कम्युनिष्ट पार्टीमा आत्मसमीक्षा जरुरी छ, जनतामुखी पुनर्गठनतर्फ अघि बढ्नुपर्छ : प्रेमल कुमार खनाल

हामीले निर्वाचनमा किन अपेक्षाअनुसार सफलता हासिल गर्न सकेनौं, किन जनताको विश्वास पूर्ण रूपमा जित्न सकेनौं भन्ने विषयमा गम्भीर रूपमा छलफल गरिरहेका छौं । समीक्षा केवल केन्द्रीय तहमा मात्र होइन, गाउँ, जिल्ला र प्रदेश तहसम्मबाट भइरहेको छ ।

डिसी नेपाल
२३ वैशाख २०८३ ८:३६

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता प्रेमल कुमार खनालले पछिल्लो निर्वाचनपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा र पुनर्संरचनाको प्रक्रिया अघि बढाइएको बताएका छन् ।  उनले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्दै जनतामुखी, परिणाममुखी र विचार–केन्द्रित बनाउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।

खनालका अनुसार निर्वाचन सम्पन्न भइसकेपछि पार्टीभित्र व्यापक रूपमा समीक्षा गर्ने अभियान सञ्चालन गरिएको छ। उनले भने,‘हामीले निर्वाचनमा किन अपेक्षाअनुसार सफलता हासिल गर्न सकेनौं, किन जनताको विश्वास पूर्ण रूपमा जित्न सकेनौं भन्ने विषयमा गम्भीर रूपमा छलफल गरिरहेका छौं । समीक्षा केवल केन्द्रीय तहमा मात्र होइन, गाउँ, जिल्ला र प्रदेश तहसम्मबाट भइरहेको छ।’

उनले यस प्रक्रियाले पार्टीका कमजोरी, चुनौती र सम्भावनालाई स्पष्ट रूपमा देखाएको बताए। उनले हालै पार्टीको केन्द्रीय कार्य समन्वय समिति गठन गरिएको जानकारी दिँदै सो समितिले पार्टीको भावी कार्यदिशा, संगठन निर्माणको ढाँचा र रणनीतिक योजना तयार पार्ने काम गरिरहेको बताए।

‘हामी अब पुरानो ढाँचामा सीमित रहने होइन, नयाँ सोच, नयाँ शैली र नयाँ कार्ययोजनासहित अघि बढ्न चाहिरहेका छौं,’ उनले भने । खनालले पार्टीको संगठन विस्तार भएपनि विचार, दृष्टिकोण र कार्यक्रम प्रभावकारी रूपमा जनतामाझ पुग्न नसकेको स्वीकार गरे । उनका अनुसार पार्टीभित्र कार्यशैलीमा कमजोरी देखिएको छ र त्यसले जनतासँगको सम्बन्ध कमजोर बनाएको छ।

उनले विशेषगरी किसान, सुकुम्बासी, श्रमिक, सहकारी पीडित र युवाका मुद्दामा पार्टीले अपेक्षाअनुसार नेतृत्व गर्न नसकेको बताए । उनले भने,‘हाम्रा विचारहरु सोचहरु दृष्टिकोणहरुलाई अझै पनि हामीले मौखिक गर्न सकिरहेका रहेनछौं । आज हाम्रो कार्यशैलीहरु पनि बिस्तारैे कमजोर भइरहेका रहेछन् । जनताबाट पनि थोरै टाढिएछौं । किसान, सुकुम्बासी, सहकारी पीडितका समस्या छन्। उखु किसानहरु सिराहा र सर्लाहीबाट पैदल हिडेर काठमाडौँ आउने गर्छन् । त्यहाँ कम्युनिस्ट पार्टीले अगुवाई गर्न सकिरहेको छैन।’

उनका अनुसार भूमिहीन र सुकुम्बासीका समस्या पनि दीर्घकालीन रूपमा समाधान गर्न पार्टीले ठोस पहल गर्न सकेको छैन।
खनालले वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दै जानु, देशभित्र रोजगारीको अभाव रहनु र उत्पादन क्षेत्रमा गिरावट आउनु जस्ता समस्याले जनताको जीवन झन् कठिन बनाएको उल्लेख गरे।

उनले भने,‘आज लाखौं युवा विदेश जान बाध्य छन् देशभित्र उत्पादन छैन, रोजगारी छैन, जसले गर्दा आर्थिक अवस्था झन् कमजोर बन्दै गएको छ ।’

उनले कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै विगतमा वामपन्थी शक्तिले उल्लेखनीय जनमत प्राप्त गरेको बताए । ‘२०४८, २०५१, २०६४ र २०७४ का चुनावहरूमा वामपन्थी शक्तिले उल्लेखनीय सफलता हासिल गरेको थियो । अहिले त्यो जनमत किन खस्कियो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक छ ।’

उनका अनुसार जनताको अपेक्षा पूरा गर्न नसक्नु नै यसको मुख्य कारण हो । खनालले पार्टी सरकारमा सहभागी हुँदा पनि जनताको जीवनमा प्रत्यक्ष सुधार ल्याउने काम गर्न नसकेको स्वीकार गरे । उनले भने,‘सरकारमा गयौं । सहि आर्थिक नीति अवलम्बन गर्न सकेनौं । पुँजीवादी आर्थिक नीति भयो । समाजवादी वा आर्थिक नीति कार्यक्रम व्यवहारमूखी चाहिएको हो । त्यसमा केही कमजोरीहरु भए । समाजवादी आर्थिक नीति कार्यक्रम लागु गरेर जानुपर्छ । यसमा केही कमजोरी भएका छन् ।’

खनालले अबको आवश्यकता समाजवादी आर्थिक नीति भएको बताए । उनले उत्पादन वृद्धि, वैज्ञानिक भूमिसुधार, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, उद्योग विकास, शिक्षा र स्वास्थ्यमा समान पहुँच जस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न र खानेपानी जस्ता आधारभूत सेवामा राज्यले सुनिश्चितता दिनुपर्ने धारणा व्यक्त गरे। उनले विद्यमान आर्थिक संकट, गरिबी, बेरोजगारी र सुशासनको अभावले जनआक्रोश बढाएको पनि उल्लेख गरे। उनले वर्तमान सरकारको नीति तथा कार्यक्रमप्रति पनि चासो व्यक्त गर्दै त्यसले जनताको समस्या समाधान गर्नेगरी ठोस कार्यक्रम ल्याउनुपर्ने बताए।

‘सरकारले कस्तो आर्थिक नीति ल्याउँछ, बजेट कस्तो आउँछ भन्ने कुरामा हामीले निगरानी राख्नेछौं । आवश्यक परे सुझाव दिने र खबरदारी गर्ने काम पनि गर्छौं,’ उनले भने ।

खनालका अनुसार पार्टीले अब जनतामुखी कार्यक्रम, आन्दोलन र संघर्षमार्फत आफ्नो उपस्थिति बलियो बनाउने योजना बनाएको छ । उनले पार्टीको दीर्घकालीन लक्ष्य समाजवादी व्यवस्था स्थापना गर्नु रहेको स्पष्ट पारे । खनालले पार्टीले विगतका कमजोरीबाट सिक्दै नयाँ ढंगले अघि बढ्ने विश्वास व्यक्त गर।

उनका अनुसार आगामी दिनमा स्पष्ट कार्ययोजना, सशक्त संगठन र जनतामुखी नीतिमार्फत नेपाली कम्युनिष्ट पार्टीले आफ्नो भूमिका अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *