्तिमसम्ममा प्राविधिक परीक्षण (ट्रायल) सम्पन्न गर्ने र साउनदेखि नियमित सवारी आवागमन खुल्ला गर्ने लक्ष्य रहेको बताए।
सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा आयोजनाको यो पछिल्लो अवस्था सार्वजनिक भएको हो।
सुरुङमार्ग निर्माणको काम करिब ९९ प्रतिशत सम्पन्न भइसकेको छ भने वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ। आयोजना प्रमुख नेपालका अनुसार गत वर्षको मनसुनमा पश्चिम खण्डमा गएको पहिरोले टोल बुथ लगायतका संरचनामा क्षति पुर्याएका कारण सञ्चालनमा केही ढिलाइ भएको थियो।
यसका अतिरिक्त कानुनी प्रक्रिया, सञ्चालनको मोडालिटीमा भएको परिवर्तन र प्रशासनिक निर्णयहरूले पनि केही समय लिएको परामर्शदाता प्रमुख रमेश कोइरालाले स्पष्ट पारे। सुरुमा सडक विभाग आफैँले सञ्चालन गर्ने भनिए पनि पछि मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रतिस्पर्धाबाट सेवाप्रदायक छनोट गर्ने प्रक्रिया अघि बढाइएको थियो।
सुरुङमार्गको व्यवस्थापन र सञ्चालनका लागि चीनको युसिन-एआरटी (संयुक्त) कम्पनीसँग पाँच वर्षका लागि सम्झौता भइसकेको छ। यो सुरुङमार्ग सञ्चालन गर्न करिब १५० जना प्राविधिक तथा प्रशासनिक जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ।
निर्माण कम्पनीले अब छिट्टै आयोजना औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। यो मार्ग सञ्चालनमा आएपछि काठमाडौँको प्रवेशद्वारमा हुने सवारी जाम कम हुने र यात्राको समय तथा इन्धन खर्चमा समेत ठूलो बचत हुने अपेक्षा गरिएको छ।







डिसी नेपाल







Facebook Comment