विभेदकारी सडक विस्तार भएको भन्दै वीरगन्जमा प्रदर्शन

डिसी नेपाल
२४ वैशाख २०८३ १५:२४

वीरगन्ज। वीरगन्जमा भइरहेको सडक विस्तारको विरोधमा विहीबार स्थानीयले प्रदर्शन गरेका छन्। सहरको मध्यभाग भएर गएको त्रिभुवन राजपथमा भइरहेको २५–२५ मिटर सडक विस्तारको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन्।

वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा संघर्ष समितिको संयुक्त आयोजनामा स्थानीयले वीरगन्जको घण्टाघरदेखि आदर्शनगर चोकसम्म बिहान ९ बजेदेखि १०ः३० बजेसम्म मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी वीरगन्ज महानगरपालिकाका प्रथम नगरप्रमुख (मेयर) बिजय कुमार सरावगीले सडक विस्तारमा वीरगन्जवासीमाथि विभेद गरिएको आरोप लगाए।

उनले त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौंडामा २५ गज सडक विस्तार गरिएको भए पनि वीरगन्जमा २५ मिटर विस्तार गरेर सरकारले स्थानीयमाथि अन्याय गरेको बताए।
सडक विस्तार कुन र कहिलेको नक्साका आधारमा गरिएको हो भन्ने विषय स्पष्ट नगरी प्रशासनले आफूखुसी रेखांकन गरिरहेको सरावगीले आरोप लगाए।

उनले त्रिभुवन राजपथको नक्साका आधारमा २५ गज सडक विस्तार हुनुपर्नेमा वीरगन्जवासीमाथि अन्याय गर्दै हचुवाका भरमा सडक विस्तार भइरहेको बताए।

विरोध प्रदर्शनमा सहभागी वीरगन्ज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताले वीरगन्जको घण्टाघर चोकदेखि माइस्थानसम्मको क्षेत्रमा गरिएको सडक रेखांकन अस्पष्ट र विभेदकारी रहेको आरोप लगाए। उनले कुन नक्सा र सडकको मध्यभागलाई आधार मानिएको हो भन्ने स्पष्ट नगरी घर भत्काउने काम भइरहेको दाबी गरे।

प्रदर्शनमा स्थानीय वृद्धदेखि बालबालिका, युवा तथा महिलाको उल्लेख्य सहभागिता रहेको थियो। वीरगन्जमा भइरहेको सडक विस्तारका कारण ७ सयभन्दा बढी व्यक्ति घरवारविहीन हुने अवस्था रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *