सर्वोच्चको फैसला विप्लवको पक्षमा, प्रहरीलाई प्रकाण्ड छोड्न आदेश

डिसी नेपाल
७ भदौ २०७५ १३:०६

काठमाडौं । सर्वोच्च अदालतले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेताहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको छ।

न्यायाधीशद्धय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई बन्दी प्रत्यक्षीकरणको निवेदनमा फैसला गर्दै रिहा गर्न आदेश दिएको हो।

काभ्रे सदरमुकामस्थित क्रसरमा आगजनी गरेको अभियोगमा धुलिखेल प्रहरीले उनलाई हिरासतमा राखेको थियो। भदौ १ गते सर्वोच्च अदालत परिसरबाट दोस्रो पटक उनलाई गिरफ्तार गरिएको थियो।

प्रकाण्डलाई गैरकानूनी रुपमा राज्यले गिरफ्तार गरेको र गैरन्यायिक तरिकाले थुनामा राखिएको भन्दै विरेन्द्र विकले रिहाइको मागसहित आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गराएका थिए।

साउन २२ गते काठमाडौंको चोभारबाट सीआइबीको टोलीले उनलाई गिरफ्तार गरेको थियो। लगत्तै प्रकाण्डका छोरा नरेन्द्रबहादुर विकले सर्वोच्चमा निवेदन दर्ता गरेपछि उनलाई रिहा गर्न आदेश भएको थियो। त्यसैगरी सर्वोच्चले नेकपाका कार्यकर्ता दोलखाका लोकेन्द्र दर्नाल ‘प्रमेश’ र राजनप्रसाद लम्साललाई पनि रिहा गर्न आदेश दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *