सिन्धुलीको दुधौलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँचजना घाइते
रामेछाप। सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बोलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ च ८२०२ नम्बरको डबल क्याप बोलेरो घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटना दुधौली नगरपालिका-१ राँगेस्थित सडक खण्डमा भएको प्रहरीले जनाएको छ।
फिक्कल गाउँपालिका-१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट-रातमाटेतर्फ बेहुला लिएर जाँदै गरेको गाडी अचानक नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए। दुर्घटनामा बेहुला भने सकुशल रहेको बताइएको छ।
दुर्घटनामा घाइते भएका योगबहादुर खत्रीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रारम्भिक उपचारपछि उनीलाई थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ।
अन्य घाइते लालबहादुर विक, साने विक, श्याम विकलगायत चार जनाको स्थानीय सिर्थौली अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका घाइतेलाई स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पुर्याएका थिए।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुमानमा तीव्र गति मोडका कारण सवारी अनियन्त्रित भएको हुन सक्ने बताइएको छ।







डिसी नेपाल







Facebook Comment