भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीहरूलाई मृत्युदण्ड

डिसी नेपाल
२५ वैशाख २०८३ १०:१५

काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचार र घूसखोरीको अभियोगमा दुई पूर्व रक्षामन्त्रीहरू ली साङ्फु र वेई फेङ्गेलाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दुवै पूर्व मन्त्रीहरूलाई ‘दुई वर्षको निलम्बनसहितको मृत्युदण्ड’ दिइएको हो।

अदालतको यो फैसलाले चिनियाँ सैन्य संयन्त्रभित्र ठूलो हलचल पैदा गरेको छ। सजायको प्रकृति अनुसार, यदि दुई वर्षको अवधिमा उनीहरूले कुनै नयाँ अपराध गरेनन् र सकारात्मक सुधार देखाए भने उक्त मृत्युदण्डलाई आजीवन कारावासमा परिणत गरिनेछ।

यद्यपि, यस्तो अवस्थामा पनि उनीहरूले कहिल्यै जेल सजाय कम गराउन वा पेरोलमा रिहा हुन पाउने छैनन्। उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति समेत राज्यले जफत गर्ने निर्णय गरेको छ।

मृत्युदणड पाउने एक मन्त्री वेई फेङ्गेले सन् २०१८ देखि २०२३ सम्म चीनको रक्षामन्त्रीको रूपमा कार्यभार सम्हालेका थिए। उनीमाथि पदको दुरुपयोग गरी ठूलो रकम र बहुमूल्य उपहार घूस लिएको र कर्मचारी नियुक्तिमा अनुचित फाइदा पुर्‍याएको आरोप लागेको थियो।

अर्का मन्त्री ली साङ्फु वेईपछि सन् २०२३ मार्चमा रक्षामन्त्री बनेका थिए । लीको कार्यकाल छोटो रह्यो। अक्टोबर २०२३ मा उनलाई पदमुक्त गरिनुअघि उनी दुई महिनासम्म सार्वजनिक रूपमा देखा परेका थिएनन्। उनीमाथि ठूलो परिमाणमा रकम घूस लिएको र अरूलाई पनि घूस दिएको गम्भीर आरोप पुष्टि भएको छ।

राष्ट्रपति सी जिनपिङले सत्ता सम्हालेदेखि नै चिनियाँ कम्युनिष्ट पार्टी र सेनाभित्र व्यापक भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका छन्। यो फैसलालाई सोही अभियानको एक हिस्साको रूपमा हेरिएको छ। केही महिना अगाडि राष्ट्रपति सीले सेना भ्रष्टाचार विरुद्धको लडाइँमा “क्रान्तिकारी तवरले खारिएको” टिप्पणी गरेका थिए।

अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार, रक्षा क्षेत्रका यति उच्च पदस्थ अधिकारीहरूलाई यस्तो कठोर सजाय दिनुले राष्ट्रपति सीले सेनामा आफ्नो पकड अझ बलियो बनाउन चाहेको संकेत गर्दछ। कतिपय आलोचकहरूले भने यस अभियानलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउने रणनीतिका रूपमा पनि टिप्पणी गर्ने गरेका छन्।

यो कारबाहीले चिनियाँ जनमुक्ति सेनाभित्र आर्थिक अनुशासन कायम राख्न कडा सन्देश दिएको मानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *